61
 1 हे परमेश्वर, मेरो पुकारा सुन्नुहोस् । मेरो प्रार्थनामा ध्यान दिनुहोस् ।   2 मेरो हृदय शिथिल हुँदा म पृथ्वीको अन्तिम छेउबाट तपाईंलाई पुकारा गर्नेछु । मभन्दा उच्च चट्टानतिर मलाई लानुहोस् ।   3 किनकि तपाईं मेरो निम्ति शरणस्थान, शत्रुबाट बच्ने बलियो धरहरा हुनुभएको छ ।   4 मलाई सधैं तपाईंको पवित्र-स्थानमा बस्न दिनुहोस् । मलाई तपाईंका पखेटाहरूको आडमा शरण लिन दिनुहोस् । सेला   5 किनकि हे परमेश्वर, तपाईंले मेरा भाकलहरू सुन्नुभएको छ, तपाईंले मलाई तपाईंलाई आदर गर्नेहरूको उत्तराधिकार दिनुभएको छ ।   6 तपाईंले राजालाई दिर्घायु बनाउनुहुन्छ । तिनको आयु धेरै पुस्ताहरूजस्तै हुनेछ ।   7 तिनी परमेश्वरको सामु सदासर्वदा रहनेछन् ।   8 तपाईंको नाउँको स्तुति म सदा गाउनेछु ताकि हरेक दिन म आफ्नो भाकल पुरा गर्न सकौं।