12
परमप्रभु मिश्र देशमा मोशा र हारूनसित बोल्नुभयो । उहाँले भन्‍नुभयो, “तिमीहरूका लागि यो महिनाहरूको सुरु हुनेछ । यो महिना तिमीहरूका लागि वर्षको पहिलो महिन हुनेछ । इस्राएलको समुदायलाई भन्, 'यो महिनाको दसौँ दिनमा हरेक परिवारले हरेक घरानाको लागि एउटा-एउटा पाठो ल्याउनुपर्छ । एउटा पाठोको लागि घराना ज्यादै सानो भएमा त्यो घराना र नजिकैको छिमेकी मिलेर एउटा थुमा वा पाठो ल्याउनुपर्छ जुन ती मानिसहरूको सङ्ख्याको लागि पर्याप्‍त हुनेछ । हरेकलाई खानको लागि यो पर्याप्‍त हुनेछ । त्यसैले सबैलाई खुवाउन तिनीहरूले पर्याप्‍त मासु तयार गर्नुपर्छ । तिमीहरूको थुमा वा पाठो खोटरहित हुनुपर्छ र यो एक वर्षको हुनुपर्छ । तिमीहरूले भेडा वा बाख्राहरूबाट त्यो लिनू । तिमीहरूले यसलाई त्यो महिनाको चौधौँ दिनसम्म राख्‍नुपर्छ । त्यसपछि इस्राएलको सारा समुदायले यी पशुहरूलाई साँझमा मार्नू । जुन-जुन घरमा त्यो मासु खाइन्छ, त्यहाँ तिमीहरूले केही रगत लिई घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लगाऊन् । त्यस रात तिमीहरूले आगोमा पोलेर त्यो मासु खानू । तितो सागसित खमिर नहालेको रोटीसितै तिमीहरूले त्यो खानू । काँचो वा पानीमा उमालेर नखाओ । बरु, यसको टाउको, यसका खुट्टा र भित्री भागहरूसमेत आगोमा पोलेर खाओ । 10 बिहानसम्ममा कुनै पनि भाग नउबार्नू । बिहानसम्म केही उब्रियो भने त्यसलाई जलाइदिनू । 11 पटुका कसेर, खुट्टामा जुत्ता लगाएर र हातमा लट्ठी बोकेर तिमीहरूले खानू । तिमीहरूले हतारसँग खानुपर्छ । यो परमप्रभुको निस्तार-चाड हो । 12 परमप्रभु भन्‍नुहुन्छः म त्यस रात मिश्र देश भएर जानेछु र मिश्र देशका मानिस र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई आक्रमण गर्नेछु । म मिश्रका सबै देवी-देवतालाई दण्ड दिनेछु । म परमप्रभु हुँ । 13 म तिमीहरूकहाँ आउँदा रगत तिमीहरूको घरमा चिन्ह हुनेछ । मैले रगत देखेपछि मैले मिश्र देशमा आक्रमण गर्दा तिमीहरूलाई छाडिदिनेछु । यो विपत्तिले तिमीहरूलाई नाश गर्नेछैन । 14 यो दिन तिमीहरूका लागि सम्झनाको दिन हुनेछ र यसलाई तिमीहरूले परमप्रभुको निम्ति चाडको रूपमा मान्‍नू । तिमीहरूको पुस्तौँसम्म रहिरहने विधिको रूपमा यसलाई तिमीहरूले सधैँ मान्‍नू । 15 सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । पहिलो दिनमा तिमीहरूले आ-आफ्ना घरहरूबाट खमिर हटाउनू । पहिलो दिनदेखि सातौँ दिनसम्म खमिर हालेको रोटी खाने मान्छे जोसुकैलाई पनि तिमीहरूले इस्राएलबाट बहिष्कार गर्नू । 16 पहिलो दिनमा मेरो लागि अलग गरिएको समुदाय भेला होस् र सातौँ दिनमा पनि यस्तै भेला होस् । यी दिनमा कुनै पनि काम गरिनेछैन । तिमीहरूले केवल खानको लागि पकाउने काम गर्नू । तिमीहरूले गर्न सक्‍ने काम यही मात्र हुनेछ । 17 तिमीहरूले यो अखमिरी रोटीको चाड मान्‍नैपर्छ किनकि यही दिनमा नै मैले तिमीहरूका सशत्र मानिसहरूलाई दल-दल गरी मिश्र देशबाट ल्याएको हुनेछु । 18 तिमीहरूले यसलाई पुस्तौँसम्म मान्‍नू । यो तिमीहरूका निम्ति सधैँ एउटा विधि हुनेछ । वर्षको पहिलो महिनाको चौधौँ दिनको साँझदेखि त्यस महिनाको एक्‍काइसौँ दिनको साँझसम्म तिमीहरूले अखमिरी रोटी खानू । 19 यी सात दिनमा तिमीहरूका घरहरूमा कुनै खमिर पाइनुहुँदैन । खमिर हालेको रोटी खाने जोसुकै इस्राएलको समुदायबाट बहिष्कृत हुनेछ, चाहे त्यो व्यक्ति विदेशी होस् या तिमीहरूकै देशमा जन्मेको होस् । 20 खमिरबाट बनेको कुनै पनि थोक तिमीहरूले नखानू । तिमीहरू जहाँ बसे तापनि तिमीहरूले खमिर नहालेको रोटी मात्र खानू ।” 21 तब मोशाले इस्राएलका सबै धर्म-गुरुलाई बोलाउन पठाएर भने, “गएर आ-आफ्नो परिवारको लागि पर्याप्‍त हुने गरी थुमा वा पाठो छनौट गरेर त्यसलाई निस्तार-चाडको लागि मार । 22 त्यसपछि हिसपको झुप्पा लिई भाँडोभित्र भएको रगतमा चोप । ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा त्यसलाई छ्याप्‍नू । बिहान नभएसम्म कोही पनि आफ्नो घरको ढोकाबाहिर नजानू । 23 किनकि मिश्रीहरूलाई प्रहार गर्न परमप्रभु यो देश भएर जानुहुनेछ । जब उहाँले ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा रगत देख्‍नुहुनेछ तब उहाँले तिमीहरूको ढोकालाई छाडिदिनुहुनेछ र विनाश गर्नेलाई तिमीहरूलाई प्रहार गर्न तिमीहरूका घरहरूमा आउन अनुमति दिनुहुनेछैन । 24 तिमीहरूले यस घटनालाई मान्‍नुपर्छ । यो तिमीहरू र तिमीहरूका सन्तानको लागि सदाको निम्ति एउटा विधि हुनेछ । 25 परमप्रभुले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ उहाँले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्दा तिमीहरूले यो आराधनाको कामलाई मान्‍नू । 26 तिमीहरूका छोराछोरीहरूले 'यो आराधनाको कामको अर्थ के हो?' भनी सोध्दा 27 तिमीहरूले जवाफ दिनू, “यो परमप्रभुको निस्तार-चाडको बलिदान हो किनकि परमप्रभुले मिश्रमा मिश्रीहरूलाई प्रहार गर्नुहुँदा इस्राएलीहरूका घरलाई छाडिदिनुभएको थियो । उहाँले हाम्रा घरानाहरूलाई मुक्त गरिदिनुभयो' ।” त्यसपछि मानिसहरूले शिर निहुराई परमप्रभुको आराधना गरे । 28 इस्राएलीहरू गए र परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ तिनीहरूले गरे । 29 मध्यरातमा परमप्रभुले मिश्र देशमा सिंहासनमा बस्‍ने फारोको जेठो छोरोदेखि लिएर झ्यालखानामा बस्‍ने व्यक्तिको जेठो छोरोसम्म र गाईवस्तुका सबै पहिले जन्मेकाहरूलाई प्रहार गर्नुभयो । 30 फारो, तिनका सबै अधिकारी र सबै मिश्रीहरू रातमा उठे । मिश्रमा ठुलो रुवाबासी भएको थियो किनकि मान्छे नमेरको कुनै घर थिएन । 31 रातमा फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “उठ, तिमी र इस्राएलीहरू मेरा मानिसहरूका बिचबाट निस्केर जाओ । तिमीहरूले चाहेजस्तै गएर परमप्रभुको आराधना चढाओ । 32 तिमीहरूले भनेजस्तै तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू लिएर जाओ र मलाई पनि आशिष् देओ ।” 33 तिनीहरूलाई बाहिर पठाउन मिश्रीहरू निकै हतारमा थिए किनकि तिनीहरूले भने, “हामी सबै मर्नेछौँ ।” 34 त्यसैले मानिसहरूले खमिर नमिसाइएको मुछेको पिठोको डल्लो लिए । तिनीहरूका मुछ्ने आह्रीहरू पहिले तिनीहरूका लुगा र तिनीहरूका कुममा बाँधिएका थिए । 35 अब इस्राएलका मानिसहरूले मोशाले भनेझैँ गरे । तिनीहरूले मिश्रीहरूबाट चाँदी, सुनका वस्तुहरूसाथै लुगाहरू मागे । 36 परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूलाई खुसी तुल्याउन उत्सुक तुल्याइदिनुभएको थियो । त्यसैले इस्राएलीहरूले जे मागे तापनि मिश्रीहरूले दिए । यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे । 37 इस्राएलीहरूले रामसेसबाट सुक्‍कोतमा यात्रा गरे । स्‍त्री र केटाकेटीहरूबाहेक पैदल हिँड्ने तिनीहरूको सङ्ख्या करिब ६,००,००० थियो । 38 तिनीहरूका साथमा अन्य धेरै मानिस अनि गाईवस्तु र भेडा-बाख्रा पनि थिए । 39 तिनीहरूले मिश्रबाट ल्याएका पिठोको डल्लोबाट अखमिरी रोटी बनाए । यो खमिरविनाको थियो किनकि तिनीहरू मिश्रबाट धपाइएका थिए र खाना तयार गर्न तिनीहरूको लागि समय थिएन । 40 इस्राएलीहरू मिश्रमा ४३० वर्षसम्म बसेका थिए । 41 ४३० वर्षको अन्तिम दिनमा परमप्रभुका सबै सशस्‍त्र दलहरू मिश्र देशबाट बाहिरिए । 42 यो जागा रहनुपर्ने रात थियो किनकि परमप्रभुले तिनीहरूलाई मिश्र देशबाट रातमा बाहिर निकालेर ल्याउनुभएको थियो । यो इस्राएलीहरूको पुस्तौँसम्म तिनीहरूले पालन गर्नुपर्ने परमप्रभुको रात थियो । 43 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “निस्तार-चाडको नियम यस्तो छः यसमा कुनै पनि परदेशीले भाग नलिओस् । 44 तर दाम तिरेर किनिएको हरेक इस्राएली दासको खतना गरिएपछि त्यसले यो खान सक्छ । 45 विदेशीहरू र भाडामा लिइएका नोकरहरूले यो खानाको कुनै पनि भाग नखानू । 46 एउटै घरमा यसलाई खाइनुपर्छ । तिमीहरूले घरबाट कुनै पनि खाना बाहिर नलैजानू र यसको कुनै पनि हड्‍डी नभाँच्नू । 47 इस्राएलका सारा समुदायले यसको पालन गर्नू । 48 कुनै परदेशी तिमीहरूका बिचमा बसेको छ र त्यसले परमप्रभुको निम्ति निस्तार-चाड मान्‍न चाहन्छ भने त्यसका सबै पुरुष नातेदारहरूको खतना गरिनुपर्छ । त्यसपछि मात्र त्यसले यो चाड मान्‍न पाउँछ । त्यो देशमै जन्मेका मानिसहरूजस्तै एक हुनेछ । तर बेखतने व्यक्तिले यसबाट खान पाउनेछैन । 49 स्वदेशी र तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी दुवैलाई उही नियम लागु हुनेछ ।” 50 त्यसैले परमप्रभुले मोशा र हारूनलाई आज्ञा गर्नुभएझैँ सबै इस्राएलीले त्यसै गरे । 51 ठिक त्यही दिन परमप्रभुले तिनीहरूका सशस्‍त्र दलहरूलाई मिश्र देशबाट बाहिर निकालेर ल्याउनुभएको थियो ।