10
जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसै गरी थोरै मूर्खताले बुद्धि र सम्मानलाई दबाइदिन सक्छ । बुद्धिमान् मानिसको मन ठिक कुरातिर लाग्छ, तर मूर्खको मन बेठिक कुरातिर लाग्छ । मूर्ख सडकमा हिँड्दा त्यसको सोचाइ अपूर्ण हुन्छ जसले त्यो मूर्ख हो भनी हरेकलाई प्रमाणित गर्छ । तेरो विरुद्धमा शासकको रिस उठ्यो भने तेरो काम नछाड् । चुपचाप बसाइले ठुलो झोँकलाई पनि शान्त पार्न सक्छ । सूर्यमूनि मैले एउटा खराबी देखेको छु, जुन शासकबाट आउने एक किसिमको त्रास होः मूर्खहरूलाई नेतृत्वका पदहरू दिइन्छ, जब कि सफल मानिसहरूलाई तल्लो स्तरका पदहरू दिइन्छ । मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरूजस्तै गरी हिँडेको देखेको छु । खाडल खन्‍ने कोही पनि त्यसभित्र खस्‍न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्‍न सक्छ । ढुङ्गा काट्नेलाई ढुङ्गाले नै चोट पुर्‍याउन सक्छ, र दाउरा काट्ने दाउराद्वारा नै खतरामा पर्छ । 10 बन्चरो बोधो छ र मानिसले त्यसलाई उध्याउँदैन भने त्यसले बढी शक्तिको प्रयोग गर्नुपर्छ, तर बुद्धिले सफलताको लागि मौका उपलब्ध गराउँछ । 11 लट्ठ्याइनअगि नै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन । 12 बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्‍ट पार्छ । 13 जसरी मूर्खको मुखबाट वचनहरू प्रवाह हुन थाल्छन्, त्यसै गरी मूर्खता बाहिर आउँछ, र अन्त्यमा त्यसको मुखबाट दुष्‍ट पागलपना बाहिर निस्कन्छ । 14 मूर्खले कुराहरू बढाउँछ, तर के हुने छ भनी कसैलाई थाहा हुँदैन । त्यसको पछि के हुने छ भनी कसैले जान्दैन । 15 मूर्खहरूको परिश्रमले तिनीहरूलाई यसरी थकाउँछ, कि तिनीहरूलाई सहर जाने बाटोसमेत थाहा हुँदैन । 16 त्यो देशलाई धिक्‍कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्यसका अगुवाहरूले बिहानैदेखि उपवास बस्‍न थाल्छन्! 17 तर त्यो देश धन्यको हो, जसको राजा कुलीहरूको छोरो हो, र त्यसका अगुवाहरूले मात्‍नको लागि नभई शक्तिको लागि ठिक समयमा खान्छन्! 18 अल्छेपनको कारण छाना भत्कन्छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्छ । 19 मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पुरा गर्छ । 20 राजालाई नसराप्; तेरो मनमा पनि नसराप्, र तेरो सुत्‍ने कोठाभित्र धनी मानिसहरूलाइ नसराप् । किनकि आकाशका चराचुरुङ्गीहरूले तेरा वचनहरू लिएर जालान् । पखेटा भएकाहरूले तेरो विषयलाई फैलाउन सक्छन् ।