16
तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु । तिनीहरूले तिमीहरूलाई सभाघरबाट बाहिर निकाल्नेछन् । तर यस्तो समय आउँदै छ कि तिमीहरूलाई मार्ने हरेकले तिनीहरूले परमेश्‍वरको सेवा गरिरहेका छन् भनी ठान्‍नेछन् । तिनीहरूले यी कुराहरू गर्नेछन्, किनकि तिनीहरूले न त पितालाई न मलाई नै चिनेका छन् । मैले तिमीहरूलाई यी कुराहरू भनेको छु, ताकि त्यो घडी आउँदा मैले तिमीहरूलाई तिनीहरूको बारेमा भनेको कुरा तिमीहरूले सम्झन सक । मैले तिमीहरूलाई यी कुराहरू पहिले नै भनिनँ, किनकि म तिमीहरूसँगै नै थिएँ । तर अहिले म मलाई पठाउनुहुनेकहाँ जाँदै छु, तर पनि तिमीहरू कसैले पनि ‘तपाईं कहाँ जाँदै हुनुहन्छ ?’ भनी मलाई सोध्दैनौ । तर मैले तिमीहरूलाई यी कुराहरू भनेको कारण, तिमीहरूको हृदय निराशाले भरिएको छ । म तिमीहरूलाई साँचो भन्दछुः म जानु नै तिमीहरूको निम्ति असल छ । किनकि म गइनँ भने सल्लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन, तर यदि म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु । जब सल्लाहकार आउनुहुन्छ, उहाँले संसारलाई पाप र धार्मिकता र न्यायको बारेमा गलत साबित गर्नुहुनेछ– पापको बारेमा, किनभने तिनीहरूले ममा विश्‍वास गर्दैनन्; 10 धार्मिकताको बारेमा, किनकि म पिताकहाँ जाँदै छु र अब उप्रान्त तिमीहरूले मलाई देख्‍नेछैनौ; 11 अनि न्यायको बारेमा, किनकि यस संसारको शासकको न्याय गरिएको छ । 12 मैले तिमीहरूलाई धेरै कुरा भन्‍नु छ, तर तिमीहरू अहिल्यै ती कुराहरू बुझ्दैनौ । 13 तर जब उहाँ अर्थात् सत्यको आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्‍याउनुहुनेछ, किनकि उहाँ आफ्नो निम्ति बोल्नुहुनेछैन । तर उहाँले जे सुन्‍नुहुन्छ, त्यही बोल्नुहुनेछ र के हुनेछ भनी उहाँले तिमीहरूलाई बताउनुहुनेछ । 14 उहाँले मलाई महिमित तुल्याउनुहुनेछ, किनकि उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले ती तिमीहरूलाई बताउनुहुनेछ । 15 पितासँग भएका सबै थोक मेरा हुन् । यसकारण उहाँले जे मेरो हो त्यहीबाट लिनुहुन्छ, र उहाँले यो तिमीहरूलाई बताउनुहुनेछ भनी मैले भनेको हुँ । 16 अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ । 17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो ?” 18 त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्‍नुभएको ? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ ? सो हामी जान्‍दैनौ ।” 19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ ।” 20 म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्‌लिनेछ । 21 जब स्‍त्रीले जन्म दिन्छिन्, तिनी निराश हुन्छिन्, किनकि तिनको समय आएको छ, तर जब तिनले बच्‍चा जन्माउँछिन्, संसारमा एक बालक जन्मिएको छ भन्‍ने आनन्दले तिनलाई पीडाको सम्झना हुँदैन । 22 त्यसैले तिमीहरू पनि अहिले निराश हुन्छौ, तर म तिमीहरूलाई फेरि भेट्नेछु; अनि तिमीहरूको हृदय खुसी हुनेछ र तिमीहरूको आनन्द तिमीहरूबाट कसैले लैजान सक्‍नेछैन । 23 त्यस दिन तिमीहरूले मलाई कुनै पनि कुरा माग्‍नेछैनौ । साँचो साँचो म तिमीहरूलाई भन्दछु, यदि तिमीहरूले मेरो नाउँमा मेरा पितासँग कुनै थोक माग्यौ भने यो उहाँले तिमीहरूलाई दिनुहुनेछ । 24 अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ । माग र तिमीहरूले पाउनेछौ, ताकि तिमीहरूको आनन्द पूर्ण होस् । 25 मैले तिमीहरूलाई यी कुराहरू आलङ्कारिक भाषामा भनेको छु, तर मैले आलङ्कारिक भाषा नबोली तिमीहरूलाई पिताको बारेमा स्पष्‍ट रूपमा बताउने समय आउँदै छ । 26 त्यस दिन तिमीहरूले मेरो नाउँमा माग्‍नेछौ, र म तिमीहरूको निम्ति पितासँग प्रार्थना गर्नेछु भनेर म तिमीहरूलाई भन्दिनँ, 27 किनकि तिमीहरूले मलाई प्रेम गरेका हुनाले र म पिताबाट आएँ भनी तिमीहरूले विश्‍वास गरेका हुनाले पिता आफैँले तिमीहरूलाई प्रेम गर्नुहुन्छ । 28 म पिताबाट आएँ । म संसारमा आएको छु । फेरि म संसार छोड्दै छु, र म पिताकहाँ जाँदै छु ।” 29 उहाँका चेलाहरूले भने, “हेर्नुहोस्, अहिले तपाईं स्पष्‍ट रूपमा बोल्दै हुनुहुन्छ अनि तपाईंले आलङ्कारिक भाषा प्रयोग गरिरहनुभएको छैन । 30 अब हामी जान्दछौँ, कि तपाईं सबै थोक जन्‍नुहुन्छ, अनि कसैले तपाईंलाई प्रश्‍न सोध्‍नु आवश्यक छैन । त्यही कारणले हामी विश्‍वास गर्छौं, कि तपाईं परमेश्‍वरबाट आउनुभएको हो ।” 31 येशूले जवाफ दिनुभयो, “के तिमीहरू अब विश्‍वास गर्छौ ? 32 हेर, तिमीहरू छरपष्‍ट हुने अर्थात् सबै आ-आफ्नो घरतिर जाने, र मलाई एकलै छोड्ने समय आउँदै छ, । वास्तवमा त्यो समय आइसकेको छ । तरै पनि म एकलो हुन्‍नँ, किनभने पिता मसँग हुनुहुन्छ । 33 मैले तिमीहरूलाई यी कुरा भनेको छु, ताकि तिमीहरूलाई ममा शान्ति मिलोस् । संसारमा तिमीहरूलाई कष्‍ट हुन्छ, तर साहस गरः मैले संसारलाई जितेको छु ।