27
यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो । परमप्रभुले मलाई यसो भन्‍नुभयो, “आफ्नो निम्ति डोरीहरू र एउटा जुवा बना । ती तेरो घाँटीमा बाँध् । तब तिनलाई एदोमका राजा, मोआबका राजा, अम्मोनका मानिसहरूका राजा, टुरोसका राजा र सीदोनका राजाकहाँ पठा । यहूदाका राजा सिदकियाहकहाँ यरूशलेममा आउने ती राजाहरूका दूतहरूको हातद्वारा ती पठा । तिनीहरूका मालिकहरूका लागि तिनीहरूलाई आज्ञा दे र यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूले आ-आफ्ना मालिकहरूलाई यसो भन्‍नुपर्छ, 'मेरो महाशक्ति र पसारिएको पाखुराद्वारा म आफैले पृथ्वी बनाएँ । मैले पृथ्वीका मानिसहरू र जनावरहरू पनि बनाएँ, र मेरो दृष्‍टिमा ठिक लागेको जोकसैलाई म यो सुम्पिदिन्छु । त्यसैले अब म आफैले यी सबै देश मेरो दास, बेबिलोनका राजा नबूकदनेसरको हातमा दिंदैछु । साथै, त्यसको सेवा गर्नलाई जमिनका जीवित प्राणीहरू पनि म त्यसलाई दिंदैछु । किनकि उसको देशको निम्‍ति समय नआएसम्म सबै जातिले ऊ, उसको छोरो र उसको नातिको सेवा गर्नेछन् । त्यसपछि धेरै जातिहरू र महान् राजाहरूले त्यसलाई अधीन गर्नेछन् । त्‍यसैले बेबिलोनका राजा नबूकदनेसरको सेवा नगर्ने जाति वा राज्य र बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍न नमान्‍ने जोकसैलाई उसको हातद्वारा त्‍यो नष्‍ट नहुञ्जेल म तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, यो परमप्रभुको घोषणा हो । त्यसैले 'बेबिलोनका राजाको सेवा नगर्नू' भनेर तिमीहरूसँग बोलिरहने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, भूतप्रेत खेलाउनेहरू र जादुगरी गर्नेहरूको कुरा नसुन्‍नू । 10 तिमीहरूलाई आफ्नो देशबाट टाढा पठाउन भनेर तिनीहरूले तिमीहरूलाई झूटा कुराको अगमवाणी बोल्दैछन्, किनकि म तिमीहरूलाई धपाउनेछु, र तिमीहरू मर्नेछौ । 11 तर बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍ने र उसको सेवा गर्ने जातिलाई चाहिं आफ्‍नै देशमा विश्राम गर्न म दिनेछु, यो परमप्रभुको घोषणा हो, र तिनीहरूले त्‍यसको खनजोत गर्नेछन्, र त्‍यहाँ आफ्ना घरहरू बनाउनेछन्' ।” 12 त्यसैले यहूदाका राजा सिदकियाहसित मैले बोलें र तिनलाई यो सन्देश दिएँ, “आफ्‍नो काँधमा बेबिलोनका राजाको जुवा थाप र ऊ र उसका मानिसहरूको सेवा गर, अनि तिमी बाँच्नेछौ । 13 तिमी किन मर्ने—तिमी र तिम्रा मानिसहरू तरवार, अनिकाल र विपत्तिले किन मर्ने, जसरी बेबिलोनका राजाको सेवा गर्न इन्कार गर्ने जातिको विषयमा मैले घोषणा गरेको छु ? 14 ती अगमवक्ताहरूको वचन नसुन जसले तिमीसित बोल्‍छन् र यसो भन्‍छन्, 'बेबिलोनका राजाको सेवा नगर,' किनकि तिनीहरूले तिमीलाई झूटो कुराको अगमवाणी बोल्दैछन् । 15 ‘किनकि यो परमप्रभुको घोषणा हो, मैले तिनीहरूलाई पठाएको छैनँ, किनकि तिनीहरूले मेरो नाउँमा झूटा कुरो अगमवाणी बोल्दैछन् जसको कारणले म तँलाई धपाउनेछु, अनि तिमी र तिम्रो निम्‍ति अगमवाणी बोलिरहने अगमवक्ताहरू दुवै मर्नेछौ' ।” 16 मैले पुजारीहरू र सबै मानिसहरूलाई यो कुरा घोषणा गरें र यसो भनें, “परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूका अगमवक्ताहरूको वचन नसुन जसले तिमीहरूका निम्‍ति अगमवाणी बोल्छन् र यसो भन्‍छन्, 'हेर, परमप्रभुको मन्दिरका सामानहरू अहिले बेबिलोनबाट फर्काइँदैछन् ।' तिनीहरूले तिमीहरूलाई झूटो कुरा अगमवाणी बोल्दै छन् । 17 तिनीहरूको कुरा नसुन्‍नू । तिमीहरूले बेबिलोनका राजाको सेवा गर्नुपर्छ र बाँच्नुपर्छ । यो सहर किन भग्‍नावशेष हुने ? 18 तिनीहरू अगमवक्ताहरू हुन्, र परमप्रभुको वचन तिनीहरूकहाँ साँच्‍चै आएको हो भने, यस मन्दिर, यहूदाका राजाको महल र यरूशलेमका सामानहरू बेबिलोनमा नलान भनेर तिनीहरूले सर्वशक्तिमान् परमप्रभुलाई बिन्ती चढाऊन् । 19 स्तम्भहरू, 'खँड्कुलो' भनेर चिनिने विशाल बाटा र यसको आधार अनि यस सहरमा बाँकी रहेका सामानहरूका बबारेमा सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ— 20 अर्थात् बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनका साथमा यहूदा र यरूशलेका सबै कुलीनहरूलाई यरूशलेमबाट कैद गरेर बेबिलोनमा लैजाँदा तिनले नलगेका समानहरू । 21 परमप्रभुको मन्दिर, यहूदाका राजाको महल र यरूशलेममा बाँकी रहेका सामानहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 22 'ती बेबिलोनमा लगिनेछन्, र ती फर्काइने दिन नआएसम्म ती त्यहीँ नै रहनेछन्, यो परमप्रभुको घोषणा हो । त्यसपछि म तिनलाई ल्याउनेछु, र तिनलाई यस ठाउँमा पुनर्स्थापित गराउनेछु' ।”