13
परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा र एउटा सुतीको पटुका किन्, र यसलाई तेरो कम्मरको चारैतिर बाँध, तर त्यसलाई पहिले पानीमा नभिजा ।” परमप्रभुले निर्देशन दिनुभएझैं मैले एउटा पटुका किनें र त्यसलाई मेरो कम्मरको चारैतिर बह्रें । तब दोस्रो पटक परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “तैंले किनेको पटुका जुन तेरो कम्मरको चारैतिर बाँधिएको छ, त्यसलाई निकाल्, र उठ र परातमा जा । त्यहाँ चट्टानको धाँदोमा त्यसलाई लुका ।” त्यसैले जसरी परमप्रभुले मलाई आज्ञा दिनुभएको थियो त्‍यसरी नै म गएँ र त्यसलाई परातमा लुकाएँ । धेरै दिनपछि परमप्रभुले मलाई भन्‍नुभयो, “खडा हो र परातमा फर्केर जा । मैले तँलाई लुकाउन भनेको त्यो पटुका लिएर आइज ।” त्यसैले म परातमा फर्केर गएँ, र मैले लुकाएको ठाउँबाट त्यसलाई खनेर झिकेँ, र हेर, त्‍यो त नष्‍ट भएको र पूर्ण रूपमा बेकम्मा भएको थियो । तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु । 10 मेरो वचन सुन्‍न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिंड्ने, अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्‍ट जाति त्यही पटुकाजस्तै हुनेछ, जसको कुनै काम छैन । 11 जसरी एउटा पटुका कसैको कम्मरमा कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो जाति हुन, मेरो नाउँ राख्‍न, मलाई इज्‍जत, प्रशंसा र आदर गर्न ममा कसिन लगाएको छु, यो परमप्रभुको घोषणा हो । तर तिनीहरूले मेरो कुरा सुन्दैनन् । 12 त्यसैले तैंले यो वचन तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हरेक मशक दाखमद्यले भरिनेछ ।' तिनीहरूले तँलाई भन्‍नेछन्, 'हरेक मशक दाखमद्यले भरिनेछ भनेर के हामीलाई थाहा छैन र ?' 13 त्यसैले तिनीहरूलाई भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर, यस देशको हरेक बासिन्दा अर्थात् दाऊदको सिंहासनमा बस्‍ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दालाई मैले पियक्‍कडपनले भर्न लागेको छु । 14 तब प्रत्‍येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्‍ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ ।' 15 सुन, र ध्यान देओ । अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो । 16 परमप्रभु तिमीहरूका परमेश्‍वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ । 17 त्यसैले तिमीहरूले सुनेनौ भने, तिमीहरूको अहङ्कारको कारणले म एक्लै रुनेछु । निश्‍चय नै म रुनेछु, र मेरा आँखाबाट आँसुका धारा बग्‍नेछ, किनकि परमप्रभुको बगाल कैदमा लगिएको छ । 18 “राजा र राजमातालाई भन्, 'आ-आफ्नो सिंहासनबाट ओर्लेर तल आओ, किनकि तिमीहरूका गौरवशाली मुकुटहरू तिमीहरूका शिरबाट खसेका छन् ।' 19 नेगेवका सहरहरू थुनिने छन् । तिनलाई खोल्ने कोही हुनेछैन । सारा यहूदा कैदमा लगिनेछन् । पूर्ण रूपमा कैदमा लगिनेछन् । 20 आफ्ना आँखा उठाओ र उत्तरबाट आइरहेकाहरूलाई हेर् । उहाँले तँलाई दिनुभएको बगाल, तेरो लागि साह्रै सुन्दर बगाल कहाँ छ ? 21 तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्‍वरले तँमाथि राख्‍नुहुँदा तैंले के भन्‍नेछस् ? के यी एउटी स्‍त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्‍ने पीडाको थालनी होइन र ? 22 तब तैंले आफ्नो हृदयमा भन्लास्, 'यी कुरा ममाथि किन आइरहेका छन् ?' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको छ, र तँलाई कुव्यवहार गरिएको छ । 23 के कूशका मानिसहरूले आफ्‍नो छालाको रङ बद्लन सक्छन् र, वा चितुवाले आफ्नो छालाको थोप्ला बद्लन सक्छ र ? त्यसो हो भने, दुष्‍टताको निम्ति बानी परेको तैंले पनि भलाइ गर्न सक्छस् । 24 मरुभूमिको बतासमा उडाइने भुसजस्तै म तिनीहरूलाई तितर-बितर पार्नेछु । 25 मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्‍ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैंले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस् । 26 त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्‍ताङ्‍ग देखिनेछ । 27 मैले तेरो व्यभिचार, हिनहिनाइ, डाँडाहरू र मैदानहरूमा भएको तेरो वेश्यावृत्तिको दुष्‍टता देखेको छु, र यी घृणित कुराहरू मैले देखेको छु । ए यरूशलेम, तँलाई धिक्‍कार! तँलाई फेरि शुद्ध हुन कति समय लाग्‍नेछ ?”