31
राजा लमूएलका वचनहरू अर्थात् तिनकी आमाले सिकाएकी ईश्‍वरवाणीः हे मेरो छोरो, हे मेरो गर्भको छोरो, हे मेरा भाकलहरूको छोरो, तँ के चाहन्छस् ? स्‍त्रीलाई तेरो बल नदे वा राजाहरूलाई नष्‍ट गर्नेहरूलाई तेरा चालहरू नदे । यो राजाहरूका लागि होइन, हे लमूएल, राजाहरूले दाखमद्य पिउनुहुन्‍न वा शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न । किनभने तिनीहरूले पिउँदा तिनीहरूले कानुनी आदेश बिर्सेका हुन्छन्, र कष्‍टमा परेकाहरू सबैका अधिकारलाई वञ्चित गरिदिन्छन् । नष्‍ट भइरहेकाहरूलाई मदिरा दे, र विरहमा भएकाहरूलाई दाखमद्य दे । त्यसले पिएर आफ्नो गरिबी भुल्ने छ, र त्यसले आफ्नो कष्‍टलाई सम्झने छैन । बोल्न नसक्‍नेहरू र नष्‍ट भइरहेकाहरूको अधिकारको लागि बोल् । आवाज उठा, र जे ठिक छ त्यसको नापअनुसार न्याय गर्, अनि गरिब र खाँचोमा परेकाहरूको अधिकारको निम्ति बोल् । 10 कसले सुयोग्य पत्‍नी पाउन सक्छ ? उनको मूल्य रत्‍नहरूभन्दा बहुमूल्य हुन्छ । 11 उनका पतिको हृदयले उनीमाथि भरोसा गर्छन्, र तिनी कहिल्यै गरिब हुने छैनन् । 12 उनले तिनका लागि आफ्नो जीवनकालभरि खराब कुराहरू नभई असल कुराहरू गर्छिन्, 13 उनले ऊन र सनपाट रोज्छिन्, अनि आफ्ना हातले खुसी भएर काम गर्छिन् । 14 उनी व्यापारी जहाजझैँ छिन् । उनले टाढाबाट आफ्नो भोजन ल्याउँछिन् । 15 उनी राती नै उठ्छिन्, र आफ्नो परिवारलाई भोजन बाँड्छिन्, अनि आफ्ना चाकर्नीहरूलाई तिनीहरूका काम बाँडफाँड गरिदिन्छिन् । 16 उनले सोचविचार गरेर एउटा खेत किन्छिन्, र आफ्नो हातको कमाइले दाखबारी लगाउँछिन् । 17 उनी शक्तिले आभुषित हुन्छिन् र आफ्ना पाखुराहरूलाई बलियो बनाउँछिन् । 18 उनको लागि केले मुनाफा ल्याउने छ भनी तिनी अनुमान गर्छिन् । रातैभरि उनको बत्ती निभ्दैन । 19 उनले आफ्नो हात चर्खाको डन्डामा राख्छिन्, र आफ्नै औँलाले पिउरी समात्छिन् । 20 उनले गरिब मानिसहरूप्रति आफ्नो मुट्ठी खोल्छिन् । उनले खाँचोमा परेकाहरूप्रति आफ्नो हात अगाडि बढाउँछिन् । 21 आफ्नो परिवारमा हिउँ पर्दा उनी डराउँदिनन्, किनकि उनको परिवारका सबै सदस्यले सिन्दूरे रङका लुगा लगाउँछन् । 22 उनले आफ्नो ओछ्यानको लागि तन्‍ना बनाउँछिन्, र उनले मसिनो गरी बाटेको सुतीको कपडाको लुगा लगाउँछिन् । 23 उनका पति सहरको मूल ढोकामा देशका पाका मानिसहरूसित बस्दा सम्मानित हुन्छन् । 24 उनले सुती कपडाका वस्‍त्रहरू बनाएर बेच्छिन्, र व्यापारीहरूलाई पटुका उपलब्ध गराउँछिन् । 25 उनी शक्ति र आदरले आभुषित छिन्, अनि आउने समयको लागि उनी हाँस्‍न सक्छिन् । 26 उनले बुद्धिसित आफ्नो मुख खोल्छिन्, र दयाको व्यवस्था उनको जिब्रोमा छ । 27 उनले आफ्नो परिवारका चालहरूको रेखदेख गर्छिन्, र आलस्यको रोटी खाँदिनन् । 28 उनका छोरा-छोरीहरू खडा भएर उनलाई धन्यको भन्छन्, र उनका पतिले यसो भन्दै उनको तारिफ गर्छन्, 29 “धेरै स्‍त्रीहरूले राम्ररी काम गरेका छन्, तर तिमीले तिनीहरू सबैलाई जितेकी छ्यौ ।” 30 सुन्दरता भ्रामक हुन्छ; सौन्दर्य व्यर्थको हुन्छ, तर परमप्रभुको भय मान्‍ने स्‍त्रीको नै प्रशंसा गरिने छ । 31 उनको हातको कमाइ उनलाई नै दिनू, र उनका कामहरूले मूल ढोकामा उनको प्रशंसा गरून् ।