8
बुद्धिमान् मानिस को हो ? जीवनमा आइपर्ने घटनाहरूको अर्थ के हो भनी कसलाई थाहा हुन्छ र ? मानिसमा भएको बुद्धिले उसको मुहार चम्काउँछ, र उसको मुहारको कठोरता बद्लिन्छ । राजाको रक्षा गर्ने परमेश्‍वरको शपथको कारण तिनको आज्ञा मान्‍न म तँलाई सल्लाह दिन्छु । तिनको उपस्थितिबाट बाहिरिन हतार नगर्, र कुनै पनि गलत कुराको समर्थनमा खडा नहोओ, किनकि राजाले इच्छा गरेअनुसार काम गर्छन् । राजाको वचनले शासन गर्छ । त्यसले कसले तिनलाई यसो भन्‍न सक्छ, “तपाईं के गर्दै हुनुहुन्छ ?” राजाको आज्ञा पालन गर्नेले नोक्सानी हटाउँछ । बुद्धिमान् मानिसको हृदयले समयको उचित मार्ग र तरिका जान्दछ । हरेक विषयको लागि ठिक प्रतिक्रिया र प्रतिक्रिया दिने समय छ, किनकि मानिसका कष्‍टहरू धेरै छन् । पछि के हुँदै छ भनी कसैलाई थाहा छैन । के हुँदै छ भनी त्यसलाई कसले बताउन सक्छ र ? सास नै रोक्‍न सक्‍ने गरी कोही पनि आफ्नो सासको शासक हुँदैन, र त्यसको मृत्यको दिनमाथि कसैको शक्ति हुँदैन । युद्धको समयमा कुनै सेनालाई पनि बिदा दिइँदैन, र दुष्‍टताले यसका दासहरूलाई छुटकारा दिने छैन । मैले यी सबै बुझेको छु । सूर्यमूनि गरिने हरेक कामको लागि मैले मेरो मेरो मन लगाएको छु । एउटा मानिसले अर्को मानिसलाई चोट लगाउने गरी थिचोमिचो गर्ने समय पनि छ । 10 यसरी दुष्‍टहरूलाई सार्वजनिक रूपमा गाडिएको मैले देखेँ । तिनीहरूलाई पवित्र स्थानबाट लगियो र गाडियो, अनि तिनीहरूले दुष्‍ट कामहरू गरेकै सहरका मानिसहरूले तिनीहरूको प्रशंसा गरे । यो पनि अर्थहीन छ । 11 दुष्‍ट अपराधको विरुद्धमा जारी गरिएको मृत्युदण्डलाई झट्टै कार्यान्यन नगरिँदा यसले मानिसको हृदयलाई खराब काम गर्न उस्काउँछ । 12 पापीले एक सय पटक खराबी गरी त्यो धेरै वर्षसम्म बाँचे तापनि परमेश्‍वरको आदर गर्ने, उहाँको सामु खडा हुने र उहाँलाई आदर दिनेहरूलाई असलै हुने छ भनी मलाई थाहा छ । 13 तर दुष्‍ट मानिसको लागि राम्रो हुने छैन । त्यसको आयु लामो हुने छैन । त्यसले परमेश्‍वरलाई आदर नगर्ने भएकोले त्यसका दिनहरू एकै क्षण देखा पर्ने छायाजस्तै हुन्छन् । 14 पृथ्वीमा गरिने अर्को व्यर्थ कुरा पनि छ । दुष्‍ट मानिसहरूलाई झैँ धर्मी मानिसहरूलाई भएको र धर्मी मानिसहरूलाई झैँ दुष्‍ट मानिसहरूलाई भएको देखिन्छ । म भन्दछु, कि यो पनि बेकामको कुरो हो । 15 त्यसैले म प्रसन्‍नताको सिफारि गर्दछु, किनकि मानिसको लागि सूर्यमूनि खानु, पिउनु र खुसी हुनुभन्दा उत्तम कुरो छैन । सूर्यमूनि परमेश्‍वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभिर त्यसको परिश्रममा खुसी नै सँगसँगै जाने छ । 16 बुद्धिलाई जान्‍न र दिन वा रातमा नसुतिकन अक्सर गरिने कामलाई बुझ्न मैले मेरो मन लगाउँदा, 17 मैले परमेश्‍वरका सबै कामलाई सोच विचार गरेँ, र सूर्यमूनि गरिएको कामलाई मानिसले बुझ्न नसक्‍ने रहेछ । जवाफहरू पाउनलाई मानिसले जतिसुकै परिश्रम गरे तापनि उसले ती पाउने छैन । आफूलाई थाहा छ भनी बुद्धिमान् मानिसले सोचे तापनि वास्तवमा उसलाई पनि थाहा छैन ।