81
 1 हाम्रो बल परमेश्वरको निम्ति ठुलो सोरले गाओ । याकूबका परमेश्वरको निम्ति जयजयकार गर ।   2 गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ ।   3 औंसीको दिनमा र पूर्णिमाको दिनमा, हाम्रो चाड सुरु हुँदा तुरही फुक ।   4 किनकि यो इस्राएलको निम्ति आदेश हो, याकूबका परमेश्वरले दिनुभएको विधान हो ।   5 जब उहाँ मिश्रदेशको विरुद्धमा जानुभयो, जहाँ मैले नचिनेको सोर मैले सुनें, तब उहाँले योसेफमा नियमको रूपमा यो जारी गर्नुभयोः   6 “मैले त्यसको काँधबाट बोझ हटाएँ । टोकरीहरू समात्ने त्यसका हातहरू मुक्त भए ।   7 तिमीहरूको संकष्टमा तिमीहरूले पुकारा गर्यौ र मैले तिमीहरूलाई सहायता गरें । गर्जनको कालो बादलबाट मैले तिमीहरूलाई जवाफ दिएँ । मेरिबाको पानीमा मैले तिमीहरूको जाँच गरें । सेला   8 हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए !   9 तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।   10 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेशबाट बाहिर ल्यायो । तिमीहरूको मुख चौडा खोल र त्यो म भर्नेछु ।   11 तर मेरा मानिसहरूले मेरा वचनहरू सुनेनन् । इस्राएलले मेरा आज्ञा पालन गरेनन् ।   12 त्यसैले तिनीहरूका आफ्नै हठी मार्गमा मैले तिनीहरूलाई छोडिदिएँ, ताकि तिनीहरूले आफूलाई जे ठिक लाग्छ त्यही गरून् ।   13 ओहो, मेरा मानिसहरूले मेरो कुरा सुनेको भए । मेरा मानिसहरूले मेरा मार्गहरूमा हिंडेका भए ।   14 तब म तुरुन्तै तिनीहरूका शत्रुहरूलाई अधीन गर्थें र तिनीहरूलाई थिचोमिचो गर्नेहरूका विरुद्धमा म आफ्नो हात फर्काउँथे ।   15 परमप्रभुलाई घृणा गर्नेहरू उहाँको सामु त्रासले लत्रक्क परून्! तिनीहरू सदाको निम्ति अपमानित होऊन् ।   16 इस्राएललाई म उत्तम गहुँ खुवाउँथें । तिमीहरूलाई म चट्टानको मह खुवाएर तृप्त पार्थें ।”