36
 1 “अब, ए मानिसको छोरा, इस्राएलका पर्वतहरूलाई अगमवाणी गर् र यसो भन्, ‘ए इस्राएलका पर्वतहरू, परमप्रभुको वचन सुन ।   2 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: शत्रुले तिमीहरूका बारेमा यसो भनेका छ, “आहा! प्राचीन अग्ला ठाउँहरू हाम्रा अधिकारमा भएका छन् ।” ’   3 यसकारण अगमवाणी गर र यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरू उजाड भएका हुनाले र तिमीहरूमाथि चारैतिरबाट आक्रमण भएको हुनाले तिमीहरू अरू जातिहरूका अधिकारमा परेका छौ । तिमीहरू निन्दनीय ओठहरू र जिब्राहरू, अनि मानिसहरूका वर्णनका विषय बनेका छौ ।   4 यसकारण, ए इस्राएलका पर्वतहरू, परमप्रभु परमेश्वरको वचन सुनः पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरू, तिनीहरूका वरिपरि भएका अरू जतिहरूका निम्ति लूट र हाँसोको विषय बनेका निर्जन उजाड-स्थानहरू र त्यागिएका सहरहरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ,   5 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः निश्चय नै अरू जातिहरूका विरुद्धमा, एदोम र मेरो देशलाई आफ्नो अधिकारमा लिने सबैका विरुद्धमा, र आफ्नै निम्ति मेरो देशको खर्कमाथि अधिकार गर्नलाई त्यो कब्जा गर्दा आफ्नो हृदयमा रमाहट गर्ने र आत्मामा घृणा बोकेका सबैको विरुद्धमा मेरो क्रोधको आगोमा मैले बोलेको छु ।’   6 यसकारण, इस्राएल देशलाई अगमवाणी गर र पर्वतहरू र अग्ला पहाडहरू, खोलाहरू र बेसीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: हेर्, मेरो क्रोध र रिसमा म यो घोषणा गर्दैछु किनभने तिमीहरूले जातिहरूका अपमान सहेका छौ ।   7 यसकारण, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म आफ्नो हात उठाएर यो शपथ खान्छु, कि तेरो वरिपरिका जातिहरूले आफ्नो लाज आफै बोक्नेछन् ।   8 तर, ए इस्राएलका पहाडहरू, तिमीहरूले हाँगाहरू बढाउनेछौ र तिमीहरूले मेरा मानिस इस्राएलका लागि फल दिनेछौ, किनभने तिनीहरू छिटै तिमीहरूकहाँ फर्केर आउनेछन् ।   9 किनकि हेर, म तिमीहरूका निम्ति हुँ, र म तिमीहरूलाई कृपा दृष्टिले व्यवहार गर्नेछु । तिमीहरूको खनजोत गरिने र बीउ छरिनेछ ।   10 यसैले तिमीहरूमाथि म मानिसहरूका सङ्ख्या, इस्राएलका सारा घरानालाई बढाउनेछु । सहरहरूमा बसोबास हुनेछ र भग्नावशेषहरू पुनःनिर्माण गरिनेछन् ।   11 ए पर्वतहरू, तिमीहरूमा मानिस र पशुका सङ्ख्यालाई म वृद्धि गराउनेछु ताकि तिनीहरू फल्दै-फुल्दै र वृद्धि हुँदै जानेछन् । त्यसपछि पहिलेझैं तिमीहरूमा म बसोबास गराउनेछु, र तिमीहरूको समृद्धि विगतमा भएको भन्दा बढी गराउनेछु, ककिनकि तिमीहरूले म नै परमप्रभु हुँ भनी जान्नेछौ ।   12 तिमीहरूमा हिंड्नलाई मेरा मानिसहरू अर्थात् इस्राएलीहरूलाई म ल्याउनेछु । तिनीहरूले तिमीहरूमाथि अधिकार गर्नेछन्, र तिमीहरू तिनीहरूका उत्तराधिकार हुनेछौ, र तिमीहरूले तिनीहरूका छोराछोरीलाई मर्न दिनेछैनौ ।   13 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: किनभने तिनीहरूले तिमीहरूलाई भनेका छन्, “तिमीहरूले मानिसहरू नष्ट गर्छौ, र आफ्नो जातिलाई शोकमा पार्छौ,”   14 यसकारण तिमीहरूले फेरि मानिसहरूलाई भष्म गर्नेछैनौ, र तिनीहरूले आफ्ना जातिलाई मृत्युको शोकमा पार्नेछैनौ । यो परमप्रभु परमेश्वरको घोषणा हो ।   15 न त म तिमीहरूलाई जातिहरूको अपमान फेरि सुन्न दिनेछु । तिमीहरूले फेरि कहिल्यै मानिसहरूको लाजलाई सहनुपर्नेछैन न त तिमीहरूको जातिको पतन हुनेछ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।’ ”   16 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,   17 “ए मानिसको छोरा, जब इस्राएलको घराना आफ्नो देशमा बसोबास गरे, तब तिनीहरूले त्यस देशलाई आफ्ना चालहरू र कामहरूले अशुद्ध पारे । मेरा सामु तिनीहरूका चालहरू स्त्रीको रजस्वलाको अशुद्धताझैं थिए ।   18 यसैले तिनीहरूले त्यो देशमा बगाएका रगत र आफ्ना मूर्तिहरूले अशुद्ध बनाएका कारणले मैले तिनीहरूका विरुद्धमा आफ्नो क्रोध खन्याएँ ।   19 मैले तिनीहरूलाई जातिहरूका बिचमा छरपष्ट पारें । तिनीहरू देशहरूमा तितरबितर भए । तिनीहरूका चालहरू र कामहरूअनुसार मैले तिनीहरूको न्याय गरें ।   20 त्यसपछि तिनीहरू जातिहरूकहाँ गए, र तिनीहरू जहाँ-जहाँ गए, तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारे । मानिसहरूले तिनीहरूका विषयमा यसो भने, ‘के यिनीहरू साँच्चै नै परमप्रभुका मानिसहरू हुन्? किनकि यिनीहरू त उहाँको देशबाट बाहिर फालिएका छन् ।’   21 तर इस्राएलको घराना जातिहरूका बिचमा हुँदा तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारेका हुनाले मेरो नाउँप्रति ममा दया जाग्यो ।   22 यसकारण इस्राएलको घरानालाई यसो भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: ए इस्राएलको घराना, यो मैले तेरो निम्ति गरेको होइन, तर मेरो पवित्र नाउँको खातिर हो, जसलाई तिमीहरू जहाँ गयौ, त्यहाँ तिमीहरूले अशुद्ध पारेका छौ ।   23 किनकि तिमीहरूले जातिहरूका बिचमा अशुद्ध बनाएका मेरो महान् नाउँलाई म पवित्र बनाउनेछु । जातिहरूका बिचमा तिमीहरुले त्यसलाई अशुद्ध बनयौ । तब म पवित्र छु भनी तिमीहरूले देखेपछि ती जातिहरूले म नै परमप्रभु हुँ भनी जान्नेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।   24 तिमीहरूलाई जातिहरू निकाल्नेछु र हरेक देशबाट तिमीहरूलाई भेला पार्नेछु र तिमीहरूका आफ्नो देशमा तिमीहरूलाई म ल्याउनेछु ।   25 त्यसपछि तिमीहरूमाथि म पवित्र पानी छर्किनेछु, यसरी तिमीहरू आफ्ना सबै अशुद्धताबाट शुद्ध हुनेछौ, र तिमीहरूका सबै मूर्तिहरूबाट म तिमीहरूलाई शुद्ध पर्नेछु ।   26 तिमीहरूका अन्तस्करणमा म तिमीहरूलाई एउटा नयाँ हृदय र नयाँ आत्मा दिनेछु, र तिमीहरूका शरीरबाट ढुङ्गाको हृदय म निकाल्नेछु । किनभने म तिमीहरूलाई मासुको हृदय दिनेछु ।   27 तिमीहरूमा म आफ्नो आत्मा हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरूमा हिंड्न र मेरा आज्ञाहरू पालन गर्न सक्षम तुल्याउनेछु ।   28 तब मैले तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा तिमीहरू बसोबास गर्नेछौ । तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु ।   29 किनकि म तिमीहरूलाई सबै अशुद्धताबाट बचाउनेछु । म अन्नलाई आज्ञा गर्नेछु र त्यसलाई बढाउनेछु । तिमीहरूमा म अनिकाल पेरि कहिलै ल्याउनेछैनँ ।   30 रूखको फल र भूमिको उब्जनी म बढाउनेछु ताकि तिमीहरूले जातिहरूका बिचमा फेरि कहिल्यै अनिकालको लाज सहनेछैनौ ।   31 त्यसपछि आफ्ना दुष्ट चालहरू र आफ्ना कामहरू जो असल थिएनन् सो तिमीहरूले याद गर्नेछौ, र तिमीहरूका आफ्ना पापहरू र आफ्ना घिनलाग्दा कामहरूका कारणले तिमीहरूले आफ्ना अनुहारहरूमा घृणा प्रदर्शन गर्नेछौ ।   32 यो परमप्रभु परमेश्वरको घोषणा हो, यो तिमीहरूलाई थाहा होस् कि यो मैले तिमीहरूका निम्ति गरेको होइन । यसैले, ए इस्राएलको घराना, आफ्ना चालहरूका कारणले लज्जित र अपमानित होओ ।   33 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका सबै अपराधहरूबाट मैले तिमीहरूलाई शुद्ध पारेको दिनमा, म तिमीहरूलाई सहरहरूमा बसोबास गराउनेछु र भग्नावशेषहरूलाई पुनर्निर्माण गर्न लगाउनेछु ।   34 किनभने तिमीहरूले बाँझो जमिनलाई खनजोत गर्नेछौ र त्यसको नजिकबाट जानेहरूका आँखामा त्यो अब फेर बाँझो हुनेछैन ।   35 तब तिनीहरूले भन्नेछन्, “यो जमिन उजाड थियो, तर यो अब अदनको बगैंचाजस्तो भएको छ । भत्काइएका उजाड सहरहरू र निर्जन बाँझो जमिनहरू, अब किलाबन्दी गरिएका र बसोबास गर्छन् ।”   36 तब म नै परमप्रभु, मैले नै भग्नावशेषलाई बनाएँ र त्यागिएका ठाउँहरूलाई पुनः स्थापित गरें भनी तिमीहरूका वरिपरिका अरू जातिहरूले जान्नेछन् । म परमप्रभु हुँ । मैले यो घोषणा गरेको छु र म यो गर्नेछु ।   37 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: इस्राएलको घरानालाई मानिसहरूका बगालझैं वृद्धि गरिदिन तिनीहरूले मलाई फेरि बिन्ती गर्नेछन् ।   38 जस्तो बलिदानको निम्ति बगाललाई अलग गरिन्छ, जस्तो तोकिएका चाडहरूमा यरूशलेममा बगाल हुन्छन्, त्यस्तै भग्नावशेष भएका सहरहरू मानिसहरूका बगालले भरिनेछन् र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।’ ”