6
 1 तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।”   2 परमेश्वर मोशासित बोल्नुभयो र भन्नुभयो, “म परमप्रभु हुँ ।   3 म सर्वशक्तिमान् परमेश्वरको रूपमा अब्राहाम, इसहाक र याकूबकहाँ देखा परेँ । तर मेरो नाउँ परमप्रभुको रूपमा म तिनीहरूकहाँ चिनाएको थिइनँ ।   4 तिनीहरूलाई कनान देश दिनलाई मैले तिनीहरूसित मेरो करार पनि बाँधेँ । यो त्यही देश हो जहाँ तिनीहरू प्रवासी भएर यताउता चाहारे ।   5 अनि मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको क्रन्दनलाई मैले सुनेको छु, र मैले मेरो करारको सम्झना गरेको छु ।   6 त्यसकारण, इस्राएलीहरूलाई यसो भन्, 'म परमप्रभु हुँ । म तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाली तिनीहरूको शक्तिबाट मुक्त गराउनेछु । मेरो शक्ति देखाएर र इन्साफका शक्तिशाली कामहरू गरेर म तिमीहरूलाई छुटकारा दिनेछु ।   7 म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ ।   8 मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु । म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु । म परमप्रभु हुँ' ।”   9 मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन् ।   10 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,   11 “इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।”   12 मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले त मेरो कुरा सुनेका छैनन् भने फारोले किन सुन्ने किनकि म बोल्नमा सिपालु छैनँ?”   13 परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।   14 तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।   15 शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्त्रीका छोरा शौल थिए ।   16 लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे ।   17 गेर्शोनका छोराहरू लिब्नी र शिमी थिए ।   18 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए । कहात १३३ वर्षसम्म बाँचे ।   19 मरारीका छोराहरू महली र मूशी थिए । लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए ।   20 अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे । उनले मोशा र हारूनलाई जन्माइन् । अम्राम १३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे ।   21 यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए ।   22 उज्जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए ।   23 हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे । तिनीबाट उनले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन् ।   24 कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए । कोरहका वंशहरू यी नै थिए ।   25 हारूनका छोरा एलाजारले पतुएलकी छोरीहरूमध्ये एक जनासित विवाह गरे । तिनीबाट उनले पीनहासलाई जन्माइन् । लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंशहरूअनुसार यी नै थिए ।   26 यी दुई तिनै हारून र मोशा थिए जसलाई परमप्रभुले भन्नुभयो, “इस्राएलीहरूका योद्धाहरूको दल-दलद्वारा तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउनू ।”   27 इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन अनुमति दिइयोस् भनी हारून र मोशाले मिश्रका राजा फारोलाई भने । यी तिनै मोशा र हारून थिए ।   28 परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा   29 उहाँले भन्नुभयो, “म परमप्रभु हुँ । मैले तँलाई भन्ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्नू ।”   30 तर मोशाले भने, “म बोल्नमा सिपालु नभएकोले फारोले किन मेरो कुरा सुन्लान् र?”