5
 1 मोशाले सारा इस्राएलीलाई बोलाएर भने, “हे इस्राएल हो, आज मैले तिमीहरूलाई दिने विधिविधानहरू सुन ताकि तिनलाई जानेर तिमीहरू आज्ञाकारी बन्न सक ।   2 परमप्रभु हाम्रा परमेश्वरले होरेबमा हामीसित करार बाँध्नुभयो ।   3 परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्नुभएन, आज हामी बाँचेकाहरू सबैसित बाँध्नुभयो ।   4 पर्वतमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित आमनेसामने बोल्नुभयो ।   5 त्यस बेला उहाँको वचन प्रकट गर्न म परमप्रभु र तिमीहरूका बिचमा उभिएँ किनकि आगोको कारणले गर्दा तिमीहरू डराएका थियौ, र तिमीहरू पर्वतमा उक्लेर गएनौ) । परमप्रभुले भन्नुभयो,   6 'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।   7 तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्नू ।   8 आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।   9 तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु ।   10 तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्वसनीयता देखाउने छु ।   11 परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्ने छैनँ ।   12 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएमुताबिक शबाथ-दिन पवित्र राख्न याद राख्नू ।   13 तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र तिमीहरूका सबै काम गर्नुपर्छ ।   14 तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस् । तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून् ।   15 तिमीहरू मिश्र देशमा कमारा थियौ, र परमप्रभु तिमीहरूका परमेश्वरले शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई त्यहाँबाट ल्याउनुभयो भनी याद राख्नू । त्यसकारण, शबाथ-दिन मान्न परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ ।   16 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस् ।   17 हत्या नगर्नू ।   18 व्यभिचार नगर्नू ।   19 चोरी नगर्नू ।   20 आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।   21 आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।'   22 परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्नुभयो । उहाँले अरु कुनै पनि वचन थप्नुभएन । उहाँले दुईवटा शिला-पाटीमा ती लेख्नुभयो र मलाई दिनुभयो ।   23 पर्वत जलिरहँदा अन्धकारको बिचबाट तिमीहरूले आवाज सुन्दा तिमीहरूका सबै धर्म-गुरु र तिमीहरूका कुलहरूका नायकहरू मकहाँ आयौ ।   24 तिमीहरूले भन्यौ, 'हेर, परमप्रभु हाम्रा परमेश्वरले हामीलाई उहाँको महिमा र उहाँको महान्ता देखाउनुभएको छ, र आगोको बिचबाट हामीले उहाँको आवाज सुनेका छौँ । परमेश्वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ ।   25 तर हामी किन मर्ने ? किनकि यो महाअग्निले हामीलाई भस्म पार्ने छ । हामीले परमप्रभु हाम्रा परमेश्वरको आवाज अझै सुन्यौँ भने हामी मर्ने छौँ ।   26 किनकि आगोको बिचबाट जीवित परमेश्वरको वचन सुनेर पनि हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला ?   27 जानुहोस् र परमप्रभु हाम्रा परमेश्वरले भन्नुहुने हरेक कुरो सुन्नुहोस् । परमप्रभु हाम्रा परमेश्वरले तपाईंलाई भन्नुहुने हरेक कुरो हामीलाई दोहोर्याउनुहोस् । हामी यसलाई सुन्ने छौँ र पालन गर्ने छौँ ।'   28 तिमीहरू मसित बोल्दा परमप्रभुले तिमीहरूका वचन सुन्नुभयो । उहाँले मलाई भन्नुभयो, 'यी मानिसहरूले तँलाई भनेका वचनहरू मैले सुनेको छु । तिनीहरूले भनेका कुरा असल थिए ।   29 मेरो आदर गर्ने र सधैँ मेरा सबै आज्ञा मान्ने हृदय तिनीहरूमा भइदिए त तिनीहरू र तिनीहरूका छोराछोरीहरूको सदासर्वदा भलो हुनेथियो ।   30 गएर तिनीहरूलाई भन्, 'तिमीहरूका पालहरूमा फर्क ।'   31 तर तँचाहिँ मेरो नजिक खडा हो, र म तँलाई सबै आज्ञा र विधिविधान दिने छु जुन तैँले तिनीहरूलाई सिकाउने छस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून् ।'   32 त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएका आज्ञाहरू पालन गर ।   33 तिमीहरू दायाँ र बायाँ नलाग । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस् ।