17
यो मनश्शेको (जो योसेफका जेठा छोरा थिए) कुलको भूमिको भाग थियो, माकीरका निम्ति, जो जेठा छोरा थिए र तिनी गिलादका पिता थिए । माकीरका सन्तानहरूलाई गिलाद र बाशानको भू-भाग दिइयो, किनभने माकीर योद्धा थिए । यो भू-भागलाई मनश्शेका बाँकी कुल अबीएजेर, हेलेक, अस्रीएल, शकेम, हेपेर, शमीदालाई तिनीहरूका कुलअनुसार दिइयो । मनश्शेका छोरा माकीरका छोरा गिलादला छोरा हेपेरका छोरा सलोफादको कुनै छोरा थिएन, तर छोरीहरू मात्र थिए । तिनकी छोरीहरूका नाउँ महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा थिए । तिनीहरू पुजारी एलाजार, यहोशू र अगुवाहरूकहाँ आए र भने, “परमप्रभु परमेश्‍वरले हाम्रा दाजुभाइहरूसँगै उत्तराधिकार दिनू भनी आज्ञा गर्नुभएको थियो ।” त्यसैले, परमप्रभुको आज्ञाअनुसार, तिनले ती महिलाहरूलाई तिनीहरूका बुबाका दाजुभाइहरूमाझ उत्तराधिकार दिए । गिलाद र बाशानमा मनश्शेलाई दस भाग जमिन दिइयो, जुन यर्दन पारिपट्टि छ, किनभने मनश्शेका छोरीहरूले आफ्‍ना दाजुभाइहरूसँगै उत्तराधिकार पाए । गिलादको भू-भाग मनश्शेका बाँकी कुललाई दिइयो । मनश्शेको क्षेत्र आसेरबाट मिक्मतातसम्म पुग्यो, जुन शकेमको पूर्वमा छ । त्यसको सिमाना तप्‍पूहको पानीको मुहान नजिक बसोबास गर्नेहरूकहाँसम्म दक्षिणतिर निस्क्यो । (तप्‍पूहको भू-भाग मनश्शेको थियो, तर मनश्शेको सिमानामा पर्ने तप्पूहको नगर एफ्राइम कुलको थियो ।) त्यो सिमाना कनाको खोलासम्मै तल गएर निस्क्यो । मनश्शेका नगरहरू माझका खोलाको दक्षिणतिरका यी सहरहरू एफ्राइमका थिए । मनश्शेको सिमाना खोलाको उत्तरतिर थियो र यो समुद्रमा टुङ्गिएको थियो । 10 दक्षिणतिरको भू-भाग एफ्राइमको थियो, र उत्तरतिरको भू-भाग मनश्शेको थियो; यसको सिमाना समुद्र थियो । उत्तरतिर आशेरसम्म र पूर्वतिर इस्साखारसम्म पुगेको थियो । 11 इस्साखार र आशेरमा पनि मनश्शेले बेथ-शान र यसका गाउँहरू, योबलाम र यसका गाउँहरू, डोरका बासिन्दाहरू र यसका गाउँहरू, एन्दोर र यसका गाउँहरू, तानाका बासिन्दाहरू र यसका गाउँहरू, मगिद्दोका बासिन्दाहरू र यसका गाउँहरू (र तेस्रो सहरचाहिँ नपेत हो) । 12 तैपनि मनश्शेको कुलले ती सहरहरू अधिकार गर्न सकेनन्, किनभने यस भू-भागमा कनानीहरू निरन्तर बस्दै रहे । 13 जब इस्राएलका मानिसहरू वृद्धि भए, तिनीहरूले कनानीहरूलाई बेगारी काममा लगाए, तर तिनीहरूलाई पूर्ण रूपमा धपाएनन् । 14 त्यसपछि योसेफका सन्तानहरूले यहोशूलाई यसो भने, “तपाईंले हामीलाई किन जमिन एक भाग र उत्तराधिकारको निम्ति एक अंश मात्र दिनुभएको, किनभने हामी धेरै सङ्ख्यामा भएका मानिसहरू हौँ र परमप्रभुले हामीलाई पर्याप्‍त आशिष् दिनुभएको छ?” 15 यहोशूले तिनीहरूलाई भने, “यदि तिमीहरू धेरै सङ्ख्यामा छौ भने, तिमीहरू जङ्गलतिर जाओ र परिज्‍जीहरू र रपाईहरूको भू-भागमा आफ्नो निम्ति फँडानी गर । यसो गर, किनभने एफ्राइमको पहाडी देश तिमीहरूको निम्ति साह्रै सानो छ ।” 16 योसेफका सन्तानहरूले भने, “पहाडी देश हामीलाई पर्याप्‍त हुँदैन । तर बेथ-शान र यसका गाउँहरू अनि यिजरेलको बेँसी दुवैमा बस्‍ने कनानीहरूसँग फलामका रथहरू छन् । 17 त्यपछि यहोशूले योसेफका घराना एफ्राइम र मनश्शेलाई भने, “तिमीहरू धेरै सङ्ख्यामा भएका मानिसहरू हौ र तिमीहरूसँग धेरै शक्ति छ । तिमीहरूसँग एक भाग मात्र हुनुहुँदैन । 18 पहाडी देश पनि तिमीहरूको नै हुने छ । तथापि यो जङ्गल हो, तिमीहरूले यसलाई फँडानी गर र यसलाई र यसका टाढा-टाढाको सिमानासम्म अधीन गर । तिमीहरूले कनानीहरूलाई धपाउने छौ, तथापि तिनीहरूसँग फलामका रथहरू छन् र तिनीहरू बलिया छन् ।”