16
 1 आबीब महिनाको सम्झना राखेर परमप्रभु तिमीहरूका परमेश्वरको सामु निस्तार-चाड मान्नू किनकि आबीब महिनामा नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई रातमा मिश्रबाट ल्याउनुभयो ।   2 परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा गाईवस्तु र भेडा-बाख्राबाट उहाँको सामु निस्तार-चाडको बलि चढाउनू ।   3 योसँगै खमिर हालेको रोटी नखानू । सात दिनसम्म अखमिरी रोटी अर्थात् कष्टको रोटी खानू । किनकि तिमीहरू हतारमा मिश्र देशबाट निस्केर आयौ । तिमीहरू मिश्र देशबाट निस्केर आएको दिनलाई याद राख्न तिमीहरूका जीवनभरि यसको पालन गर्नू ।   4 सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र कुनै पनि खमिर देखिनुहुँदैन । पहिलो दिनको साँझमा तिमीहरूले चढाउने बलिको कुनै पनि मासु भोलि बिहानसम्म रहनुहुँदैन ।   5 परमप्रभु तिमीहरूका परमेश्वरले दिनुहुने जुनसुकै सहरमा तिमीहरूले निस्तार-चाडको बलि नचढाउनू ।   6 बरु, परमप्रभु तिमीहरूका परमेश्वरले आफ्नो पवित्र स्थानको रूपमा छान्नुहुने ठाउँमा त्यो चढाउनू । तिमीहरू मिश्रबाट निस्केर आएको वर्षको समय पारेर सूर्योदयको बेला साँझमा निस्तार-चाडको बलि चढाउनू ।   7 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा त्यसलाई पोलेर खानू । तिमीहरू बिहान फर्केर आ-आफ्ना पालमा जानू ।   8 छ दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू । सातौँ दिनमा परमप्रभु तिमीहरूका परमेश्वरको सामु पवित्र सभा हुने छ । त्यस दिन तिमीहरूले कुनै काम नगर्नू ।   9 तिमीहरूले आफ्ना लागि सात दिन गन्नू । पाकेको बाली काट्न सुरु गर्ने समयदेखि तिमीहरूले सात दिन गन्नू ।   10 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्मुताबिक तिमीहरूले दिने स्वैच्छिक बलिको योगदानसहित परमप्रभु तिमीहरूका परमेश्वरका लागि साताहरूको चाड मान्नू ।   11 परमप्रभु तिमीहरूका परमेश्वरले पवित्र वासस्थानको रूपमा छान्नुहुने ठाउँमा तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, सहरभित्र भएको लेवी र परदेशीसाथै तिमीहरूका बिचमा भएका अनाथ र विधवाले परमप्रभु तिमीहरूका परमेश्वरको सामु आनन्द मनाओ ।   12 तिमीहरू मिश्रमा कमारा थियो भनी तिमीहरूले याद गर्नू । तिमीहरूले यी विधिहरू मान्नू र पालन गर्नू ।   13 तिमीहरूका खला र दाखको कोलबाट सबै फसल जम्मा गरिसकेपछि तिमीहरूले सात दिनसम्म छाप्रो-वासको चाड मान्नू ।   14 तिमीहरू, तिमीहरूका छोराछोरी, तिमीहरूका कमारा-कमारी, लेवी र परदेशीसाथै तिमीहरूका सहरभित्र भएका अनाथ र विधवाले चाड अवधिमा आनन्द मनाओ ।   15 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा उहाँको लागि सात दिनसम्म यो चाड मान्नू किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै फसल र तिमीहरूका हातका सबै काममा आशिष् दिनुहुने छ र तिमीहरू पूर्ण रूपमा आनन्दित हुने छौ ।   16 परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा वर्षको तिन पटक तिमीहरूका सबै पुरुष उहाँको सामु खडा होओः अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-वासको चाडमा । परमप्रभुको सामु कोही पनि रित्तो हात नजानू ।   17 बरु, आफूले सकेजति हरेकले दिनू ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको आशिष्लाई तिमीहरूले जान्न सक ।   18 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् ।   19 तिमीहरूले जबरजस्ती न्याय हरण नगर । पक्षपात नगर न त घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ ।   20 न्यायको मात्र पछि लाग ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूले दिनुहुने देशलाई अधिकार गरी त्यहाँ तिमीहरू बस्न सक्ने छौ ।   21 तिमीहरूले आफ्ना लागि परमप्रभु तिमीहरूका परमेश्वरको वेदीको छेउमा अशेरा देवीको निम्ति कुनै पनि खम्बा खडा नगर्नू ।   22 तिमीहरूले आफ्ना लागि कुनै चोखा ढुङ्गा खडा नगर्नू जसलाई परमप्रभु तिमीहरूका परमेश्वरले घृणा गर्नुहुन्छ ।