4
यो परमप्रभुको घोषणा हो, “ए इस्राएल, तँ फर्किस् भने तँ मतिरै फर्किनुपर्छ । तैंले मेरो सामुबाट घिनलाग्दा वस्तुहरू हटाइस् र फेरि मबाट तर्केर गइनस् भने, 'परमप्रभुको नाउँमा' भनेर तैंले शपथ खाँदा तँ सत्य, न्यायी र धर्मी हुनुपर्छ। तब जाति-जातिहरू उहाँमा आशिषित हुनेछन्, र उहाँलाई नै तिनीहरूले महिमा दिनेछन् ।” यहूदा र यरूशलेममा भएका हरेक व्यक्तिलाई परमप्रभु यसो भन्‍नुहुन्छ, ‘तिमीहरूको खेत जोत, र काँडाहरूका बिचमा बीउ नछर । हे यहूदाका मानसिहरू र यरूशलेमका बासिन्दाहरू हो, परमप्रभुको निम्ति आफ्नो खतना गर, र तिमीहरूको हृदय छोप्‍ने छाला हटाओ, नत्रता तिमीहरूका कार्यको दुष्‍टताको कारणले कसैले निभाउन नसक्‍ने गरी बल्नेछ, मेरो क्रोध आगोझैं दन्कनेछ । यहूदामा कराओ र यरूशलेममा सुनियोस् । यसो भन, 'देशमा तुरही फुक ।' यसो भनेर घोषणा गर, 'सँगैसँगै भेला होओ । हामी किल्लाबन्दी गरिएका सहरहरूमा जाऔं ।' सङ्केत दिने झण्डा उठाओ र त्यसलाई सियोनतर्फ औंल्याओ, र सुरक्षाको लागि दौड । नबस, किनकि म उत्तरबाट ठुलो विनाश र विपत्ति ल्याउँदैछु । आफ्नो झाडिबाट सिंह बाहिर आउँदैछ, र जाति-जातिहरूलाई नष्‍ट पार्ने व्यक्ति प्रस्थान गरिसकेको छ । तिमीहरूको देशमा त्रास ल्याउन, तिमीहरूका सहरहरूलाई कोही नबस्‍ने गरी भग्‍नावशेषमा परिणत गर्न त्यो आफ्नो ठाउँ छाडेर आउँदैछ । यही कारणले गर्दा, आफैलाई भाङ्ग्राले बेर, विलाप गर र रोओ । किनकि परमप्रभुको रिसको शक्ति हामीबाट तर्केर गएको छैन । यो परमप्रभुको घोषणा हो, “त्यस दिन राजा र तिनका अधिकारीहरूका हृदय काम्नेछन् । पुजारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू त्रसित हुनेछन् ।” 10 त्यसैले मैले भनें, “हाय, परमप्रभु परमेश्‍वर, 'तिमीहरूका लागि शान्ति हुनेछ' भनेर निश्‍चय नै तपाईंले यी मानिस र यरूशलेमलाई पूर्णतः धोका दिनुभएको छ । तापनि तरवारले तिनीहरूको जीवनको विरुद्धमा प्रहार गर्दैछ ।” 11 त्यस बेला यरूशलेम र यस जातिको विषयमा यसो भनिनेछ, “मरुभूमिका मैदानहरूबाट आएको एउटा पोल्ने बतासले मेरो मानिसहरूका छोरीकहाँ आफ्नो मार्ग बनाउँछ । यसले तिनीहरूलाई निफन्‍ने वा शुद्ध पार्ने छैन । 12 मेरो आज्ञामा त्योभन्दा अझै प्रचण्ड बतास आउनेछ, र अब म तिनीहरूको विरुद्धमा दण्डाज्ञा ल्याउनेछु । 13 हेर, बादलले झैं उहाँले आक्रमण गर्दै हुनुहुन्छ, र उहाँका रथहरू आँधीजस्ता छन् । उहाँका घोडाहरू गरुडहरूभन्दा छिटो कुद्छन् । हामीलाई धिक्‍कार छ, किनकि हामी सर्वनाश हुनेछौं । 14 ए यरूशलेम, दुष्‍टताबाट आफ्‍नो हृदय शुद्ध पार् जसले गर्दा तँ बाँच्‍न सक्‍छस् । तेरा गहिरा-गहिरा विचारहरू कहिलेसम्म कसरी पाप गर्ने भन्‍ने विषयमा हुनेछ ? 15 दानबाट एउटा आवाजले खबर ल्याउँदैछ, र एफ्राइमका पर्वतहरूबाट आउँदो विपत्ति सुनिंदैछ । 16 जाति-जातिहरूलाई यस विषयमा सोच्न लगाः हेर्, यहूदाका सहरहरूको विरुद्धमा युद्धको हल्‍ला मच्‍चाउन टाढाको देशबाट घेरा हाल्नेहरू आउँदैछन् भनी यरूशलेमलाई सुचना गर् । 17 तिनीहरू खनजोत गरिएको बारीको चारैतिर रुँग्‍नेहरूजस्तै हुनेछन्, किनकि त्यो मेरो विरुद्धमा बागी भएको छ, यो परमप्रभुको घोषणा हो, 18 र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ । 19 ए मेरो हृदय, मेरो हृदय! म आफ्‍नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु । 20 विपत्तिपछि विपत्ति आउनेछ । किनकि सारा देश भग्‍नावशेष हुन्छ । अकस्मात् मेरा पालहरू अनि मेरा पर्दाहरू एकै क्षणमा नष्‍ट पारिए । 21 मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने ? के मैले तुरहीको आवाजलाई सुन्‍नेछु ? 22 मेरो जातिको मूर्खताको कारणले तिनीहरूले मलाई चिन्दैनन् । तिनीहरू निर्बुद्धी मानिसहरू हुन्, र तिनीहरूको समझशक्ति छैन । तिनीहरूमा दुष्‍ट्याइँको सिप छ, तर भलाइ गर्न जान्दैनन् । 23 मैले देशलाई हेरें। हेर, यो आकारहीन र शून्य थियो । किनकि आकाशमण्डलको लागि कुनै ज्योति थिएन । 24 मैले पर्वतहरूलाई हेरें । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए । 25 मैले हेरें । हेर्, त्यहाँ कोही थिएन, र आकाशका सबै चरा उडेर भागेका थिए । 26 मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए । 27 परमप्रभु यसो भन्‍नुहुन्छ, “सारा देश ध्वस्त हुनेछ, तर म यसलाई पूर्ण रूपमा नष्‍ट पार्दिनँ । 28 यसकारण पृथ्वीले शोक गर्नेछ, र माथि आकाशमण्डल अँध्यारो हुनेछ । किनकि मैले आफ्‍नो मनको कुरा घोषणा गरेको छु । म त्यसलाई रोक्दिनँ । त्यसलाई कार्यान्वयन गर्नदेखि म तर्कन्‍नँ । 29 घोडचढीहरू र काँड बोकेका धनुर्धारीहरूको आवाज सुनेर हरेक सहर भाग्‍नेछ । तिनीहरू जङ्गलभित्र दौडनेछन् । हरेक सहर चट्टानका ठाउँहरूमा उक्लनेछ । सहरहरू त्यागिने छन्, किनकि तिनमा बसोबास गर्ने कोही हुनेछैन । 30 अब तँ उजाड पारिएकी छेस्, तब तँ के गर्नेछेस् ? तैंले रातो पोशाक पहिरिने, सुनका गरगहना लगाउने र तेरा आँखा गाजले ठुला बनाउने गरे तापनि तँसित कामवासनामा फसेका पुरुषहरूले नै अब तँलाई इन्कार गर्छन् । बरु, तिनीहरूले तेरो जीवन लिन खोज्दैछन् । 31 त्यसैले म पीडाको आवाज, पहिलो बच्‍चाको जन्ममा हुने प्रसव-वेदना र सियोनकी छोरीको चिच्‍याहट सुन्‍दैछु । त्यसले स्वाँ-स्वाँ गर्दै सास फेर्दैछे । त्यसले आफ्ना हात फैलाउँछे, 'मलाई धिक्‍कार छ! यी हत्याराहरूको कारणले गर्दा म मूर्छा परिरहेकी छु ।”