34
अब लेआले याकूबको निम्ति जन्माएकी छोरी दीना त्यस देशका युवतीहरूसित भेट गर्न गइन् । त्यस देशका रजौटा हिव्वी हमोरको छोरा शकेमले उनलाई देखी उनलाई प्रकेर लगे र उनीसित सहवास गरे । तिनी याकूबकी छोरी दीनासित मोहित भएका थिए । तिनले यी युवतीलाई प्रेम गरी स्‍नेहपूर्वक बोले । शकेमले आफ्ना पिता हमोरलाई यसो भने, “मेरी पत्‍नी हुनलाई ती युवती मलाई ल्याइदिनुहोस् ।” अब याकूबले आफ्नी छोरी दीनालाई शकेमले अशुद्ध पारेको कुरा सुने । तिनका छोराहरू खेतमा गाईबस्तु चराउन गएका थिए । त्यसैले तिनीहरू नफर्कुञ्‍जेल याकूब चुप लागेर बसे । शकेमका पिता हमोर याकूबसित कुराकानी गर्न गए । याकूबका छोराहरू खेतबाट फर्कंदा तिनीहरूले यस विषयबारे सुने । तिनीहरूलाई चोट पुगेको थियो । याकूबकी छोरीमाथि जबरजस्ती सहवास गरेर तिनले इस्राएलको बेइज्‍जत गरेकाले तिनीहरू ज्यादै रिसाए । किनकि यस्तो कुरो गरिनुहुँदैनथ्यो । हमोरले तिनीहरूलाई भने, “मेरो छोरो शकेमले तपाईंकी छोरी दीनालाई माया गर्छन् । कृपया, उनलाई तिनकी पत्‍नी हुन दिनुहोस् । हामीसित अन्तरजातीय विवाह गर्नुहोस् । तपाईंका छोरीहरू हामीलाई दिनुहोस् र हाम्री छोरीहरू तपाईंहरूले लैजानुहोस् । 10 तपाईंहरू हामीसितै बस्‍नुहोस् । तपाईंहरूलाई बसोबास गरी व्यापार गर्न र सम्पत्ति आर्जन गर्न यो देश खुला हुनेछ ।” 11 शकेमले उनका पिता र उनका दाजुहरूलाई भने, “मलाई तपाईंहरूले निगाह गर्नुहोस्, र तपाईंहरूले मलाई जे भन्‍नुहुन्छ, म त्यही दिनेछु । 12 तपाईंहरूलाई इच्छा लागेमुताबिक जतिसुकै दाइजो र उपहार माग्‍नुुहोस् म ती दिनेछु, तर मलाई यी युवती पत्‍नी तुल्याउनलाई दिनुहोस् ।” 13 शकेमले दीनालाई अशुद्ध तुल्याएकाले याकूबका छोराहरूले शकेम र तिनका पिता हमोरलाई छलपूर्वक जवाफ दिए । 14 तिनीहरूले उनीहरूलाई भने, “हामी यस्तो कुरा गर्न सक्दैनौँ । खतना नगरेको कुनै पनि व्यक्तिलाई हामी हाम्री बहिनी दिन सक्दैनौँ । किनकि त्यसो गर्दा हाम्रो बेइज्‍जत हुन्छ । 15 यो सर्तमा मात्रै हामी तपाईंहरूसित सहमत हुनेछौः हामीजस्तै तपाईंहरूको हरेक पुरुषको खतना हुनुपर्छ । 16 तब हामी हाम्रा छोरीहरू तपाईंहरूलाई दिनेछौँ र तपाईंहरूका छोरीहरू हामी लिनेछौँ अनि हामी तपाईंहरूसित बसी एउटै जाति हुनेछौँ । 17 तर तपाईंहरूले हाम्रो कुरा सुनेर खतना गर्नुभएन भने हामी हाम्री बहिनी लिएर जानेछौँ ।” 18 तिनीहरूको कुराले हमोर र तिनका छोरा शकेमलाई खुसी तुल्यायो । 19 यिनीहरूले भनेका कुरा गर्न ती युवकले ढिला गरेनन् किनकि तिनी याकूबकी छोरीसित मोहित भएका थिए, र तिनी आफ्ना पिताको घरानामा सबैभन्दा इज्‍जतदार व्यक्ति थिए । 20 हमोर र तिनका छोरा शकेम तिनीहरूको सहरको द्वारमा गएर सहरका मानिसहरूलाई भने, 21 “यी मानिसहरू शान्तिप्रिय छन् । त्यसैले यिनीहरू हामीसितै बसोबास गरी व्यापार गरून् किनकि वास्तवमा हाम्रो देश तिनीहरूका लागि पनि ज्यादै ठुलो छ । तिनीहरूका छोरीहरूलाई पत्‍नी बनाउनलाई लिऔँ र तिनीहरूलाई हाम्रा छोरीहरू दिऔँ । 22 यो सर्तमा मात्रै ती मानिसहरू हामीसित बसी एउटै जाति हुन सहमत छन्: तिनीहरूजस्तै हाम्रो हरेक पुरुषको खतना हुनुपर्छ । 23 के तिनीहरूका सबै गाईबस्तु र सम्पत्ति अर्थात् जनावरहरू हाम्रा हुनेछैनन् र? त्यसैले तिनीहरूसित सहमत होऔँ र तिनीहरू हामीसित बसून् ।” 24 सहरका सबै मानिसले हमोर र तिनका छोरा शकेमको कुरा माने, अनि हरेक पुरुषको खतना गरियो । 25 तेस्रो दिनमा तिनीहरू अझै दर्दमा हुँदा याकूबका दुई जना छोरा शिमियोन र लेवी (दीनाका दाजुहरू) ले आ-आफ्नो तरवार लिई आफ्नो सुरक्षामा ढुक्‍क रहेको सहरमाथि आक्रमण गरी सबै पुरुषलाई मारे । 26 तिनीहरूले तरवारले हमोर र तिनका छोरा शकेमलाई मारे । तिनीहरूले दीनालाई शकेमको घरबाट लिएर गए । 27 याकूबका अन्य छोराहरू मरेकाहरूकहाँ आई सहरलाई लुटे किनकि ती मानिसहरूले तिनीहरूकी बहिनीलाई अशुद्ध बनाएका थिए । 28 तिनीहरूले उनीहरूका बगालहरू, बथानहरू, गधाहरू, सबै सम्पत्ति र सहरमा भएको हरेक थोक लिएर गए । 29 तिनीहरूका सबै केटाकेटी र पत्‍नीहरूलाई तिनीहरूले कैद गरे । घरहरूभित्र भएको हरेक थोक पनि तिनीहरूले कब्जा गरे । 30 याकूबले शिमियोन र लेवीलाई भने, “यस देशका बासिन्दाहरू अर्थात् कनानीहरू र परिज्‍जीहरूका सामु मलाई अप्रिय तुल्याएर तिमीहरूले ममाथि सङ्कष्‍ट ल्याएका छौ । मेरा मानिसहरू थोरै छन् तिनीहरू एकै ठाउँमा जम्मा भई ममाथि आक्रमण गरे भने म र मेरो घराना नष्‍ट हुनेछौँ । 31 तर शिमियोन र लेवीले भने, “के शकेमले हाम्री बहिनीलाई वेश्यालाई जस्तै व्यवहार गर्नहुन्छ?”