36
1 यसैले बजलेल, ओहोलीआब र परमप्रभुले पवित्रस्थान बनाउने काम गर्न ज्ञान र दक्षता दिनुभएको हरेक सिपालु व्यक्तिले उहाँको आज्ञामुताबिक काम गरून् ।” 2 मोशाले बजलेल, ओहोलीआब र हरेक सिपालु व्यक्ति जसको मनमा उहाँको काम गर्न परमप्रभुले सिप दिनुभएको थियो र जसको ह्रदयमा उहाँले प्रेरणा दिनुभएको थियो, ती सबैलाई बोलाए । 3 पवित्रस्थान निर्माणको लागि इस्राएलीहरूले ल्याएका सबै भेटी तिनीहरूले मोशाबाट प्राप्त गरे । मानिसहरूले अझै पनि राजीखुसीले हरेक बिहान भेटीहरू ल्याउँदै थिए । 4 त्यसैले पवित्रस्थानमा काम गरिरहेका सबै निपुण मानिस काम छाडेर आए । 5 शिल्पकारहरूले मोशालाई भने, “परमप्रभुले हामीलाई गर्न भनी आज्ञा गर्नुभएको कामको लागि मानिसहरूले चाहिएभन्दा पनि बढ्ता ल्याउँदै छन् ।” 6 त्यसैले पवित्रस्थानको निर्माणको लागि कसैले पनि अरू भेटीहरू नल्याउनू भनी मोशाले छाउनीमा आज्ञा दिए । तब मानिहरूले यी भेटीहरू ल्याउन छाडे । 7 सबै कामको लागि तिनीहरूसित चाहिनेभन्दा बढी सामग्रीहरू थिए । 8 त्यसैले तिनीहरूका बिचमा भएका सबै शिल्पकारले मसिनो सुती कपडा अनि निलो, बैजनी, रातो ऊनबाट दसवटा पर्दा भएको करूबहरूको रचनासहित पवित्र वासस्थानको निर्माण गरे । यो ज्यादै निपुण शिल्पकार बजलेलको काम थियो । 9 हरेक पर्दाको लमाइ अट्ठाइस हात र चौडाइ चार हातको थियो । सबै पर्दा उही आकारका थिए । 10 बजलेलले पाँचवटा पर्दा एक-अर्कामा गाँसे र बाँकी पाँचवटालाई पनि एक-अर्कामा गाँसे । 11 पहिले गाँसिएको पर्दाको पल्लो पर्दाको छेउमा तिनले निलो सुर्काउनी बनाए, र दोस्रो गाँसिएको पर्दाको छेउमा पनि तिनले त्यसै गरे । 12 तिनले पहिलो पर्दामा पचासवटा सुर्काउनी बनाए, र अर्को गाँसिएको भागको पल्लो पर्दामा पनि पचासवटा सुर्काउनी बनाए । ती सुर्काउनीहरू एक-अर्काका आमनेसामने थिए । 13 तिनले पवित्र वासस्थान एउटै होस् भनेर सुनका पचासवटा अङ्कुसे बनाए, र तिनलाई पर्दाका दुई भाग एक-अर्कासित जोडे । 14 पवित्र वासस्थान ढाक्ने पालको निम्ति बजलेलले बाख्राका भुत्लाका पर्दाहरू बनाए । तिनले यस्ता खालका पर्दाहरू एघारवटा बनाए । 15 हरेक पर्दाको लमाइ तिस हात र चौडाइ चार हातको थियो । सबै एघारवटै पर्दाको आकार उही थियो । 16 तिनले पाँचवटा पर्दा एक-अर्कासित जोडे र बाँकी छवटा पर्दा एक-अर्कासित जोडे । 17 तिनले पहिलो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पचासवटा सुर्काउनी बनाए, र दोस्रो गाँसिएको भागको पल्लो पर्दाको छेउमा पनि पचासवटा सुर्काउनी बनाए । 18 पाललाई जोडेर एउटै बनाउन बजलेलले काँसाका पचासवटा अङ्कुसे बनाए । 19 तिनले पवित्र वासस्थानलाई ढाक्न रातो रङले रङ्ग्याएका भेडाका छालाहरूको एउटा छत बनाए, र त्यसमाथि राख्न मसिनो छालाको अर्को छत बनाए । 20 बजलेलले पवित्र वासस्थानको निम्ति बबुल काठबाट ठाडा-ठाडा फल्याकहरू बनाए । 21 हरेक फल्याकको लमाइ दस हात र चौडाइ साँढे एक हातको थियो । 22 फल्याकहरूलाई एक-अर्कासित जोड्न हरेकमा दुई-दुईवटा काठका चोसा थिए । तिनले पवित्र वासस्थानका सबै फल्याकमा यसै गरे । 23 तिनले पवित्र वासस्थानको लागि यसरी नै सबै फल्याक बनाए । तिनले दक्षिणपट्टिको लागि बिसवटा फल्याक बनाए । 24 बजलेलले ती बिसवटा फल्याकको मुनिपट्टि राख्न चाँदीका चालिसवटा आधार बनाए । फल्याकहरूलाई सँगै जोड्न हरेक फल्याकको मुन्तिर दुईवटा आधार थिए, अरू सबै फल्याकको मुन्तिर पनि दुई-दुईवटा आधार थिए । 25 पवित्र वासस्थानको दोस्रोपट्टि अर्थात् उत्तरपट्टि तिनले बिसवटा फल्याक र तिनको लागि 26 चाँदीका चालिसवटा आधार बनाए । पहिलो फल्याकको मुनिपट्टि दुईवटा आधार थिए, अनि अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार थिए एवम् रितले सबै फल्याकमुनि दुई-दुईवटा आधार थिए । 27 पवित्र वासस्थानको पछाडि अर्थात् पश्चिमपट्टि बजलेलले छवटा फल्याक बनाए । 28 पवित्र वासस्थानको पछाडिका कुनाहरूमा तिनले दुईवटा फल्याक बनाए । 29 ती दुई कुनाका फल्याकहरू तल छुट्टिएका थिए भने माथि दोब्बर खप्टिएका थिए । तिनले दुईवटा कुनाका लागि दुईवटा फल्याक यसरी नै बनाए । 30 चाँदीका आधारसहित जम्माजम्मी आठवटा फल्याक थिए । जम्माजम्मी सोह्रवटा आधार थिए । एउटा फल्याकको मुनिपट्टि दुईवटा आधार, अर्को फल्याकको मुनिपट्टि दुईवटा आधार, एवम् रितले हरेक फल्याक मुनिपट्टि दुई-दुईवटा आधार थिए । 31 बजलेलले बबुल काठका बारहरू बनाए । तिनले पवित्र वासस्थानको एकापट्टिका फल्याकहरूका लागि पाँचवटा, 32 र अर्कोपट्टिका फल्याकहरूका लागि पाँचवटा अनि पवित्र वासस्थानको पछाडिपट्टि अर्थात् पश्चिमपट्टिको लागि पाँचवटा बार बनाए । 33 तिनले फल्याकहरूका बिचमा हुने बारचाहिँ एक छेउबाट अर्को छेउसम्म पुग्ने गरी बनाए । 34 तिनले फल्याकहरूलाई सुनले मोहोरे । तिनले बारहरू पक्रनका निम्ति सुनका मुन्द्राहरू बनाए, र बारहरूलाई सुनले मोहोरे । 35 बजलेलले निलो, बैजनी र रातो ऊन अनि मसिनो सुती कपडाबाट करूबहरूको रचनामा पर्दाहरू बनाए । यो निपुण शिल्पकारको काम थियो । 36 तिनले पर्दाहरूका लागि बबुल काठका चारवटा खम्बा बनाए, र तिनलाई सुनले मोहोरे । तिनले खम्बाहरूका लागि अङ्कुसेहरू पनि बनाए, र तिनका निम्ति चाँदीका चारवटा आधार बनाए । 37 तिनले पालको प्रवेशद्वारको लागि एउटा पर्दा बनाए । यो निलो, बैजनी, रातो ऊन, मसिनो सुती कपडाबाट बनाइएको थियो । यो बुट्टा भर्नेको काम थियो । 38 तिनले पर्दाका पाँचवटा खम्बा तिनका अङ्कुसेहरूसमेत बनाए । तिनले तिनीहरूका टुप्पा र फित्ता सुनले मोहोर । तिनीहरूका पाँचवटा आधारचाहिँ काँसाका थिए ।