एज्राको पुस्तक
1
फारसका राजा कोरेसको पहिलो वर्षमा परमप्रभुले यर्मियाद्वारा बोल्नुभएको आफ्नो वचन पुरा गर्नुभयो, र कोरेसको आत्मालाई उत्तेजित पार्नुभयो । कोरेसको आदेश तिनका सारा राज्यभरि पुग्‍यो । लेखिएको र बोलिएको कुरो यही नै हो, “फारसका राजा कोरेस भन्‍नुहुन्छ, 'परमप्रभु स्वर्गका परमेश्‍वरले मलाई सारा पृथ्वीका राज्यहरू दिनुभयो, र उहाँले यहूदियाको यरूशलेममा एउटा मन्दिर निर्माण गर्नलाई मलाई नियुक्त गर्नुभयो । जो उहाँका मानिसहरू हुन् (तिनका परमेश्‍वर तिनीसित होऊन्) तिनीहरू यरूशलेममा जान र यरूशलेममा बास गर्नुहुने इस्राएलका परमप्रभु परमेश्‍वरको निम्ति एउटा मन्दिर बनाउन सक्छन् । राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्‍वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।” तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे । तिनीहरूका वरिपरि भएकाहरूले तिनीहरूको कामलाई चाँदी, सुनका चिजहरू, धन-सम्पत्ति, गाईवस्तु, मुल्यवान चिजहरू र स्वेच्छा भेटीहरू दिएर सहयोग गरे । नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्‍दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले । कोरेसले ती कोषाध्‍यक्ष मित्रेताको हातमा दिए जसले यहूदाका अगुवा शेशबस्सरको निम्ति ती चीजहरूको गणना गरे । ती वस्तुहरूको सङ्ख्या यस प्रकार थिए: सुनका भाँडा तिसवटा, चाँदीका भाँडा एक हजारवटा, उनन्तिसवटा बाटा, 10 सुनका कचौरा तिसवटा, चार सय दसवटा चाँदीका स-साना कचौरा र एक हजारवटा अन्य भाँडाकुँडा । 11 सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० ओटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए ।