6
छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका आमाबुबाको आज्ञा पालन गर, किनकि यो उचित छ । “आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), । “ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्‍न सक ।” र बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ । बरु, अनुशासनमा र प्रभुको शिक्षा अनुसार अगि बढाओ । दासहरू हो, संसारका मालिकहरूसँग गहिरो आदर र डरका साथ तिमीहरूका हृदयको इमान्दारितामा आज्ञाकारी बन । ख्रीष्‍टसँग आज्ञाकारी भए झैँ तिनीहरूसँग आज्ञाकारी बन । आफ्ना मालिकले देख्‍ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्‍टका दासहरू झैँ आज्ञाकारी बन । तिमीहरूका हृदयबाट परमेश्‍वरको इच्छालाई पूरा गर । मानिसहरूलाई सेवा पुर्याए झैँ होइन तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरे झैँ सेवा गर । तिमीहरूले यो जान, कि मानिसले गर्ने सबै असल कामको निम्ति उसले परमप्रभुबाट इनाम पाउनेछ, चाहे त्यो मानिस दास होस् वा मुक्त होस् । र मालिकहरू हो, आफ्ना दासहरूका निम्ति त्यस्तै व्यवहार गर । तिनीहरूलाई धम्की नदेओ । यो जान कि तिमीहरू दुवैको मालिक स्वर्गमा हुनुहुन्छ । उहाँमा कुनै भेदभाव छैन भन्‍ने कुरा जान । 10 अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्‍यको शक्तिमा बलियो होओ । 11 परमेश्‍वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक । 12 किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्‍टात्माहरूको विरूद्धमा हो । 13 यसकारण परमेश्‍वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्‍ट समयमा दुष्‍टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ । 14 यसकारण स्थिर भइ खडा होओ । सत्यताको कम्‍मरपेटी कसेर धार्मिकताको छातिपाता लगाए पछि यस्तो गर । 15 आफ्ना खुट्टाहरूमा शान्तिको सुसमाचार प्रचारको लागि तत्परता धारण गरेपछि यस्तो गर । 16 सबै परिस्थितिहरूमा विश्‍वासको ढाल बोक, जसद्वारा तिमीहरूले दुष्‍टका सबै अग्‍निवाणहरू निभाउन सक्‍नेछौ । 17 र मुक्तिको टोप लगाऊ र आत्माको तरवार बोक, जुन परमेश्‍वरको वचन हो । 18 सबै प्रार्थना र बिन्तीद्वारा, हरसमय पवित्र आत्मामा प्रार्थना गर । विश्‍वासीहरू सबैका लागि प्रार्थना र निरन्तर प्रयत्‍नसाथ यही मन सँगै सतर्क भइराख । 19 र मेरो निम्ति प्रार्थना गर, ताकि मैले आफ्नो मुख खोल्दा, मलाई सन्देश दिइयोस् । सुसमाचारको गुप्‍त सत्यतालाई मैले दृढतापूर्वक अरूलाई बताउन सकूँ भनेर प्रार्थना गरिदेऊ । 20 सुसमाचारको निम्ति साङ्ग्लाले बाँधिएको म एक राजदूत हुँ, र मैले बोल्नुपर्ने समयमा म आँटिलो भएर यस विषयमा बोल्न सकूँ । 21 तर तिमीहरूलाई पनि मेरो अवस्थाको बारेमा र मलाई कस्तो छ भनी थाहा होस् भन्‍नको निम्ति, प्रभुमा प्रिय भाइ र विश्‍वासीलो चेला तुखिकसले तिमीहरूलाई सबैकुरा बुझाउनेछन् । 22 मैले उनलाई तिमीहरूकहाँ यही उद्धेश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्‍न सक र उनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् । 23 परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट भाइहरूलाई विश्‍वास सहितको प्रेम र शान्ति होस् । 24 कहिल्यै अन्त नहुने प्रेमद्वारा हाम्रा प्रभु येशू ख्रीष्‍टलाई प्रेम गर्नेहरू सबैमाथि अनुग्रह रहोस् ।