30
 1 तैँले धूप बाल्नलाई बबुल काठबाट एउटा वेदी बनाउनू ।   2 यसको लमाइ एक हात र चौडाइ एक हातको होस् । यो वर्गाकार हुनुपर्छ र यसको उचाइ दुई हातको हुनुपर्छ । यसका सिङहरू त्यही एउटै टुक्रा काठबाट बनाइएका होऊन् ।   3 धूप वेदीको माथिल्लो भाग, यसका किनाराहरू र सिङहरू सबै नै निखुर सुनले मोहोरिऊन् । यसको चारैतिर सुनको बिट लगाउनू ।   4 यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुईवटा मुन्द्रा बनाएर त्यसका दुवैतिर लगाउनू, र बोक्ने डन्डाहरूका लागि ती मुन्द्राचाहिँ घर होऊन् ।   5 डन्डाहरू बबुल काठबाट बनाएर तिनलाई सुनले मोहोर्नू ।   6 तैँले धुपको वेदीलाई गवाहीको सन्दुकनेर भएको पर्दाको सामुन्ने राख्नू । यो मैले तँलाई भेट्ने गवाहीको सन्दुकमाथि राखिएको प्रायश्चित्तको ढकनीको सामु हुनेछ ।   7 हारूनले हरेक बिहान सुगन्धित धूप बाल्नू । त्यसले दियाहरूको रेखदेख गर्दा यसलाई बाल्नू,   8 र पुस्ता-पुस्तासम्म परमप्रभुको सामु नियमित रूपमा धूप बलिरहोस् भनेर हारूनले हरेक साँझमा दियाहरू बाल्नू ।   9 तर त्यस धूपको वेदीमा तैँले अरू किसिमका धूप नबाल्नू, न त कुनै होमबलि वा अन्नबलि चढाउनू । यसमाथि कुनै अर्घबलि नचढाउनू ।   10 वर्षको एक चोटि हारूनले यसका सिङहरूमा प्रायश्चित्त गरोस् । पापबलिको रगतले पुस्ता-पुस्तासम्म त्यसले वर्षको एक चोटि प्रायश्चित्त गर्नेछ । यो परमप्रभुको निम्ति अति पवित्र छ ।”   11 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,   12 “तैँले इस्राएलीहरूको जनगणना लिँदा हरेक व्यक्तिले परमप्रभुको निम्ति आफ्नो जीवनको मोल तिरोस् । तैँले तिनीहरूको गणना गरिसकेपछि यसो गर्नू ताकि जनगणना गर्दा तिनीहरूका बिचमा कुनै विपत्ति नआओस् ।   13 जनगणनामा गन्ती भएको हरेकले पवित्रस्थानको शेकेलको नापअनुसार चाँदीको आधा शेकेल तिरोस् (एक शेकेल बराबर बिस गेरा हुन्छ) । यो आधा शेकेल परमप्रभुको निम्ति भेटी हुनेछ ।   14 बिस वर्षभन्दा माथिको गन्ती हुने हरेकले मलाई यो भेटी दिनुपर्छ ।   15 मानिसहरूले आ-आफ्ना जीवनको प्रायश्चित्तको लागि मलाई यो भेटी दिँदा धनीहरूले आधा शेकेलभन्दा बढी नदेऊन् न त गरिबहरूले कम देऊन् ।   16 तैँले इस्राएलीहरूबाट यो प्रायश्चित्तको पैसा लिएर यसलाई भेट हुने पालको कामको लागि छुट्ट्याउनुपर्छ । यो इस्राएलीहरूका जीवनको निम्ति प्रायश्चित्त गर्न मेरो सामु तिनीहरूको सम्झना होस् ।”   17 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,   18 “तैँले धुनलाई काँसाको एउटा ठुलो बाटा बना । यो भेट हुने पाल र वेदीको बिचमा होस् र यसमा पानी राख्नू ।   19 हारून र त्यसका छोराहरूले यो पानीले तिनीहरूका हात र खुट्टा धोऊन् ।   20 तिनीहरू आगोद्वारा चढाइने बलि लिएर मेरो सेवा गर्न भेट हुने पालमा जाँदा वा वेदीको नजिक जाँदा तिनीहरू नमरून् भनेर तिनीहरूले पानीले धुनुपर्छ ।   21 तिनीहरू नमरून् भनेर तिनीहरूले आ-आफ्ना हातगोडा धोऊन् । हारून र त्यसका मानिसहरूका पुस्ता-पुस्ताका लागि यो एउटा स्थायी विधि हो ।”   22 तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,   23 “तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्ना आउने दालचिनी, २५० शेकेल बास्ना आउने बोझो,   24 ५०० शेकेल तेजपात– सबैको नाप पवित्रस्थानको हिसाबले– र एक हीन भद्राक्षको तेल लिनू ।   25 तैँले यी सामग्रीहरूबाट अभिषेक गर्ने पवित्र तेल अर्थात् सुगन्धित मसला बनाउनू । यो मेरो लागि सुरक्षित अभिषेक गर्ने पवित्र तेल हुनेछ ।   26 तैँले यस तेलले भेट हुने पालसाथै गवाहीको सन्दुक,   27 टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,   28 होमबलि चढाउने वेदीलगायत यसका सबै सामान र धुनलाई प्रयोग गरिने बाटालाई अभिषेक गर्नू ।   29 ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू । तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ ।   30 हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।   31 तैँले इस्राएलीहरूलाई भन्नू, “तिमीहरूका मानिसहरूका पुस्ता-पुस्तासम्म यो परमप्रभुको निम्ति अलग गरिएको अभिषेक गर्ने तेल होस् ।   32 यसलाई मानिसको छालामा दल्नुहुँदैन, न त उही सुत्र प्रयोग गरेर यस्तो तेल बनाउनुहुन्छ किनकि यो परमप्रभुको निम्ति अलग गरिएको हो । तैँले यसलाई यसरी नै हेर्नुपर्छ ।   33 जसले यस्तो अत्तर बनाउँछ वा जसले अरू कसैको शरीरमा यसलाई लगाइदिन्छ त्यो व्यक्ति तिमीहरूको जातिबाट बहिष्कृत हुनेछ ।”   34 परमप्रभुले मोशालाई भन्नुभयो, “बराबरी परिमाणमा शुद्ध सेतो-धूपसहित खोटो, सेखलेट र हिङजस्तै चोपजस्ता सुगन्धित मसलाहरू लिनू ।   35 नुन मिसिएको शुद्ध र पवित्र हुने गरी धूपको रूपमा अत्तर बनाउनेले जस्तै गरी त्यसलाई बनाउनू ।   36 तैँले यसलाई मसिनो गरी पिस्नू । यसको थोरै भागलाई मैले तँसित भेट गर्ने भेट हुने पालमा राखिने गवाहीको सन्दुकको सामुन्ने राख्नू । तैँले यसलाई मेरो लागि अति पवित्र ठान्नू ।   37 तैँले बनाउने यो धूपजस्तै उही सुत्र प्रयोग गरेर आफ्नो लागि अर्को कुनै धूप नबनाउनू । यो मेरो लागि अति पवित्र होस् ।   38 अत्तरको रूपमा प्रयोग गर्न जसले योजस्तै कुनै धूप बनाउँछ, त्यो आफ्नो जातिबाट बहिष्कृत हुनेछ ।”