30
अब मभन्दा जवानहरूले मेरो ठट्टा गर्नुबाहेक अरू केही गर्दैनन् । यी जवान मानिसहरूका बुबाहरूलाई आफ्‍नो बगाल रुँग्‍ने कुकुरहरूको छेउमा काम गर्न पनि म इन्कार गर्थें । वास्तवमा तिनीहरूका बाबुहरूका हातको ताकतले, अर्थात् तन्‍देरी उमेरको बल नष्‍ट भएका मानिसहरूका ताकतले मलाई कसरी मदत गर्न सक्थ्यो र ? गरिबी र भोकले तिनीहरू दुब्‍लो थिए । उजाडस्‍थान र मरुभूमीमा अँध्‍यारोमा सुक्खा भुइँमा तिनीहरू कुटुकुटु टोक्थे । तिनीहरूले नुनिलो झार र झाडीका पातहरू उखेल्थे । झ्याउका जराहरू तिनीहरूका खानेकुरा थिए । तिनीहरू मानिसहरूका बिचबाट खेदिएका थिए, जो चिच्‍च्याउँदै चोरको पछि लागेझैं तिनीहरूको पछि लाग्थे । त्यसैले तिनीहरूले नदीका मैदानहरू, जमिन र चट्टानका गुफाहरूमा बस्‍नुपरेको थियो । झाडीहरूका बिचमा तिनीहरू गधझैं कराउँथे, र तिनीहरू झाडीमुनि एकसाथ जम्‍मा हुन्थे । तिनीहरू मूर्खहरूका छोराहरू थिए, वास्तवमा नाम नभएका मानिसहरूका छोराहरू थिए । कोर्रा लगाएर तिनीहरूलाई देशबाट लखेटियो । तर अहिले म तिनीहरूको गिल्लाको गितको विषय बनेको छु । म तिनीहरूका लागि उखान भएको छु । 10 तिनीहरू मलाई घृणा गर्छन्, र मबाट टाढा रहन्छन् । मेरो मुखमा थुक्‍नबाट तिनीहरू रोकिंदैनन् । 11 किनकि परमेश्‍वरले मेरो धनुको डोरी फुकाउनुभएको र मलाई कष्‍ट दिनुभएको छ, अनि मलाई गिल्ला गर्नेहरूले मेरो अनुहारकै सामु आफ्नो रिस पोखाउँछन् । 12 मेरो दाहिने हातमा हुल्याहाहरू खडा हुन्छन् । तिनीहरूले मलाई टाढा लखेट्छन् र मेरो विरुद्धमा आफ्‍ना घेरा-मचान बनाउँछन् । 13 तिनीहरूले मेरो मार्ग नष्‍ट गर्छन् । तिनीहरूले ममाथि विपत्ति ल्याउँछन्, र ती मानिसहरूलाई रोक्‍ने कोही छैन । 14 सहरको पर्खालमा भएको ठुलो प्वालबाट आउने फौजझैं तिनीहरू मेरो विरुद्धमा आउँछन् । विनाशको बिचमा तिनीहरू ममाथि लडिबडि खेल्छन् । 15 त्रासहरू ममाथि परेका छन् । बतासले उडाएर लगेझैं मेरो आदरलाई लगिएको छ । मेरो समृद्धि बादलझैं बितेर जान्छ । 16 अब मेरो जीवन मभित्रै सकिंदैछ । कष्‍टका धेरै दिनहरूले मलाई समातेका छन् । 17 रातमा मभित्र भएका हड्‍डीहरूले मलाई घोच्‍छन् । मलाई सताउने मेरा पीडाले आराम लिंदैनन् । 18 परमेश्‍वरको महान् शक्तिले मेरो वस्‍त्र समातेको छ । मेरो कमीजको कठालोझैं यसले मेरो चारैतिर बेर्छ । 19 उहाँले मलाई हिलोमा फाल्‍नुभएको छ । म धूलो र खरानीझैं भएको छु । 20 हे परमेश्‍वर, म तपाईंमा पुकार्छु, तर तपाईंले मलाई जवाफ दिनुहुन्‍न । म खडा हुन्छु, तर तपाईंले हेर्नु मात्र हुन्छ । 21 तपाईं बद्लिनुभएको छ र मप्रति क्रुर बन्‍नुभएको छ । आफ्नो हातको ताकतले तपाईंले मलाई सताउनुहुन्छ । 22 तपाईंले मलाई बतासमा उचाल्‍नुहुन्छ र त्‍यसले मलाई उडाउने बनाउनुहुन्छ । तपाईंले मलाई आँधीमा यताउता हुत्‍याउनुहुन्छ । 23 किनकि म जान्‍दछु, कि तपाईंले मलाई मृत्युमा पुर्‍याउनुहुन्‍छ, सबै जीवितहरूका लागि नियुक्त गरिएको घरमा लानुहुन्‍छ । 24 तापनि जब कोही लड्छ, तब के त्यसले मदतको लागि आफ्नो हात उठाउँदैन र ? के सङ्कष्‍टमा भएको कसैले पनि मदतको लागि पुकार्दैन र ? 25 कष्‍टमा भएको व्यक्तिको लागि म रोइनँ र ? खाँचोमा परेको मानिसको लागि मैले शोक गरिनँ र ? 26 जब मैले भलाइको आशा गरें, तब खराबी आयो । जब मैले ज्योतिको आशा गरें, त्‍यसको साटो अन्धकार आयो । 27 मेरो हृदय कष्‍टमा छ र यसले विश्राम लिंदैन । कष्‍टका दिनहरू ममाथि आएका छन् । 28 अन्धकारमा बसिरहेको मानिसझैं म हिंडेको छ, तर सूर्यको कारणले होइन । म सभामा खडा हुन्छु र मदतको लागि पुकार्छु । 29 म स्यालहरूको भाइ, अस्ट्रिचहरूको मित्र भएको छु । 30 मेरो छाला कालो छ, र पत्रै-पत्र भएर झर्छ । मेरा हड्‍डीहरू रापले जलेका छन् । 31 त्यसकारण मेरो वीणाले शोकका गीतहरू गाउँछ, र मेरो बाँसुरीले रुनेहरूको निम्ति गाउँछ ।