106
 1 परमप्रभुको प्रशंसा गर । परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।   2 परमप्रभुको शक्तिशाली कामहरू कसले वर्णन गर्न सक्छ वा उहाँ सबै प्रशंसाननिय कामहरू कसले घोषणा गर्न सक्छ र?   3 जे ठिक छ सो गर्नेहरू र जसका कामहरू सधैं न्यायोचित हुन्छन्, तिनीहरू धन्यका होऊन् ।   4 हे परमप्रभु, तपाईंले आफ्ना मानिसहरूलाई कृपा गर्नुहुँदा मलाई समम्झनुहोस् । तपाईंले तिनीहरूलाई बचाउनुहुँदा मलाई सहायता गर्नुहोस् ।   5 तब तपाईंका चुनिएकाहरूको फलिफाप म हेर्नेछु, तपाईंको जातिको खुसीमा आनन्दित हुनेछु र तपाईंको उत्तराधिकारसँगै महिमित हुनेछु ।   6 हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं ।   7 हाम्रा पुर्खाहरूले मिश्रदेशमा तपाईंका अचम्मका कामहरूको कदर गरेनन् । तिनीहरूले तपाईंका करारको विश्वस्तताका धेरै कामहरूलाई बवास्ता गरे । तिनीहरू लाल समुद्रमा विद्रोही भए ।   8 तापनि, उहाँले आफ्नो नाउँको खातिर तिनीहरूलाई बचाउनुभयो ताकि उहाँले आफ्नो शक्ति प्रकट गर्न सक्नुभएको होस् ।   9 उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्थानमा झैं समुद्रको गहिराइमा डोर्याउनुभयो ।   10 तिनीहरूलाई घृणा गर्नेहरूको हातबट उहाँले तिनीहरूलाई बचाउनुभयो र शत्रुहरूका हातबाट उहाँले तिनीहरूलाई छुट्टाउनुभयो ।   11 तर तिनीहरूका वैरीहरूलाई पानीले छोप्यो । तिनीहरूमध्ये एक जना पनि बाँचेन ।   12 तब तिनीहरूले उहाँको वचनमा विश्वास गरे र तिनीहरूले उहाँको स्तुति गाए ।   13 तर उहाँले जे गर्नुभएको थियो त्यो तिनीहरूले तुरुन्तै बिर्से । तिनीहरूले उहाँको सल्लाहको निम्ति पर्खेनन् ।   14 उजाडस्थानमा तिनीहरूमा असन्तुष्ट इच्छाहरू थिए र तिनीहरूले मरुभूमिमा परमेश्वरलाई चुनौति दिए ।   15 त्यसैले तिनीहरूले जे मागे उहाँले तिनीहरूलाई त्यही दिनुभयो, तर उहाँले तिनीहरूमाथि डरलाग्दो रोग पठाउनुभयो ।   16 छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पुजारी मोशा र हारूनप्रति डाही बने ।   17 पृथ्वीले खुल्यो र दातानलाई निल्यो र अबीरामको पछि लाग्नेहरूलाई ढाकिदियो ।   18 तिनीहरू माझमा आगो सल्कियो । त्यो आगोले दुष्टहरूलाई भष्म पार्यो ।   19 तिनीहरूले होरेबा एउटा बाछो बनाए र धातुको मूर्तीको आकृति पुजे ।   20 तिनीहरूले परमेश्वरको महिमालाई घाँस खाने साँढेको प्रतिमासँग साटे ।   21 तिनीहरूले आफ्ना उद्धारकर्तालाई बिर्से जसले मिश्रदेशमा महान् कामहरू गर्नुभएको थियो ।   22 उहाँले हामको देशमा अचम्मका कामहरू र लाल समुद्रमा शक्तिशाली कामहरू गर्नुभएको थियो ।   23 त्यसैले उहाँले तिनीहरूलाई नाश गर्छु भन्नुहुँदा—तिनीहरूलाई नष्ट गर्ने उहाँको रिस हटाउनलाई उहाँको चुनिएको जन मोशा धाँदोमा खडा भए ।   24 त्यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्वास गरेनन्,   25 तर आफ्ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् ।   26 यसकारण उहाँले आफ्नो हात उठाउनुभयो र तिनीहरूसित शपथ खानुभयो, कि उहाँले तिनीहरूलाई मरुभूमिमा नै मर्न दिनुहुनेछ,   27 तिनीहरूका सन्तानहरूलाई जातिहरूका माझमा तितरबितर पार्नहुनेछ, र तिनीहरूलाई विदेशहरूमा छरपष्ट पार्नुहुनेछ ।   28 तिनीहरूले पोरको बाललाई पुजा गरे र मृतकलाई चढाइएको बलिहरू खाए ।   29 तिनीहरूले आफ्ना कामहरूले उहाँलाई रिस उठाए र तिनीहरू माझमा एउटा रुढी फैलियो ।   30 तब मध्यस्थ गर्न पीनहास उठे र रूढी थामियो ।   31 यो तिनको निम्ति सबै पुस्तासम्म सदाको निम्ति धार्मिकता गनियो ।   32 तिनीहरूले मेरीबको पानीमा पनि परमप्रभुलाई रिस उठाए र तिनीहरूका कारणले मोशाले कष्ट भोगे ।   33 तिनीहरूले मोशालाई तिक्त बनाए र तिनले हतारमा बोले ।   34 परमप्रभुले तिनीहरूलाई आज्ञा गरेअनुसार तिनीहरूले जातिहरूलाई नष्ट पारेनन्,   35 तर तिनीहरू जातिहरूसँग मसिए र तिनीहरूका मार्गहरू सिके,   36 र तिनीहरूका मूर्तीहरूको पुजा गरे जुन तिनीहरूको निम्ति पासो बन्यो ।   37 तिनीहरूले आफ्ना छोरा र छोरीहरू भुत आत्माहरूलाई बलि चढाए ।   38 तिनीहरूले निर्दोष रगतको, अर्थात् आफ्ना छोराहरू र छोरीहरूका रगत बगाए, जुन तिनीहरूले कनानको मूर्तीहरूलाई बलि चढाएर रगतले देशलाई अशुद्ध पारे ।   39 तिनीहरू आफ्ना कामहरूले अशुद्ध भए । तिनीहरूका कामहरूले तिनीहरू वेश्याजस्तै भए ।   40 त्यसैले परमप्रभु आफ्ना मानिसहरूसँग रिसाउनुभयो र उहाँले आफ्नै मानिसहरूलाई घृणा गर्नुभयो ।   41 उहाँले तिनीहरूलाई जातिहरूका हातमा सुम्पिनुभयो र तिनीहरूलाई घृणा गर्नेहरूले तिनीहरूमाथि राज्य गरे ।   42 तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि थिचोमिचो गरे, र तिनीहरूलाई आफ्ना अधिकारीको अधीनमा पारियो ।   43 तिनीहरूलाई सहायता गर्न उहाँ धेरैपल्ट आउनुभयो, तर तिनीहरूले निरन्तर विद्रोह गरे र तिनीहरूका आफ्नै पापले तल पारिए ।   44 तापनि, सहायताको निम्ति तिनीहरूका पुकारा उहाँले सुन्नुहुँदा उहाँले तिनीहरूका संकष्टमा ध्यान दिनुभयो ।   45 उहाँले तिनीहरूसँगको आफ्नो करारलाई सम्झिनुभयो र आफ्नो अटल प्रेमको कारणले नरम हुनुभयो ।   46 तिनीहरूका सबै विजेतालाई तिनीहरूमाथि दया गर्ने उहाँले बनाउनुहुन्थ्यो ।   47 हे परमप्रभु, हाम्रा परमेश्वर, हामीलाई बचाउनुहोस् । हामीलाई जातिहरूको माझबाट भेला गर्नुहोस्, ताकि तपाईंको पवित्र नाउँमा हामी धन्यवाद दिन र तपाईंका प्रशंसाहरूमा गर्व गर्न सकौं।   48 इस्राएलका परमप्रभु परमेश्वरको अनादिदेखि अनन्तसम्म स्तुति होस् । सबै मानिसहरूले भने, “आमेन ।” परमप्रभुको प्रशंसा होस् ।