लुकाले लेखेको सुसमाचार
1
धेरैले हाम्रा बिचमा घटेका र पुरा भएका यी घटनाहरूको विवरण लेख्‍ने प्रयास गरेका छन् । तिनीहरूले यी कुरा हामीलाई भर्खरै सुम्‍पिदिए, जो सुरुदेखि नै प्रत्यक्षदर्शी र वचनका सेवकहरू भएका छन् । सम्मानित थियोफिलस, त्यसैले मलाई पनि यी सबै कुराहरूलाई अनुसन्धान गरी ठिकसित क्रमबद्ध रूपमा सुरुदेखि घटेका घटनाहरूलाई लेख्‍न असल लाग्यो । त्यसैले, तपाईंलाई सिकाइएको सत्‍यताबारे यी कुराहरू तपाईंलाई थाहा होस् । यहूदाका राजा हेरोदको समयमा, त्यहाँ जकरिया नाउँ गरेका एक जना पुजारी थिए जो अबियाको कुलका थिए । उनकी पत्‍नी हारुन कुलकी छोरी थिइन् जसको नाउँ एलीशिबा थियो । परमेश्‍वरको दृष्‍टिमा तिनीहरू दुवै धर्मी थिए । तिनीहरूले परमेश्‍वरका सबै आज्ञाहरू पालना गर्दथे र निर्दोष जीवन जिउँथे । तर तिनीहरूको कुनै सन्तान थिएन, किनकि एलीशिबा बाँझी थिइन् र तिनीहरू दुवै जना वृद्ध भइसकेका थिए । एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्‍वरको उपस्थितिमा थिए । त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे । त्यसैले, उनको नाउँ पर्‍यो । 10 जब तिनी धूप बाल्दै थिए, बाहिर त्यही समयमा मानिसको पुरै भिडले प्रार्थना गरिरहेको थियो । 11 ठिक त्यसै बेला परमप्रभुका एउटा दूत उनीकहाँ देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए । 12 जब जकरियाले स्वर्गदूतलाई देखे, तब उनी साह्रै डराए र आत्तिए । 13 तर स्वर्गदूतले उनलाई भने, “जकरिया नडराऊ, किनकि तिम्रो प्रार्थनाको सुनाइ भएको छ । तिम्री पत्‍नी एलीशिबाले तिम्रो लागि एउटा छोरा जन्माउनेछिन् र तिमीले उनको नाउँ यूहन्‍ना राख्‍नेछौ । 14 तिमीमा खुसी र आनन्द हुनेछ र उनको जन्ममा धेरै मानिसहरू आनिन्दित हुनेछन् । 15 परमप्रभुको दृष्‍टिमा उनी महान् हुनेछन् र उनले दाखमद्य पिउनेछैनन् । उनी आमाको गर्भमा नै पवित्र आत्माले भरिनेछन् । 16 अनि उनले इस्राएलका धेरै मानिसहरूलाई परमप्रभु तिनीहरूका परमेश्‍वरतर्फ फर्काउनेछन् । 17 उनी एलियाको आत्माको शक्‍तिमा परमप्रभुको अगि-अगि जानेछन् । उनले बुबाहरूको हृदय आफ्ना छोराछोरीतिर फर्काउनेछन् र अनाज्ञाकारीहरूलाई बुद्धि र धार्मिकतामा हिँडाउनेछन् । उनले मानिसहरूलाई परमप्रभुको निम्ति तयार गर्नका लागि त्यसो गर्नेछन् ।” 18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने ?” किनकि म बुढो भइसकेँ र मेरी पत्‍नी पनि बुढी भइसकिन् ।” 19 तब स्वर्गदूतले जवाफ दिए र उनलाई भने, म गब्रिएल हुँ, जो परमेश्‍वरको उपस्थितिमा उभिन्‍छु । तिम्रो निम्ति बोल्न र शुभ खबर दिन मलाई पठाइएको हो ।” 20 हेर, ती कुरा हुने समयसम्म तिमी शान्त रहनेछौ र बोल्न सक्‍ने छैनौ, किनकि तिमीले मेरो वचनमा विश्‍वास गरेनौ, जुन ठिक समयमा पुरा हुनेछ ।” 21 अनि जकरियाले लामो समयसम्म मन्दिरमा समय बिताइरहेकाले मानिसहरू अचम्म मान्दै पर्खिरहेका थिए । 22 तर, जब तिनी बाहिर आए, तब उनी तिनीहरूसँग बोल्न सकेनन् र उनले मन्दिरभित्र एउटा दर्शन देखे भनी तिनीहरूले महसुस गरे । उनले तिनीहरूलाई इसारा मात्र गरे, तर बोल्न सकेनन् । 23 जब तिनको सेवाको समय समाप्‍त भयो, तब तिनी आफ्नो घरमा फर्किए । 24 ती दिनहरूपछि, तिनकी पत्‍नी एलीशिबा गर्भवती भइन् । पाँच महिनासम्म उनले यसो भन्दै आफूलाई लुकाइन् । 25 “परमप्रभु परमेश्‍वरले मेरो लागि यो गर्नुभएको छ, उहाँले ममाथि निगाह गर्नुभयो र मानिसहरूका बिचबाट मेरो निन्दा हटाउनुभयो । 26 एलीशिबा गर्भवती भएको छैठौँ महिनामा, परमेश्‍वरले गालीलको सहर नासरतमा गब्रिएल स्वर्गदूतलाई पठाउनुभयो । 27 परमेश्‍वरले तिनलाई एउटा कन्याकहाँ पठाउनुभयो जसको योसेफ भन्‍ने मानिससँग मगनी भएको थियो । तिनी दाऊदका वंशका थिए र कन्याको नाउँ मरियम थियो । 28 उनी तिनीकहाँ आए र भने, “तिमीलाई अभिवादन ! तिमीले परमेश्‍वरबाट धेरै निगाह पाएकी छ्यौ ।” 29 तर उनको वचन सुनेर तिनले यो कस्तो प्रकारको अभिवादन हो भनी तिनी विचलित भइन् र चकित परिन् । 30 तब स्वर्गदूतले उनलाई भने, “मरियम, तिमी नडराऊ । किनकि तिमीले परमेश्‍वरबाट निगाह प्राप्‍त गरेकी छ्यौ । 31 हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ । तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ । 32 उहाँ महान हुनुहुनेछ र उहाँ सर्बोच्च परमेश्‍वरको पुत्र भनेर चिनिनु हुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पिता दाऊदको सिंहासन दिनुहुनेछ । 33 उहाँ महान् हुनुहुनेछ र उहाँ सर्वोच्‍च परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ । परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ । 34 तब मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ जब कि अहिलेसम्म म कुनै मानिससँग सुतेकै छैन ?” 35 अनि स्वर्गदूतले जवाफ दिए, र उनलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्‍चका परमेश्‍वरको शक्‍तिले तिमीलाई ढाक्‍नेछ । त्यसैले, जो पवित्र जन्मनुहुनेछ उहाँलाई परमेश्‍वरका पुत्र भनेर बोलाइनेछ । 36 अनि हेर, तिम्री नातेदार एलीशिबाले पनि उनको वृद्धावस्थामा एउटा छोरा जन्माउन गर्भवती भएकी छन् । उनलाई बाँझी भनिए तापनि उनी अहिले ६ महिनाको गर्भवती अवस्थामा छिन् । 37 परमेश्‍वरको लागि कुनै पनि कुरा असम्भव हुनेछैन ।” 38 मरियमले भनिन्, “हेर, म परमप्रभुकी दासी एक स्‍त्री हुँ । तपाईंको सन्देशअनुसार नै मेरो निम्ति होस् ।” त्यसपछि स्वर्गदूत उनीबाट बिदा भए । 39 त्यसपछि मरियम ती दिनहरूमा हतारिँदै यहूदाको पहाडी देशको एउटा सहरमा गइन् । 40 जहाँ उनी जकरियाको घरमा गइन् र एलीशिबालाई अभिवादन गरिन् । 41 जब एलीशिबाले मरियमको अभिवादन सुनिन्, उनको गर्भमा भएको बालक उफ्रियो र एलीशिबा पवित्र आत्माले भरिइन् । 42 तिनले ठुलो आवाजले उनलाई यसो भनिन्, “स्‍त्रीहरूमा तिमी धन्यकी हौ र तिम्रो गर्भको फल धन्यको होस् ।” 43 तब यो कसरी हुन कि सक्छ मेरा प्रभुकी आमा मकहाँ आउनुभयो ? 44 तब हेर, जब तिम्रो अभिवादनको आवाज मेरो कानमा आयो, मेरो गर्भमा भएको बालक आनन्दले उफ्रियो । 45 अनी जसले विश्‍वास गरेकी छिन्, धन्यकी हुन् किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन् ।” 46 मरियमले भनिन्, “मेरो प्राण परमभुमा आनन्दित छ । 47 र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ । 48 किनकि उहाँले आफ्नी दासी स्‍त्रीको नीच अवस्थामा ध्यान दिनुभएको छ । अब हेर, अहिलेबाट सबै पुस्ताहरूले मलाई धन्यकी भन्‍नेछन् । 49 किनकि सर्वशक्‍तिमान्‌ले मेरो लागि महान् कार्य गर्नुभएको छ, र उहाँको नाउँ पवित्र छ । 50 जसले उहाँलाई आदर गर्छ, एउटा पुस्तादेखि एर्को पुस्तसम्म उहाँको दया रहिरहन्‍छ । 51 उहाँका बाहुलीले शक्‍तिशाली कामहरू गरेका छन् । आफ्नो हृदयमा घमण्ड विचार भएकाहरूलाई उहाँले तितर-बितर पार्नुभएको छ । 52 उहाँले राजकुमारहरूलाई तिनीहरूका सिंहासनबाट खसाल्नुभएको छ । अनि तल्लो अवस्थाकाहरूलाई उठाउनुभएको छ । 53 उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ, तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ । 54 त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ । 55 जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ ।” 56 मरियम झन्डै तिन महिना एलीशिबासँग बसिन् र अनि आफ्नो घरमा फर्किन् । 57 अब एलीशिबाको बालक जन्माउने बेला आयो, र तिनले एउटा छोरा जन्माइन् । 58 जब तिनका छिमेकी र नातेदारहरूले परमप्रभुले तिनीमाथि महान् दया गर्नुभएको कुरा सुने, तब उनीहरू तिनीसँग आनन्दित भए । 59 अब बालक जन्मेको आठौँ दिनमा तिनीहरू बालकको खतना गर्न गए र तिनीहरूले उनलाई आफ्ना पिताको नाउँबाट नै जकरिया भनेर बोलाउन सक्थे । 60 तर उनकी आमाले जवाफ दिएर भनिन्, “होइन, उनलाई यूहन्‍ना भनेर बोलाइनेछ ।” 61 तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारहरूका बिचमा यो नाउँ भएको त्यहाँ कोही पनि छैन ।” 62 तिनीहरूले उनको बुबासँग इसारा गरेर बालकको नाउँ के राख्‍न चाहेका छन् भनेर तिनलाई सोधे । 63 उनले लेख्‍नका लागि पाटी मागे, र त्यसमा “तिनको नाउँ यूहन्‍ना हो” भनेर लेखे । त्यो देखेर तिनीहरू सबै अचम्मित भए । 64 तुरुन्तै उनको मुख खुल्यो र जिब्रोको बन्धन टुट्यो, अनि तिनले बोल्न सुरु गरे र परमेश्‍वरको प्रशंसा गरे । 65 तिनीहरूका वरिपरि बस्‍नेहरूको बिचमा भय उत्पन्‍न भयो र त्यहाँ भएका कुराहरू यहूदाको पहाडी मुलुकभरि नै फैलियो । 66 त्यसपछि यी कुरा सुन्‍ने सबैले आफ्नो हृदयमा राख्‍दै भने, “त्यसो भए, अब यो बालक कस्तो हुनेछ ?” किनकि परमप्रभुको हात त्यस बालकसँग थियो । 67 उनका पिता जकरिया पवित्र आत्माले भरिए र यसो भन्दै अगमवाणी गरे, 68 “इस्राएलका परमप्रभु परमेश्‍वरको प्रशंसा होस्, किनभने उहाँले आफ्ना मानिसहरूका लागि सहायता र उद्धारको काम गर्नुभएको छ । 69 उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको छ । 70 प्राचीन कालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो । 71 उहाँले हाम्रा शत्रुहरू र हामीलाई घृणा गर्नेहरूबाट छुटकारा दिनुहुनेछ । 72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ । 73 त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो । 74 उहाँले हामीलाई हाम्रा शत्रुहरूका हातबाट मुक्‍त गर्न र उहाँको सम्मुख हाम्रो सारा जीवनभर 75 पवित्रता र धार्मिकतामा उहाँको सेवा गर्नलाई योग्यको बनाउने शपथ खानुभयो । 76 हो, बालक तिमी, सर्वोच्‍चका अगमवक्‍ता कहलाइनेछौ, किनभने तिमी मानिसहरूका निम्ति मार्ग तयार पार्न प्रभुको अगि-अगि जानेछन् । 77 तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्‍तिको ज्ञान दिनुभएको छ । 78 हाम्रा परमेश्‍वरले उहाँको कोमल कृपाको कारणले हामीलाई क्षमा गर्नुहुनेछ । यही कृपाद्वारा उहाँ हामीकहाँ बिहानको सूर्यझैँ आउनुहुनेछ । 79 मृत्युको अन्धकारको छायाँमा बस्‍ने मानिसहरूमाथि उहाँ चम्कनुहुनेछ । उहाँले हाम्रा गोडाहरूलाई शान्तिको मार्गतिर डोर्‍याउनुहुन्छ ।” 80 त्यसपछि बालक हुर्के र आत्मामा बलियो भए, र उनी इस्राएलमा देखा नपरेसम्म उजाड-स्थानमा नै बसे ।