18
 1 पुजारीहरू अर्थात् लेवीहरू र सबै लेवी कुलको इस्राएलीहरूसित कुनै हिस्सा वा अंश हुने छैन । तिनीहरूले आफ्नो अंशको रूपमा आगोद्वारा चढाइएका परमप्रभुका बलिहरू खाऊन् ।   2 आफ्ना दाजुभाइहरूका बिचमा तिनीहरूको कुनै अंश नहोस् । तिनीहरूलाई प्रतिज्ञा गरिएअनुसार परमप्रभु नै तिनीहरूका अंश हुनुहुन्छ ।   3 गोरु वा भेडा बलिदान गर्ने मानिसहरूबाट पुजारीहरूले पाउने भाग यही होः कुम, दुईवटा गाला र आन्द्रा-भुँडी ।   4 तिमीहरूको अन्न, नयाँ मद्य, तेलको पहिलो फलसाथै तिमीहरूको भेडाको पहिलो ऊन तिमीहरूले पुजारीलाई दिनू ।   5 किनकि परमप्रभु तिमीहरूका परमेश्वरले परमप्रभुको नाउँमा सेवा गर्न त्यो र त्यसका छोराहरूलाई सदाको लागि चुन्नुभएको छ ।   6 इस्राएलको कुनै पनि सहरमा बसेको कुनै एउटा लेवीले आफ्नो सारा हृदयले इच्छा गरेर परमप्रभुले छान्नुहुने ठाउँमा आयो भने   7 परमप्रभुको सामु खडा हुने त्यसका सबै लेवी दाजुभाइले जस्तै गरी त्यसले परमप्रभु त्यसका परमेश्वरको नाउँमा सेवा गरोस् ।   8 त्यसको आफ्नो परिवारको सम्पतिको बिक्रीबाट आएको अतिरिक्त त्यसले पनि खानको लागि समान हिस्सा पाउनुपर्छ ।   9 जब तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा आउँछौ तब तिमीहरूले ती जातिहरूका घृणित कुराहरूको देखासिकी गर्न नसिक्नू ।   10 तिमीहरूका बिचमा आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, वा गिलासमा भएको चिन्हहरू पढ्ने वा टुनामुना गर्ने,   11 मोहनी लगाउने, आत्मासित सल्लाह लिने वा भाग्य बताउने वा मरेकाहरूका आत्मासित कुरा गर्ने कोही पनि नपाइयोस् ।   12 किनकि जसले यी कुराहरू गर्छ, त्यो परमप्रभुको दृष्टिमा घृणित हुन्छ । यी घृणित कामहरूको कारणले गर्दा नै परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूकै सामु तिनीहरूलाई धपाउँदै हुनुहुन्छ ।   13 तिमीहरू परमप्रभु तिमीहरूका परमेश्वरको सामु निष्खोट हुनुपर्छ ।   14 किनकि तिमीहरूले हराउने जातिहरूले जादुगरी, शकून-अपशकूनको अभ्यास गर्नेहरूको कुरा सुन्छन् । तर परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यसो गर्न अनुमति दिनुभएको छैन ।   15 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका बिचबाट तिमीहरूका दाजुभाइबाट मजस्तै एक जना अगमवक्ता खड गर्नुहुने छ । तिनको कुरा सुन्नू ।   16 होरेबमा सभाको दिनमा तिमीहरूले यसो भन्दै परमप्रभु तिमीहरूका परमेश्वरलाई बिन्ती चढायौ, 'हामीले फेरि परमप्रभु हाम्रा परमेश्वरको आवाज सुन्न नपरोस् न त उहाँको यो डरलाग्दो आगो देख्न परोस् नत्रता हामी मर्ने छौँ ।'   17 परमप्रभुले मलाई भन्नुभयो, 'तिनीहरूले भनेका कुरा ठिक छ ।   18 म तिनीहरूकै दाजुभाइहरूका बिचबाट तँजस्तै एक जना अगमवक्ता खडा गर्ने छु । म त्यसको मुखमा मेरा वचन हालिदिने छु र त्यसले मैले तँलाई आज्ञा गरेका सबै वचन बोल्ने छ ।   19 त्यसले मेरो नाउँमा बोल्ने मेरा वचन नसुन्ने कोही पनि मारिने छ ।   20 तर मेरो नाउँमा अहङ्कारी भएर मैले आज्ञा नगरेको वचन बोल्ने वा अन्य देवताहरूको नाउँमा बोल्ने अगमवक्ता मारिनैपर्छ ।'   21 तिमीहरूले आ-आफ्ना हृदयमा सोधौला, 'परमप्रभुले बोल्नुभएको वचन होइन भनेर हामीले कसरी थाहा पाउने ?'   22 परमप्रभुको नाउँमा बोल्ने अगमवक्ताले बोल्दा तिमीहरूले परमप्रभुको सन्देश थाहा पाउने छौ ।