9
1 तब परमप्रभुले मोशालाई भन्नुभयो, “फारोकहाँ गएर भन्, 'हिब्रूहरूका परमप्रभु यसो भन्नुहुन्छः मेरो आराधना गर्नलाई मेरो मानिसहरूलाई जान दे । 2 तैँले तिनीहरूलाई जान दिन इन्कार गरिस् र तिनीहरूलाई अझै पनि रोकिस् भने 3 परमप्रभुको हात खेतहरू, घोडाहरू, गधाहरू, ऊँटहरू, गाईवस्तुहरू र भेडा-बाख्राहरूमाथि पर्नेछ र यसले डरलाग्दो रोग उत्पन्न गराउनेछ । 4 परमप्रभुले इस्राएलका गाईवस्तु र मिश्रका गाईवस्तु छुट्ट्याउनेहुनेछ र इस्राएलीहरूको कुनै पनि गाईवस्तु मर्नेछैन । 5 परमप्रभुले समय निधो गरिसक्नुभएको छ । उहाँले भन्नुभएको छ, “भोलि यस देशमा म यो काम गर्नेछु ।” 6 परमप्रभुले अर्को दिन त्यही गर्नुभयो । मिश्रका सबै गाईवस्तु मरे, तर इस्राएलीहरूका पशुहरू भने जीवितै रहे, एउटै पनि मरेन । 7 फारोले अनुसन्धान गर्दा इस्राएलीहरूका एउटै पनि पशु नमेरोको पाए । तर तिनको ह्रदय हठी भयो, त्यसैले तिनले मानिसहरूलाई जान दिएनन् । 8 तब परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “भट्टीबाट मुट्ठीभर खरानी लेओ । तँ मोशाले फारोले हेरिरहँदा त्यस खरानीलाई आकाशमा फ्याँक्नू । 9 ती मिश्र देशभरि मसिनो धुलो बन्नेछन् । तिनले मिश्र देशका सबै मानिस र पशुहरूमा फोका र खटिरा ल्याउनेछन् ।” 10 त्यसैले मोशा र हारूनले भट्टीबाट खरानी लिएर फारोको सामुन्ने खडा भए । त्यसपछि मोशाले खरानीलाई हावामा फ्याँके । खरानीले मानिस र पशुहरूमा फोका र खटिरा ल्याए । 11 फोकाको कारणले जादुगरहरूले मोशाको विरोध गर्न सकेनन् । किनकि फोका सबै मिश्रीमाथि आइपरेको थियो । 12 परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो । त्यसैले फारोले मोशा र हारूनको कुरा सुनेनन् । फारोले मोशाको कुरा सुन्नेथिएन भनी परमप्रभुले भन्नुभएझैँ भयो । 13 त्यसपछि परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्ने खडा हो र त्यसलाई भन्, 'हिब्रूहरूका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे । 14 किनकि यो पटक तँ, तेरा अधिकारीहरू र तेरा मानिसहरूमाथि म मेरा सबै विपत्ति ल्याउनेछु । सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तैँले जान् भनी म यसो गर्नेछु । 15 यति बेलासम्म त मैले मेरो हात पसारेर तँ र तेरा मानिसहरूलाई रोगले आक्रमण गरेको भए तँ यस धरतीबाट मटिनेथिइस् । 16 मेरो नाउँ सारा पृथ्वीभरि घोषणा हुन सकोस् भनेर मेरो शक्ति देखाउनलाई मैले तँलाई जीवित रहने अनुमति दिएँ । 17 मेरा मानिसहरूलाई जान नदिएर तैँले अझै पनि आफूलाई उचालिरहेको छस् । 18 सुन्! भोलि यसै बेलातिर म निकै शक्तिशाली असिना बर्साउनेछु जुन मिश्र सुरु भएदेखि आजको दिनसम्म बर्सिएको छैन । 19 अब मानिसहरू पठाएर तेरा खेतहरूमा भएका तेरा गाईवस्तु र हरेक जे-जति छन् तिनलाई सुरक्षित स्थानमा जम्मा गर् । खेतमा भएका र घरमा नल्याइएका हरेक मानिस र पशुमाथि असिना बर्सनेछ र तिनीहरू मर्नेछन् ।” 20 परमप्रभुको सन्देशमा विश्वास गर्ने फारोका अधिकारीहरूले दासदासीहरू र गाईवस्तुहरूलाई घरहरूमा हुल्न हतार गरे । 21 तर परमप्रभुको सन्देशलाई गम्भीरतापूर्वक नलिनेहरूले तिनीहरूका दासदासीहरू र गाईवस्तुहरूलाई खेतहरूमा छाडिदिए । 22 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशमाथि पसार् ताकि मिश्र देशमा असिना बर्सोस् । ती मिश्र देशभरिका मानिसहरू, पशुहरू खेतमा भएका सबै बोट-बिरुवामा बर्सून् ।” 23 मोशाले आफ्नो लट्ठी आकाशतिर पसारे र परमप्रभुले जमिनमा गर्जन, असिना र बिजुली पठाइदिनुभयो । उहाँले मिश्र देशमा असिना बर्साइदिनुभयो । बिजुलीसँगै असिना मिसिएर आएको थियो । 24 यो यति डरलाग्दो थियो कि मिश्र राज्य भएदेखि त्यस देशमा यस्तो कहिल्यै भएको थिएन । 25 मिश्र देशभरि असिनाले खेतमा भएका हरेक कुरासाथै मानिस र पशुहरू दुवैलाई प्रहार गर्यो । यसले खेतहरूमा भएको हरेक बोट-बिरुवालाई प्रहार गर्नुका साथै हरेक रुख भाँचिदियो । 26 इस्राएलीहरू बसेको गोशेन प्रदेशमा मात्र असिना परेको थिएन । 27 त्यसपछि फारोले मोशा र हारूनलाई बोलाउन मानिसहरू पठाए । तिनले तिनीहरूलाई भने, “यस पटक मैले पाप गरेको छु । परमप्रभु धर्मी हुनुहुन्छ अनि म र मेरा मानिसहरू दुष्ट छौँ । 28 परमप्रभुलाई बिन्ती चढाऊ किनकि शक्तिशाली गर्जन र असिना अति भएका छन् । म तिमीहरूलाई जान दिनेछु र अब उसो तिमीहरू यहाँ बस्नुपर्नेछैन ।” 29 मोशाले तिनलाई भने, “मैले सहर छाड्ने बित्तिकै म मेरो हात परमप्रभुतिर फैलाउनेछु । गर्जन रोकिनेछ र अब उसो असिना पर्नेछैन । यसरी पृथ्वी परमप्रभुको हो रहेछ भनी तपाईंले थाहा पाउनुहुनेछ । 30 तर तपाईं र तपाईंका अधिकारीहरूको सवालमा तपाईंहरूले वास्तवमा परमप्रभुलाई आदर गर्नुहुन्न भनी म जान्दछु ।” 31 अब सनपाट र जौ नष्ट भए किनकि जौमा बाला लागेको थियो र सनपाटचाहिँ फुलिसकेको थियो । 32 तर गहुँ र कठियागहुँलाई हानि भएन किनकि ती पछि पाक्छन् । 33 जब मोशाले फारो र सहरलाई छाडे तिनले आफ्ना हात परमप्रभुतिर फैलाए । गर्जन र असिना रोकिए अनि पानी पर्न छाड्यो । 34 वर्षा, असिना र गर्जन रोकिएको देखेपछि फारोले फेरि पाप गरे र तिनले आफ्नो ह्रदय कठोर पारे र तिनका अधिकारीहरूले पनि त्यसै गरे । 35 फारोको ह्रदय कठोर भयो । त्यसैले तिनले इस्राएलका मानिसहरूलाई जान दिएनन् । फारोले यसै गर्नेथिए भनी परमप्रभुले मोशालाई भन्नुभएको थियो ।