4
किनभने हेर, त्यो दिन आउँदै छ, जुन दिन भट्टीझैँ दन्कनेछ । त्यस दिन सबै हठी र दुष्‍ट काम गर्नेहरू ठुटाझैँ हुनेछन् । आउन लागेको दिनले तिनीहरूलाई जलाई भस्म गर्नेछ, र तिनीहरूको न त जरा न हाँगा बाँकी रहनेछ, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । तर मेरो नाउँको भय मान्‍नेहरूका निम्ति भने, धार्मिकताको सूर्य निको पार्दै आफ्ना पखेटामा उदाउनेछ । तिमीहरू बाहिर जानेछौ, र गोठबाट निस्केका बाछाझैँ उफ्रनेछौ । त्यस दिन तिमीहरूले दुष्‍टलाई कुल्चनेछौ, किनभने मैले काम गर्ने दिनमा तिनीहरू, तिमीहरूका पाउमुनिका खरानीझैँ हुनेछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “मेरा दास मोशाका शिक्षालाई याद गर, जुन विधि र नियमहरू मैले त्यसलाई सारा इस्राएलीहरूका निम्ति होरेब पर्वतमा दिएको थिएँ । हेर, परमप्रभुको महान् र भयानक दिन आउनुअगि म अगमवक्ता एलियालाई तिमीहरूकहाँ पठाउनेछु । त्यसले बुबाहरूका हृदयलाई छोराछोरीहरूतर्फ, र छोराछोरीहरूका हृदयलाई तिनीहरूका बुबाहरूतर्फ फर्काउनेछन्, अनि म आएर देशलाई आक्रमण गरी पूर्ण रूपमा नाश गर्नेछैनँ ।”