3
 1 हेर, सर्वशक्तिमान् परमप्रभुले यरूशलेम र यहूदाबाट, टेवा र लट्टी: अर्थात् रोटीको सारा आफुर्ती र पानीको सारा आपुर्ती,   2 वीर मानिसहरू र योद्धाहरू, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्नेहरू र धर्मगुरुहरू,   3 पचास जनाका कप्तानहरू र आदरणिय नागरिक, सल्लाहकारहरू, सिपालु कारीगरहरू र निपुण जादूगरहरू हटाउन लाग्नुभएको छ ।   4 “युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरूको बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन् ।   5 हरेक मानिस एउटाले अर्कोलाई, हरेक आफ्नै छिमेकीद्वरा मानिसहरूले अत्याचार गर्नेछन् । बालकले वृद्धको अपमान गर्नेछ र तुच्छले आदरणियलाई चुनौति दिनेछ ।   6 एक जना मानिसले आफ्नै बुबाको घरमा आफ्नै दाजुलाई समातेर यसो भन्ने छ, 'तिमीसँग कोट छ । हाम्रो शासक होऊ, र यो विनाश जिम्मा तिमीले लेऊ ।'   7 त्यो दिनमा ऊ चिच्याउनेछ र भन्नेछ, 'म निको पार्ने हुनेछैन । मसँग रोटी वा लुगा छैन । तिमीहरूले मलाई मानिसहरूका शासक बनाउनेछैनौ' ।”   8 किनकि यरूशलेमले ठेस खाएको छ र यहूदा ढलेको छ, किनभने तिनीहरूका बोलिवचन र कामहरू परमप्रभुको विरुद्धमा छन्, उहाँको महिमाको दृष्टिको विरोध गर्छन् ।   9 तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्ना पाप भन्नेछन् । तिनीहरूले त्यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्कार ! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।   10 धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्ना कामहरूका फल खानेछन् ।   11 दुष्टलाई धिक्कार ! उसलाई खराब हुनेछ, किनकि उहाँको हातको बदला उसैमाथि पर्नेछ ।   12 मेरा मानिसहरू—बालबालिका तिनीहरूका अत्याचारी हुन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन् । मेरा मानिसहरू, तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् र तेरा मार्ग कता जाने भन्ने कुरा नै अलमलमा पार्नेछन् ।   13 दोष लगाउनलाई परमप्रभु खडा हुनुहुन्छ । मानिसहरूलाई दोष लगाउन उहाँ खडा हुनुहुन्छ ।   14 आफ्ना मानिसहरूका धर्मगुरुहरू र तिनीहरूका अगुवाहरू विरुद्ध परमप्रभु न्याय लिएर आउनुहुनेछः “तिमीहरूले दाखबारी विनाश पारेका छौ । गरीबलाई लुटेको माल तिमीहरूका घरहरूमा छन् ।   15 तिमीहरूले मेरा मानिसहरूलाई किन कुल्चन्छौ र गरिबहरूको अनुहारहरू किन पिस्छौ?” यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।   16 परमप्रभु भन्नुहुन्छ, सियोनकी छोरीहरू घमण्डी छन्, तिनीहरू मुण्टो ठाडो पार्दै, चञ्चले आँखाले, हिंड्दा छोटो-छोटो पाइला सारेर, तिनीहरूका गोडामा भएका पाउजुका छिन्छिन् आवाज निकाल्दै हिंड्छन् ।   17 यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै-घाउ पार्नुहुनेछ, र परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ ।   18 त्यो दिन परमप्रभुले तिनीहरूका सुन्दर पाउजुहरू, शिरबन्दीहरू, चन्द्रहारहरू,   19 कुण्डलहरू, बालाहरू, झुम्काहरू,   20 शिर ढाक्नेहरू, कल्लीहरू, पटुकाहरू, अत्तरदानीहरू, जन्तरहरू,   21 औंठीहरू, नत्थहरू,   22 चाडका वस्त्रहरू, पछ्यौराहरू, घुम्टोहरू, हाते-ब्यागहरू,   23 हाते-ऐनाहरू, मसिनो मलमल, शिरफुलहरू र मजेत्रोहरू हटाउनुहुनेछ ।   24 सुगन्धित अत्तरको सट्टामा दूर्गन्ध हुनेछ । अनि पटुकाको सट्टामा डोरी हुनेछ । राम्ररी कोरेको कपालको सट्टामा मुडुलो हुनेछ । अनि पोशाकको सट्टामा भाङ्ग्राको लुगा हुनेछ । र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ ।   25 तेरा मानिसहरू तरवारले मारिनेछन् र तेरा बलिया मानिसहरू युद्धमा ढल्नेछन् ।   26 यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्नेछ ।