41
सातौँ महिनामा एलीशामाको नाति, नतन्याहको छोरो इश्माएल, जो राजकीय घरानाका थिए, तिनी राजाका दस जना अधिकारीसँगै मिस्पामा अहीकामका छोरा गदल्याहकहाँ आए । मिस्पामा तिनीहरूले सँगसँगै खानपान गरे । तर नतन्याहको छोरो इश्माएल र तिनीसित भएका दस जना मानिस उठे, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले आक्रमण गरे । इश्माएलले गदल्याहलाई मारे, जसलाई बेबिलोनका राजाले देशको गभर्नर नियुक्त गरेका थिए । त्यसपछि इश्माएलले मिस्पामा गदल्याहसित भएका सबै यहूदी र त्यहाँ भेट्टाइएका कल्दी योद्धाहरूलाई मारे । तब गदल्याह मारिएको दोस्रो दिन भएको थयो तर पनि कसैलाई थाहा थिएन । शकेम, शीलो र सामरियाबाट आ-आफ्ना दारी खौरेका, लुगा च्यातेका र शरीर चिरै-चिरा पारेका असी जना मानिस आ-आफ्ना हातमा खानाका भेटीहरू र धुप लिएर परमप्रभुको मन्दिरमा जानलाई आए । तिनीहरू रुँदै जाँदै गर्दा नतन्याहको छोरो इश्माएल मिस्पाबाट तिनीहरूलाई भेट्न निस्के । तिनीहरूसित तिनको भेट हुँदा तिनले तिनीहरूलाई भने, “अहीकामका छोरा गदल्याहकहाँ आओ ।” जब तिनीहरू सहरभित्र प्रवेश गरे, तब नतन्याहको छोरो इश्माएलले तिनीहरूको हत्या गरे, तिनी र तिनका मानिसहरूका लाशलाई एउटा खाडलमा फाले । तर तिनीहरूका बिचमा भएका दस जना यस्ता मानिस थिए जसले इश्माएललाई भने, “हामीलाई नमार्नुहोस्, किनकि हामीसित खेतमा लुकाइएका हाम्रा खाद्यपदार्थहरू अर्थात् गहूँ, जौ, तेल र मह छन् ।” त्यसैले तिनले तिनीहरू र तिनका साथीहरूलाई मारेनन् । इश्माएलले हत्या गरी जुन इनारमा ती लाशहरू फलेका थिए, त्‍यो एउटा ठुलो इनार थियो जसलाई आसा राजाले इस्राएलका राजा बाशाको विरुद्धमा सुरक्षाको निम्ति खनेका थिए । नतन्याहको छोरो इश्माएलले यसलाई लाशहरूले भरे । 10 त्यसपछि इश्माएलले मिस्पामा भएका अरू सबै मानिस, राजाका छोरीहरू र अहीकामका छोरा गदल्याहको जिम्मामा अङ्गरक्षकका कप्‍तान नबूजरदानले मिस्पामा छाडेका सबै मानिसलाई समाते । यसरी नतन्याहको छोरो इश्माएलले तिनीहरूलाई कैद गरे र सिमाना पार गरेर अम्मोनका मानिसहरूकहाँ गए । 11 तर कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानले नतन्याहको छोरो इश्माएलले ल्याएका सबै हानिको विषयमा सुने । 12 त्यसैले तिनीहरूले आफ्ना सबै मानिसलाई लिए र नतन्याहको छोरो इश्माएलको विरुद्धमा युद्ध गर्न गए । तिनीहरूले तिनलाई गिबोनको ठुलो तलाउमा फेला पारे । 13 जब इश्माएलसित भएका सबै मानिसले कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानलाई देखे, तब तिनीहरू साह्रै खुसी भए । 14 इश्माएलले मिस्पामा समातेका सबै मानिस फर्के र कारेहका छोरा योहानानकहाँ गए । 15 तर नतन्याहको छोरो इश्माएल आठ जना मानिससँगै योहानानबाट भागे । तिनी अम्मेनका मानिसहरूकहाँ गए । 16 कारेहका छोरा योहानान र तिनीसित भएका सबै सेनाका कप्‍तानले नतन्याहको छोरो इश्माएलबाट उद्धार गरिएका सबै मानिसलाई मिस्पाबाट लगे । यो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेपछिको कुरो थियो । योहानान र तिनका साथीहरूले गिबोनमा उद्धार गरिएका बलिया पुरुषहरू, योद्धाहरू, स्‍त्रीहरू, बालबालिका र नपुंसकहरूलाई लगे । 17 त्यसपछि तिनीहरू गए, र केही समय बेथलेहेम नजिकै गेरूथ-किम्हाममा बसे । 18 कल्दीहरूको कारणले तिनीहरू मिश्रदेश जाँदै थिए । तिनीहरू उनीहरूदेखि डराएका थिए, किनकि नतन्याहको छोरो इश्माएलले अहीकामका छोरा गदल्याहलाई मारेका थिए, जसलाई बेबिलोनका राजाले देशको गभर्नर बनाएका थिए ।