36
त्यसपछि योसेफका सन्तानहरूका कुलका माकीरका (जो मनश्शेको छोरा थिए) छोरा गिलादको कुलका पुर्खाहरूका अगुवाहरू आए अनि मोशा र इस्राएलका मानिसहरूका पुर्खाहरूका परिवारहरूको प्रमुखहरूको सामु भने, “परमप्रभुले हाम्रा मालिक तपाईंलाई इस्राएलका मानिसहरूलाई चिट्ठाद्वारा भूमिको हिस्सा दिने आज्ञा दिनुभयो । हाम्रो भाइ सलोफादको हिस्सा तिनका छोरीहरूलाई दिन परमप्रभुले तपाईंलाई आज्ञा गर्नुभएको थियो । तर यदि तिनका छोरीहरूले इस्राएलका मानिसहरूको अन्य कुलका पुरुषसँग विवाह गरे भने, भूमिको तिनीहरूको हिस्सा हाम्रा पुर्खाहरूको हिस्साबाट हट्ने छ । यो तिनीहरू सहभागी हुने कुलको हिस्सामा थपिने छ । यस अवस्थामा यो हाम्रो अंशको तोकिएको हिस्साबाट हट्ने छ । त्यस अवस्थामा इस्राएलका मानिसहरूको पुनर्स्थापनाको वर्ष आउँदा तिनीहरूको हिस्सा तिनीहरू जोडिने कुलमा नै गाभिने छ । यसरी तिनीहरूको हिस्सा हाम्रो पुर्खाको कुलको हिस्साबाट लगिने छ ।” त्यसैले मोशाले परमप्रभुको वचनमा इस्राएलका मानिसहरूलाई आज्ञा दिए, “योसेफका सन्तानहरूका कुलले भनेको कुरा सही हो । सलोफादका छोरीको बारेमा परमप्रभुले यो आज्ञा दिनुहुन्छ, 'तिनीहरू आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरून्, तर तिनीहरूले आफ्ना पिताको परिवारभित्र मात्र विवाह गर्नुपर्छ ।' इस्राएलका मानिसहरूको कुनै पनि अंश एउटा कुलबाट अर्कोमा बद्‍ली गर्नुहुँदैन । इस्राएलका मानिसहरूको हरेक कुलले आ-आफ्नो पुर्खाको कुलको अंशलाई निरन्तरता दिनुपर्छ । आफ्नो कुलमा अंश पाउने हेरक महिलाले आफ्नै पिताको कुलको परिवारभित्र मात्र विवाह गर्नुपर्छ, ताकि इस्राएलका मानिस हरेकले आ-आफ्नो पुर्खाहरूबाटको अंश पाओस् । कुनै पनि हिस्सा एउटा कुलबाट अर्कोमा बद्ली गर्नुहुँदैन । इस्राएलका मानिसको कुलको हरेकले आ-आफ्नो अंश सुरक्षित राख्‍नुपर्छ ।” 10 त्यसैले सलोफादका छोरीहरूले परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे । 11 सलोफादका छोरी महला, तिर्सा, होग्ला, मिल्का र नोआहले मनश्शेका सन्तानहरूसँग विवाह गरे । 12 तिनीहरूले योसेफका छोरा मनश्शेका सन्तानहरूका कुलहरूमा विवाह गरे । यसरी तिनीहरूको हिस्सा तिनीहरूको पिताको कुलभित्र नै रह्यो । 13 परमप्रभुले मोशाद्वारा यरीहोमा यर्दन नजिक मोआबको मैदानमा इस्राएलका मानिसहरूलाई दिनुभएका आज्ञाहरू र नियमहरू यिनै हुन् ।