48
सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर मोआबलाई यसो भन्‍नुहुन्छः “नेबोलाई धिक्‍कार! किनकि यसलाई सर्वनाश पारिएको छ । कर्यातैमलाई अपमानित गरिएको छ र कब्जा गरिएको छ । त्यसका किल्लाहरू लाजमा पारिएका छन्, र भत्काइएका छन् । फेरि मोआबको आदर गरिनेछैन । हेश्बोनमा भएका त्यसका शत्रुहरूले त्यसको विरुद्धमा विनाशको षड्यन्त्र रचेको छ । तिनीहरूले भने, 'आओ र जातिको रूपमा त्यसलाई नाश पारौं । बौलाहाहरू पनि नष्‍ट हुनेछन् । तरवाले तँलाई खेद्‍नेछ ।' सुन! होरोनैमबाट क्रन्दनको सोर आइरहेको छ, जहाँ भग्‍नावशेष र ठुलो विनाश छ । मोआब नष्‍ट पारिएको छ । त्यसका बच्‍चाहरू चिच्‍च्याएको सोर सुनिन्छ । तिनीहरू रुँदै लूहीतको डाँडामा जान्छन्, किनकि विनाशको कारण होरोनैमको ओह्रालोमा क्रन्दन सुनिन्छ । भाग, आ-आफ्ना ज्यान बचाओ, र उजाड-स्थानमा पोथ्राजस्तै बन । किनकि तिमीहरूका अभ्यास र धनमा भएको तिमीहरूको भरोसाको कारण तिमीहरू समातिनेछौ । तब कमोश त्यसका पुजारीहरू र अगुवाहरूसँगै निर्वासनमा लगिनेछ । किनकि विनाशक हरेक सहरमा आउनेछ । कुनै पनि सहर उम्कनेछैन । त्यसैले बेँसी नष्‍ट हुनेछ, र मैदान सर्वनाश पारिनेछ जस्तो परमप्रभुले भन्‍नुभएको छ । मोआबलाई पखेटा देओ, किनकि निश्‍चय नै त्‍यसले उड्‍नुपर्नेछ । त्यसका सहरहरू काम नलाग्‍ने भूमि हुनेछन्, जहाँ बस्‍ने कोही हुनेछैन । 10 परमप्रभुको काम गर्नमा अल्छे कुनै पनि व्यक्ति श्रापित होस् । रगत बगाउनदेखि आफ्नो तरवारलाई रोक्‍ने कुनै व्यक्ति श्रापित होस् । 11 आफ्नो युवावस्थादेखि नै मोआबले आफूलाई सुरक्षित ठानेको छ । त्यो एउटा भाँडोदेखि अर्को भाँडोमा कहिल्यै नखन्याइएको दाखमद्यजस्तो हो । त्यसलाई कहिल्यै निर्वासनमा लगिएको छैन । त्यसकारण त्यसको स्वाद सदा स्वादिष्‍ट हुन्छ । त्यसको बास्‍ना नबदी रहन्‍छ । 12 त्यसैले हेर, यो परमप्रभु घोषणा हो, यस्ता दिनहरू आउँदैछन् जति बेला म त्यसलाई ती मानिसहरूकहाँ पठाउनेछु, जसले त्यसमाथि भाँडा घोप्ट्याउनेछन्, र त्यसका सबै घैँटा रित्त्याउनेछन्, र त्यसका गाग्राहरू चूरचूर पारेर फुटाइदिनेछन् । 13 तब जसरी आफूले भरोसा गरेको बेथेलदेखि इस्राएलको घराना लाजमा परेको थियो, त्यसै गरी मोआब कमोशदेखि लाजमा पारिनेछ । 14 तँ कसरी यसो भन्‍न सक्छस्, 'हामी सिपाही, शक्तिशाली योद्धाहरू हौं’ ? 15 मोआब सर्वनाश पारिनेछ, र यसका सहरहरू आक्रमणमा पर्नेछन् । किनकि यसका सबैभन्दा उत्तम युवाहरू हत्याको स्थानमा गएका छन् । यो महाराजको घोषणा हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो । 16 मोआबको विनाश चाँडै आउँनेछ । विपत्ति झट्टै हतारिंदैछ । 17 मोआबको वरिपरि भएका तिमीहरू सबै विलाप गर, र यसको ख्याति जान्‍नेहरू सबै यसो भन्दै कराओ, 'धिक्‍कार शक्तिशाली लट्ठीलाई! त्यो गौरवको लौरो भाँचिएको छ ।' 18 ए दीबोनकी छोरी हो, तेरो इज्‍जतदार ठाउँबाट तल झरेर आइज, र सुक्खा भुइँमा बस् । किनकि मोआबलाई नष्‍ट गर्नेले तँलाई आक्रमण गर्दैछ, जसले तेरा किल्लाबन्दी गरिएका सहरहरूलाई नष्‍ट गर्नेछ । 19 ए अरोएरमा बस्‍ने मानिसहरू हो, बाटोमा खडा होओ र हेर । भागिरहेका र उम्किरहेकाहरूला सोध, 'के भएको छ ?' 20 मोआब लाजमा परेको छ, किनकि यसलाई चूरचूर पारिएको छ । रोओ र विलाप गर! मदतको लागि गुहार! मोआब सर्वनाश पारिएको छ भनी अर्नोन नदीको किनारमा बस्‍ने मानिसहरूलाई बताओ । 21 दण्ड पहाडी इलाकाहरूमा आएको छ– होलोन, यहसाह र मेपातमाथि, 22 दीबोन, नेबो र बेथ-दिब्लातैममाथि, 23 किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि, 24 किर्योत, बोज्रा र मोआब देशका नजिक र टाढाका सबै सहरमाथि आएको छ । 25 मोआबको सिङ टुक्रा-टुक्रा पारिएको छ । यसको पाखुरा भाँचिएको छ, यो परमप्रभुको घोषणा हो । 26 त्यसलाई मत्त्याओ, किनकि त्यो परमप्रभुको विरुद्धमा अहङ्कारी भयो । मोआब आफ्नै बान्तामा लडीबडी खेलोस्, र त्यो हाँसोको पात्र बनोस् । 27 किनकि के इस्राएल तेरो लागि हाँसोको पात्र बनेको थिएन र ? के त्यसलाई चोरहरूका बिचमा पाइएको थियो ताकि तैंले त्यससित प्रायः कुरा गर्दा तैंले तेरो शिर हल्लाइस् ? 28 ए मोआबका बासिन्दाहरू हो, सहरहरूलाई छोड र चट्टानहरूमा छाउनी हाल । चट्टानको दुलोको मुखमा गुँड लगाउने ढुकुरजस्तो होओ । 29 हामीले मोआबको घमण्ड अर्थात् त्यसको अहङ्कार, त्यसको हठ, त्यसको शेखी, त्यसको आत्मगौरव र त्यसको हृदयमा भएको छलको बारेमा सुनेका छौं । 30 यो परमप्रभुको घोषणा हो, त्यसको अटेरी बोली म आफैंलाई थाहा छ, जुन त्यसका कामहरूजस्तै व्यर्थको छ । 31 त्यसैले म मोआबको निम्ति विलाप गर्नेछु, र म सारा मोआबको लागि शोकमा काराउनेछु । म कीर-हरेशेतका मानिसहरूका लागि विलाप गर्नेछु । 32 ए सिब्माका दाखको बोट हो, याजेरको लागि रोएको भन्दा म तेरो लागि बढी रुनेछु । तेरा हाँगाहरू नुनको समुद्र पार गरी याजेरसम्मे पुगे । विनाशकहरूले तेरो ग्रीष्म ऋतुको फल र तेरो दाखमद्यलाई आक्रमण गरेका छन् । 33 मोआब देश र त्‍यसका फल फलाउने रुखहरूबाट उत्सव र रमाहट खोसिएको छ । तिनीहरूका दाखको कोलबाट दाखको रस मैले बन्द गरेको छु । तिनीहरू आनन्दले कराउँदै कुल्चनेछैनन् । कुनै पनि स्‍वर आनन्दको स्‍वर हुनेछैन । 34 तिनीहरू रोएको सोर हेश्बोनबाट एलालेसम्म र सोअरदेखि होरोनैम र एग्लत-शलीशियाहसम्मै सुनिएको छ, किनकि निम्रीमको पानी सुकिसकेको छ । 35 किनकि मोआबमा आफ्ना देवताहरूलाई उच्‍च स्थानहरूमा बलिदान चढाउने र धुप बाल्नेहरू जोकसैलाई म खतम पार्नेछु, यो परमप्रभुको घोषणा हो । 36 त्यसैले मेरो हृदयले मोआबको लागि बाँसुरीझैं विलाप गर्दैछ । कीर-हरेशेतका मानिसहरूका लागि मेरो हृदयले बाँसुरीझैं विलाप गर्दैछ । तिनीहरूले कमाएका धन-सम्पत्ति नष्‍ट भएका छन् । 37 किनकि हरेक तालु खुइलेको छ, र हरेक दारी खौरिएको छ । हरेकको हात काटेर चिरिएको छ, र तिनीहरूका कम्मरको चारैतिर भाङ्ग्रा छ । 38 मोआबको हरेक समतल कौसी र मोआबका चोकहरूमा जताततै शोक छ । किनकि मैले मोआबलाई कसैले नचाहने भाँडोलाई झैं नाश पारेको छु, यो परमप्रभुको घोषणा हो । 39 त्यो कस्तो चूरचूर पारिएको छ! आफ्‍नो विलापमा तिनीहरू कसरी रुन्छन्! मोआबले लाजमा आफ्नो पिठिउँ फर्काउँछ । त्यसैले आफ्नो वरिपरि भएका सबैका लागि मोआब हाँसो र त्रासको पात्र बन्‍नेछ ।” 40 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “शत्रु मोआबमाथि आफ्नो पखेटा फैलाउँदै गरुडझैं उडेर आउनेछ । 41 किर्योत कब्जा गरिएको छ, र यसका किल्लाहरू घेरिएका छन् । किनकि त्यस दिन मोआबका सिपाहीहरूका हृदयहरू प्रसव-वेदनामा भएका स्‍त्रीहरूका हृदयझैं हुनेछन् । 42 त्यसैले मोआब पूर्ण रूपमा नष्‍ट पारिनेछ, र यो फेरि एउटा जाति रहनेछैन, किनकि परमप्रभुको विरुद्धमा यसले आफैलाई ठुलो बनायो । 43 ए मोआबका बासिन्दा हो, तँमाथि त्रास, खाडल र पासो आउँदैछन्, यो परमप्रभुको घोषणा हो । 44 त्रासको कारणले भाग्‍ने जो कोही पनि खाडलमा खस्‍नेछ, र खाडलबाट निस्केर आउने जो कोही पनि पासोमा पर्नेछ, किनकि म तिनीहरूमाथि मेरो बदलाको वर्षमा यी कुरा ल्याउनेछु, यो परमप्रभुको घोषणा हो । 45 भागेर जानेहरू ताकतविनै हेश्बोनको छायामा अडिनेछन्, किनकि हेश्बोनबाट आगो निस्कनेछ, सीहोनको बिचबाट ज्वाला आउनेछ । यसले मोआबको निधारलाई भस्म पार्नेछ, र घमण्डी मानिसहरूका शिरको थाप्लोलाई जलाइदिन्छ । 46 ए मोआब, तँलाई धिक्‍कार छ! कमोशका मानिसहरू नष्‍ट पारिएका छन्, किनकि तेरा छोराहरू कैदीको रूपमा लगिएका छन्, र तेरा छोरीहरू निर्वासनमा लगिएका छन् । 47 तर पछिल्ला दिनमा म मोआबको सुदिन फर्काइदिने छु, यो परमप्रभुको घोषणा हो । मोआबको इन्साफ यहीँ समाप्‍त हुन्छ ।