17
“यहूदाको पाप हिराको निब भएको फलामको कलमले लेखिएको छ । त्‍यसलाई तिनीहरूका हृदयका पाटी र तिनका वेदीहरूका सिङहरूमा कुँदिएको छ । तिनीहरूका बालबालिकाले तिनीहरूका वेदीहरू र तिनीहरूका अशेराका खम्बाहरूलाई सम्झन्छन्, जुन झ्याम्म परेका रुखहरूका छेउमा र अग्ला पहाडहरूमा थिए । आफ्‍ना सबै इलाकामा तिमीहरूले गरेका पापको कारणले तिमीहरूका अग्ला ठाउँहरूसँगै खुला देशमा भएको मेरो पर्वत र तिमीहरूका धन-सम्पत्ति र तिमीहरूका सबै खजाना म लुटको मालको रूपमा दिनेछु । मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले गुमाउने छौ । तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्‍ना शत्रुहरूको दास तुल्याउनेछु, किनकि तिमीहरूले मेरो क्रोधमा आगो सल्काएका छौ, जुन सदासर्वदा बल्‍नेछ ।” परमप्रभु भन्‍नुहुन्छ, “मानव-जातिमा भरोसा गर्ने व्यक्ति श्रापित होस् । त्यसले शरीरलाई आफ्नो शक्ति सम्झन्छ, तर आफ्नो हृदय परमप्रभुबाट टाढा लैजान्छ । त्यो अराबाको पोथ्रोझैं हुनेछ, र त्यसले कुनै असल कुरो आइरहेको देख्‍ने छैन । त्यो बासिन्दा नभएको उजाडस्थान, सुख्‍खा भूमिका चट्टानहरूमा बस्‍नेछ । तर परमप्रभुमा भरोस गर्ने व्यक्ति धन्यको हो, किनकि परमप्रभु नै त्यसको दृढताको कारण हुनुहुन्छ । त्यो पानीको छेउमा रोपिएको बिरुवाजस्तै हुनेछ । यसका जरा खोलाको किनारमा फैलिएको हुनेछन् । जब ताप आउँछ तब त्‍यो डराउनेछैन, किनकि यसका पात सधैं हरिया हुन्छन् । खडेरीको वर्षमा यो चिन्तित हुँदैन, र यसले फल फलाउन छोड्‍दैन । कुनै पनि कुराभन्दा हृदय बढी छली हुन्छ । यो रोगले ग्रस्त छ । यसलाई कसले बुझ्‍न सक्छ र ? 10 मनको खोजी गर्ने, हृदयको जाँच गर्ने परमप्रभु म नै हुँ । हरेक व्यक्तिको आफ्नो चालअनुसार, त्यसका कामहरूको फलअनुसार म त्यसलाई इनाम दिन्छु । 11 तित्रोले आफूले नपारेको अण्डा ओथ्रने काम गर्छ । कोही मानिस अन्यायपूर्वक धनी बन्‍न सक्छ, तर त्‍यसका आधा उमेर सकिन्‍छन् तब ती धनले त्यसलाई छाड्नेछन्, र अन्त्यमा त्यो मूर्ख हुनेछ ।” 12 सुरुदेखि नै उच्‍च पारिएको हाम्रो मन्दिरको ठाउँ एउटा महिमित सिंहासन हो । 13 परमप्रभु नै इस्राएलको आशा हुनुहुन्छ । तपाईंलाई त्याग्‍नेहरू सबै लाजमा पर्नेछन् । देशमा तपाईंबाट तर्केर जानेहरू धुलोमा लेखिनेछन्, किनकि तिनीहरूले परमप्रभु, जिउँदो पानीको मूललाई त्यागेका छन् । 14 हे परमप्रभु, मलाई निको पार्नुहोस्, र म निको हुनेछु । मलाई छुटकारा दिनुहोस्, र मैले छुटकारा पाउनेछु । किनकि तपाईं नै मेरो प्रशंसाको गीत हुनुहुन्छ । 15 हेर्नुहोस्, तिनीहरू मलाई यसो भन्दैछन्, 'परमप्रभुको वचन कहाँ छ ? त्‍यो आओस् ।' 16 मेरो बारेमा, म तपाईंको अनुसरण गरेर गोठालो हुनदेखि भागेर म गइन । मैले विपत्तिको समयको प्रतीक्षा गरिनँ । मेरो जिब्रोबाट निस्केको घोषणाहरू तपाईं जान्‍नुहुन्छ । ती तपाईंकै उपस्थितिमा गरिएका थिए । 17 मेरो लागि त्रास नबन्‍नुहोस् । सङ्कष्‍टको दिनमा तपाईं नै मेरो शरणस्थान हुनुहुन्छ । 18 मेरो पिछा गर्नेहरू लाजमा परून्, तर मलाई लज्‍जित हुन नदिनुहोस् । तिनीहरू त्रासमा परून्, तर मलाई त्रासमा पर्न नदिनुहोस् । तिनीहरूको विरुद्धमा विपत्तिको दिन पठाउनुहोस्, र तिनीहरूलाई विनाशको दोब्बर भागले टुक्रा-टुक्रा पार्नुहोस् ।” 19 परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा र मानिसहरूका मूल ढोकामा खडा हो, जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् र जहाँबाट तिनीहरू बाहिर निस्कन्छन् । त्यसपछि यरूशलेमका अन्य सबै ढोकामा खडा हो । 20 तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन । 21 परमप्रभु यसो भन्‍नुहुन्छः आफ्‍नो जीवनको निम्‍ति होसियार होओ, र यरूशलेमका ढोकाहरूमा ल्याउन शबाथ-दिनमा भारी नबोक । 22 शबाथ-दिनमा आफ्‍ना घरबाट भारी बोकेर बाहिर नल्याओ । मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेझैं, शबाथ-दिनमा कुनै काम नगर्नू, तर त्यसलाई अलग गर्नू ।'” 23 तर तिनीहरूले सुनेनन् वा ध्यानै दिएनन् । तिनीहरूले मेरा कुरा सुन्‍न नसकून् न त अनुशासनलाई स्वीकार गरून् भनेर तिनीहरू अटेरी भए । 24 यो परमप्रभुको घोषणा हो, तिमीहरूले साँच्‍चै मेरो कुरा सुन्यौ र शबाथ-दिनमा यस सहरका ढोकाहरूसम्म भारी बोकेर ल्‍याएनौ तर शबाथ-दिनलाई परमप्रभुको निम्ति अलग गर्‍यौ र त्‍यसमा कुनै काम गरेनौ भने, 25 राजाहरू, राजकुमारहरू, यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, तिनीहरूका अगुवाहरू र दाऊदको सिंहासनमा बस्‍नेहरू रथहरू र घोडाहरूमा चढेर यस सहरका ढोकाहरूमा आउनेछन्, अनि यो सहरमा सदासर्वदा मानिसको बसोबास हुनेछ । 26 तिनीहरू यहूदाका सहरहरूबाट, यरूशलेमका चारैतिरबाट, बेन्यामीन इलाका र तराइबाट, पहाडहरूबाट र नेगेवबाट आउनेछन्, र तिनीहरूले होमबलि र बलिदानहरू, अन्‍नबलि र धुप, धन्यवादका बलिहरू परमप्रभुको मन्दिरमा ल्याउनेछन् । 27 तर तिमीहरूले मेरो कुरा सुनेनौ, शबाथ-दिनलाई अलग गरेनौ र त्यस दिन गर्‍हौँ भारी नबोक भन्‍दा मानेनौ र यरूशलेमका ढोकाहरूभित्र प्रवेश गर्‍यौ भने, तब म यसका ढोकाहरूमा आगो सल्काउनेछु, र त्‍यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ, र त्‍यसलाई निभाउन सकिंदैन ।”