42
अब मिश्रमा अनाज पाइँदोरहेछ भनी याकूबलाई थाहा भयो । तिनले आफ्ना छोराहरूलाई भने, “तिमीहरू किन एक-अर्कालाई हेर्छौ?” तिनले भने, “मिश्रमा अनाज छ भनी मैले सुनेको छु । हामी जीवित रहनको लागि तल गएर हाम्रो लागि अनाज किन ।” योसेफका दस जना दाजु मिश्रमा अनाज किन्‍नका लागि गए । तर याकूबले योसेफका भाइ बेन्यामीनलाई तिनका दाजुहरूसँगै पठाएनन् किनकि तिनीमाथि कुनै हानि आइपर्ला कि भनी तिनी डराए । किन्‍न आउनेहरूमध्ये इस्राएलका छोराहरू पनि थिए किनकि कनान देशमा पनि अनिकाल परेको थियो । योसेफ मिश्रका अधिपति थिए । तिनले देशका सबै मानिसलाई अनाज बेच्थे । योसेफका दाजुहरू आए, र तिनीहरूले भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे । योसेफले आफ्ना दाजुहरूलाई देखेर चिने, तर तिनले नचिनेका जस्तै गरी तिनीहरूसित कडासँग बोले । तिनले तिनीहरूलाई भने, “तिमीहरू कहाँबाट आएका हौ?” तिनीहरूले भने, “अनाज किन्‍नका लागि कनान देशबाट आएका हौँ ।” योसेफले आफ्ना दाजुहरूलाई चिने, तर तिनीहरूले भने तिनलाई चिनेनन् । त्यसपछि योसेफले तिनीहरूको बारेमा आफूले देखेका सपनाहरू सम्झे र तिनीहरूलाई भने, “तिमीहरू जासुस हौ । तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।” 10 तिनीहरूले तिनलाई भने, “त्यसो होइन, हजुर । तपाईंका दासहरू अनाज किन्‍न आएका हुन् । हामी सबै एउटै मानिसका छोराहरू हौँ । 11 हामी इमानदार मानिसहरू हौँ । हामी तपाईंका दासहरू जासुस होइनौँ ।” 12 तिनले तिनीहरूलाई भने, “तिमीहरू यो देशका असुरक्षित भागहरू हेर्न आएका हौ ।” 13 तिनीहरूले भने, “हामी तपाईंका दासहरू बार्‍ह जना दाजुभाइ छौँ र हामी कनान देशका एउटै मानिसका छोराहरू हौँ । हेर्नुहोस्, कान्छोचाहिँ अहिले हाम्रा पितासित छन् र एक जना भाइचाहिँ अब जिउँदो छैनन् ।” 14 योसेफले तिनीहरूलाई भने, “त्यसैले मैले तिमीहरूलाई भनेँ कि तिमीहरू जासुस हौ । 15 यसैद्वारा तिमीहरूको जाँच हुनेछ । फारोको शपथ खाएर म भन्दछु कि तिमीहरूका कान्छा भाइ यहाँ नआउञ्‍जेलसम्म तिमीहरू यहाँबाट जान पाउनेछैनौ । 16 तिमीहरूमध्ये कोही एक जना गएर तिनलाई लिएर आऊ । तिमीहरूको वचन सत्य छ कि छैन भनेर जाँच गर्नको लागि तिमीहरू झ्यालखानामा हालिन्छौ ।” 17 तिनले तिनीहरू सबैलाई तिन दिनसम्म कैदखानामा राखे । 18 तेस्रो दिनमा याकूबले तिनीहरूलाई भने, “यसो गर, र तिमीहरू बाँच्नेछौ किनकि म परमेश्‍वरदेखि डराउँछु । 19 तिमीहरू इमानदार मानिस हौ भने एक जनालाई यही झ्यालखानामा छोड, र तिमीहरूचाहिँ जाओ । तिमीहरूका परिवारहरूका लागि आफूसित अनाज पनि लिएर जाओ । 20 तिमीहरूका कान्छा भाइ मकहाँ लिएर आओ र तिमीहरूको कुरा साँचो ठहरिनेछ अनि तिमीहरू मर्नेछैनौ ।” त्यसैले तिनीहरूले त्यसै गरे । 21 तिनीहरूले एक-अर्कालाई भने, “हाम्रा भाइको सम्बन्धमा हामी साँच्‍चै दोषी छौँ किनकि तिनले हामीसित बिन्ती गर्दा तिनको व्याकुलता हामीले देख्यौँ तापनि हामीले तिनको कुरा सुनेनौँ । त्यसैले यो व्याकुलता हामीमाथि आइपरेको हो ।” 22 रूबेनले तिनीहरूलाई जवाफ दिए, “'त्यस केटोको विरुद्धमा पाप नगर' भनेर के मैले तिमीहरूलाई भनेको थिइनँ र? तर तिमीहरूले मेरो कुरा सुनेनौँ । अब हामीले त्यसको रगतको बदला भोग्‍नुपर्छ । 23 योसेफले तिनीहरूका कुरा बुझे भनी तिनीहरूले थाहा पाएनन् किनकि तिनीहरूका बिचमा अर्थ खोल्ने व्यक्ति थियो । 24 तिनी तिनीहरूबाट एकातिर गई रोए । तिनीहरूकहाँ फर्केर आई तिनले तिनीहरूसित कुराकानी गरे । तिनले तिनीहरूका बिचबाट शिमियोनलाई लिएर तिनीहरूकै आँखाका सामु तिनलाई बाँधे । 25 त्यसपछि योसेफले आफ्ना दाजुहरूका झोलाहरू अनाजले भरी हरेकको रुपियाँ-पैसा उसकै बोराभित्र हाल्न र यात्राको लागि सरसामानको बन्दोवस्त गरिदिन आफ्ना नोकरहरूलाई आज्ञा गरे । 26 आफ्ना गधाहरूमा अनाज लादेर तिनका दाजुहरू त्यहाँबाट प्रस्थान गरे । 27 विश्राम स्थलमा आफ्नो गधालाई दाना दिनलाई बोरा खोल्दा एक जनाले आफ्नो रुपियाँ-पैसा देखे । यो तिनको बोराको मुखैमा थियो । 28 तिनले आफ्ना दाजुभाइहरुलाई भने, “मेरो रुपियाँ-पैसा त फिर्ता गरिएको रहेछ । हेर त, यो त मेरै बोराभित्र छ ।” तिनीहरूको हंसले ठाउँ छाड्यो । तिनीहरू डरले काम्दै यसो भने, “परमेश्‍वरले यो हामीलाई के गर्नुभएको?” 29 तिनीहरू कनानमा आफ्ना पिता याकूबकहाँ फर्केर तिनीहरूमाथि आइपरेका सबै कुरा बताइदिए । तिनीहरूले भने, 30 “त्यस देशका मालिकले हामीसित कठोरतापूर्वक बोले र हामी त्यहाँ जासुस भएर गएका थियौँ भनी ठाने । 31 हामीले तिनलाई भन्यौँ, 'हामी इमानदार मानिसहरू हौँ । हामी जासुस होइनौँ । 32 हामी बार्‍ह जना दाजुभाइ छौँ, र एउटै पिताका छोराहरू हौँ । एक जना अब जीवित छैन र कान्छोचाहिँ अहिले कनानमा हाम्रा पितासितै छन् ।' 33 त्यस देशका मालिकले हामीलाई भने, 'यसैद्वारा तिमीहरू इमानदार मानिस हौ कि होइनौ भनेर म थाहा पाउनेछु । तिमीहरूमध्ये एक जना यहीँ बस, अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर आफ्नो बाटो लाग । 34 तिमीहरूका कान्छो भाइ मकहाँ लिएर आओ । तब तिमीहरू जासुस नभई इमानदार मानिस रहेछौ भनी मैले थाहा पाउनेछु । त्यसपछि म तिमीहरूका दाजुलाई छाडिदिनेछु र तिमीहरू यस देशमा व्यापार गरेर बस' ।” 35 तिनीहरूले आफ्ना बोराहरू खोल्दा हरेकको बोराभित्र चाँदीको पोको रहेछ । तिनीहरू र तिनीहरूका पिताले चाँदीको पोको देखेपछि तिनीहरू डराए । तिनीहरूका पिता 36 याकूबले तिनीहरूलाई भने, “तिमीहरूले मबाट मेरा सन्तानहरू खोसेर मलाई शोकित तुल्याएका छौ । योसेफ अब जीवित छैन, शिमियोन पनि छैन र तिमीहरूले बेन्यामीन पनि मबाट लैजानेछौ । यी सबै कुरा मेरो विरुद्धमा छन् ।” 37 रूबनले आफ्ना पितालाई यसो भने, “मैले बेन्यामीन तपाईंकहाँ फर्काएर ल्याइनँ भने तपाईंले मेरा दुई छोरालाई मार्न सक्‍नुहुन्छ । तिनलाई मेरो जिम्मामा सुम्पिदिनुस्, र म तिनलाई फेरि तपाईंकहाँ ल्याउनेछु ।” 38 याकूबले भने, “मेरो छोरो तिमीहरूसितै तल जानेछैन । किनकि तिनका दाजु मरिसके र तिनी एक्लै छन् । तिमीहरू जाने बाटोमा तिनीमाथि कुनै खतरा आइपर्‍यो भने तिमीहरूले मेरो फुलेको कपाललाई शोकसँगै पातालमा पुर्‍याउनेछौ ।”