32
यहूदाका राजा सिदकियाहको दसौं वर्ष, नबूकदनेसरको अठारौं वर्षमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो । त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए । यहूदाका राजा सिदकियाहले तिनलाई थुनामा राखे र भने, “तिमी किन यसो भन्दै अगमवाणी बोल्छौ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले यस सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु, र उसले यसलाई कब्जा गर्नेछ । यहूदाका राजा सिदकियाह कल्दीहरूको हातबाट उम्कनेछैन, किनकि निश्‍चय नै ऊ बेबिलोनका राजाको हातमा दिइनेछ । उसले राजसित आमनेसामने कुरा गर्नेछ, र उसका आँखाले राजाका आँखालाई हेर्नेछन् । त्यसले सिदकियाहलाई बेबिलोनमा लानेछ, र मैले त्यससित व्यवहार नगरेसम्म ऊ त्यहीँ रहनेछ, यो यो परमप्रभुको घोषणा हो । तैंले कल्दीहरूको विरुद्धमा लडाइँ गरे तापनि तँ सफल हुनेछैनस्' ।” यर्मियाले भने, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, तेरो काका शल्लूमको छोरो हनमेल तँकहाँ आउँदैछ, र उसले यसो भन्‍नेछ, ‘अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि त्यो किन्‍ने हक तपाईंकै हो ।' परमप्रभुले घोषणा गर्नुभएझैं मेरो काको छोरा हनमेल गारदको चोकमा मकहाँ आयो, र उसले मलाई भन्‍यो, 'बेन्यामीनको इलाकामा पर्ने अनातोतमा भएको मेरो खेत किन्‍नुहोस्, किनकि यसको उत्तराधिकारको तपाईं नै हो, र त्‍यो किन्‍ने हक पनि तपाईंकै हो । आफ्नो लागि त्‍यो किन्‍नुहोस् ।' तब यो परमप्रभुकै वचन रहेछ भनी मैले थाहा पाएँ । त्यसैले मेरो काकाको छोरो हनमेलबाट अनातोतमा भएको खेत मैले किनें, र त्यसलाई चाँदीको सत्र सेकेलको दाम जोखेर दिएँ । 10 तब मैले तमसुकमा सही गरी छाप लगाएँ, र मैले यसको लागि साक्षीहरू राखेँ । मैले तराजुमा चाँदी जोखेर दिएँ । 11 आज्ञा र विधानहरूको अनुसरण गरेर मैले छाप लगाइएको र नलागाइएको तमसुक लिएँ । 12 मेरो काकाको छोरो हनमेल, तमसुकका साक्षीहरू र गारदको चोकमा बसेका सबै यहूदीका सामुन्‍ने छाप लगाइएको तमसुक मैले नेरियाहका छोरा, मसेयाहका नाति बारूकलाई दिएँ । 13 तिनीहरूकै सामु मैले बारूकलाई आज्ञा दिएँ । मैले यसो भनें, 14 “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः छाप लगाइएको र नलगाइएको तमसुकका यी दुवै प्रतिका यी कागजपत्र समात् र यिनलाई एउटा माटोको भाँडोमा हाल्‌, यसरी लामो समयसम्म ती रहनेछन् । 15 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस देशमा घरहरू, जमिनहरू र दाखबारीहरू फेरि किनिनेछन् ।” 16 नेरियाहका छोरा बारूकलाई खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई प्रार्थना चढाएँ र यसो भने, 17 “हे परमप्रभु परमेश्‍वर! हेर्नुहोस्, आफ्नो महाशक्ति र पसारिएको पाखुराद्वारा तपाईंले नै स्वर्ग र पृथ्वी सृजनुभयो । तपाईंले भन्‍नुहुने कुनै पनि कुरो गर्न तपाईंलाई कत्ति पनि कठिन हुँदैन । 18 हजारौंलाई तपाईंले करारको विश्‍वस्तता देखाउनुहुन्छ, र मानिसहरूका दोष तिनीहरूपछि तिनीहरूका छोराछोरीमाथि खन्याउनुहुन्छ । तपाईं महान् र शक्तिशाली परमेश्‍वर हुनुहुन्‍छ । सर्वशक्तिमान् परमप्रभु तपाईंको नाउँ हो । 19 तपाईं बुद्धिमा महान् र काममा शक्तिशाली हुनुहुन्छ, किनकि हरेक मानिसलाई त्यसका चाल र कामहरूको आधारमा उसलाई इनाम दिन, मानिसहरूका सबै चाल हेर्न तपाईंको दृष्‍टि खुला हुन्‍छन् । 20 मिश्रदेशमा तपाईंले चिन्ह र आश्‍चर्यहरू गर्नुभयो । आजको दिनसम्म यहाँ इस्राएलमा र सबै मानव-जातिका बिचमा तपाईंले आफ्नो नाउँ प्रसिद्ध तुल्याउनुभएको छ । 21 किनकि तपाईंले चिन्ह, आश्‍चर्य, शक्तिशाली हात, पसारिएको पाखुरा र भीषण त्रासले आफ्ना मानिस इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याउनुभयो । 22 त्यसपछि तपाईंले तिनीहरूलाई दूध र मह बग्‍ने देश दिनुभयो, जुन दिनलाई तपाईंलै तिनीहरूका पुर्खाहरूसित शपथ खानुभएको थियो । 23 त्यसैले तिनीहरू यसभित्र पसे र यसको अधिकार गरे । तर तिनीहरूको तपाईंको कुरा मानेनन् वा तपाईंको व्यवस्थाअनुसार जिएनन् । तपाईंले तिनीहरूलाई आज्ञा गर्नुभएका कुनै पनि कुरा तिनीहरूले मानेनन्, त्यसैले तपाईंले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभयो । 24 हेर्नुहोस्, यो सहर कब्जा गर्नलाई घेर-मचान सहरसम्मै आइपुगेको छ । तरवार, अनिकाल, विपत्तिको कारणले यो सहरको विरुद्धमा लडाइँ गर्ने कल्दीहरूको हातमा यसलाई दिइएको छ । किनकि जे हुनेछ भनी तपाईंले भन्‍नुभयो, त्यो हुँदैछ, र तपाईंले त्‍यो हेर्दै हुनुहुन्‍छ । 25 तब तपाईं आफैले मलाई भन्‍नुभयो, “यो सहर कल्दीहरूको हातमा दिंदै गरेको भए तापनि चाँदीको दाम तिरेर तेरो निम्‍ति एउटा खेत किन र त्‍यसको निति साक्षीहरू राख ।” 26 त्‍यसपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो, 27 “हेर्, म परमप्रभु सबै मानव-जातिका परमेश्‍वर हुँ । के कुनै कुरा मैले गर्नै नसक्‍ने कठिन छ र ? 28 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘ हेर्, यो सहरलाई कल्दीहरू र बेबिलोनका राजा नबूकदनेसरको हातमा मैले दिनै लागेको छु । उसले यो कब्जा गर्नेछ । 29 यस सहरको विरुद्धमा लडाइँ गरिरहेका कल्दीहरू आउनेछन्, र यस सहरलाई र मलाई रिस उठाउनलाई मानिसहरूले छानाहरूमा बाल देवताको पुजा गरेको र अरू देवताहरूलाई अर्घबलिहरू चढाएका घरहरूलाई समेत आगो लगाउनेछन् । 30 किनकि इस्राएल र यहूदाका मानिसहरूले आफ्‍ना युवावस्थादेखि नै मेरा आँखाकै सामु निश्‍चय नै दुष्‍ट काम गर्दै आएका मानिस भएका छन् । इस्राएलका मानिसहरूले निश्‍चय नै आफ्‍ना हातका अभ्यासहरूले मलाई चोट पुर्‍याएका छन्, यो यो परमप्रभुको घोषणा हो । 31 परमप्रभु घोषणा गर्नुहुन्छ, ‘तिनीहरूले यस सहरलाई बनाएको दिनदेखि यसले मेरो रिस र क्रोधको पाएको छ । आजको दिनसम्‍म पनि यस्‍तै भएको छ । त्यसैले म यसलाई मेरो मुहारबाट हटाउनेछु । 32 इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पुजारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्‍ट कुराहरू कारणले म त्‍यो गर्नेछु । 33 मैले तिनीहरूलाई उत्सुकतापूर्वक सिकाए तापनि तिनीहरूले आफ्ना मुहार मतिर फर्काउनुको साटो पिठिउँ फर्काएका छन् । मैले तिनीहरूलाई सिकाउने कोसिस गरें, तर सुधारलाई स्वीकार गर्न तीमध्‍ये एक जनाले पनि ध्यान दिएन । 34 मेरो नाउँद्वारा कहलाइने मन्‍दिरलाई दुषित पार्न तिनीहरूले त्यसमा आफ्‍ना घिनलाग्दा मूर्तिहरू खडा गरे । 35 मोलोखको लागि आगोमा आफ्ना छोराछोरीलाई बलि गर्न तिनीहरूले बेन-हिन्‍नोमको बेँसीमा बाल देवताको लागि अग्ला वेदीहरू बनाए । त्‍यसो गर्न मैले तिनीहरूलाई कदापि आज्ञा दिइनँ । तिनीहरूले यस्‍ता घिनलाग्दो कुरा गर्नुपर्छ र यहूदालाई पाप गर्न लगाउनुपर्छ भनेर मेरो मनमा कदापि आएन ।’ 36 त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्‍दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ । 37 हेर्, मेरो रिस, क्रोध, गर्जन र ठुलो रिसले मैले तिनीहरूलाई धपाएको हरेको देशबाट मैले तिनीहरूलाई जम्मा गर्नै लागेको छु । तिनीहरूलाई यस ठाउँमा फर्काएर ल्याउन र तिनीहरूलाई सुरक्षितसाथ बस्‍नलाई मैले तिनीहरूलाई सक्षम पार्नै लागेको छु । 38 त्यसपछि तिनीहरू मेरा मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु । 39 म तिनीहरूलाई हरेक दिन मेरो आदर गर्न एकै किसिमको हृदय र एउटा मात्र मार्ग दिनेछु, यसरी तिनीहरू र तिनीहरूपछि आउने तिनीहरूका सन्तानहरूका लागि भलो होस् । 40 तब म तिनीहरूसित एउटा अनन्त रहने करार बाँध्‍नेछु, जसअनुसार तिनीहरूको भलो गर्नदेखि म तर्कनेछैनँ । तिनीहरू कहिल्यै मबाट तर्केर नजाऊन् भनेर म तिनीहरूका हृदयमा मेरो निम्ति आदर हाल्‍नेछु । 41 तब तिनीहरूको भलो गर्नमा म आनन्दित हुनेछु । मेरा सारा हृदय र मेरा सारा जीवनले म विश्‍वासका साथ तिनीहरूलाई यस देशमा स्थापित गर्नेछु । 42 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'जसरी मैले यी मानिसहरूमाथि यी सबै डरलाग्दा विपत्ति ल्याएको छु, त्यसरी नै मैले तिनीहरूका निम्‍ति गर्छु भनेका सबै असल कुराहरू म तिनीहरूका निम्‍ति गर्नेछु । 43 तब यस देशमा जमिनहरू किनिनेछन्, जसको विषयमा तिमीहरू भन्दैछौ, 'यो उजाड पारिएको देश हो, जसमा न त मानिस छ, न पशु छ । यसलाई कल्दीहरूको हातमा दिइएको छ ।' 44 तिनीहरूले चाँदीले जमिन किन्‍नेछन्, र मुट्ठो लेखेर छाप लगाउनेछन् । तिनीहरूले बेन्यामीनको इलाकामा, सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरू, पहाडी देशहरूका सहरहरू र तराई र नेगेवका सहरहरूमा साक्षीहरू भेला गर्नेछन् । किनकि म तिनीहरूको सुदिन फर्काउनेछु, यो परमप्रभुको घोषणा हो ।”