109
 1 हे परमेश्वर जसको म प्रशंसा गर्छु, चूपचाप नबस्नुहोस्,   2 किनकि दुष्टहरू र छलीहरूले मलाई आक्रमाण गर्छन् । तिनीहरूले मेरो विरुद्धमा झुटा बोल्छन् ।   3 तिनीहरूले मलाई घेर्छन् र घृणित कुराहरू भन्छन्, र तिनीहरूले मलाई विनाकारण आक्रमण गर्छन् ।   4 मेरो प्रेमको सट्टामा तिनीहरूले मलाई दोष लगाउँछन्, तर तिनीहरूको निम्ति म प्रार्थना गर्छु ।   5 भलाइको साटोमा तिनीहरूले मलाई खराबी गर्छन्, मेरो प्रेमलाई तिनीहरूले घृणा गर्छन् ।   6 यी मानिसहरूजस्ता शत्रुहरूमाथि एक जना दुष्ट मानिसलाई नियुक्त गर्नुहोस् । त्यसको दाहिने हातपट्टि खडा हुनलाई एक जना दोष लगाउनेलाई नियुक्त गर्नुहोस् ।   7 त्यसको न्याय हुँदा, त्यो दोषी भेट्टाइयोस् । त्यसको प्रार्थना पापपूर्ण ठानियोस् ।   8 त्यसका दिनहरू थोरै होऊन् । त्यसको पद अरूले लेओस् ।   9 त्यसका छोराछोरी अनाथ होऊन् र त्यसकी पत्नी विधवा होस् ।   10 त्यसका छोराछोरी भौंतारिऊन् र आफ्ना भग्नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।   11 त्यससँग भएका सबै थोक ऋणदाताले लैजाओस् । त्यसले जे कमाउँछ त्यो विदेशीहरूले लुटून् ।   12 त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् ।   13 त्यसका छोराछोरीलाई बहिष्कार गरियोस् । तिनीहरूका नाउँ अर्को पुस्ताबाट मेटाइयोस् ।   14 त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् ।   15 तिनीहरूका दोष सधैं परमप्रभुको सामु रहोस् । परमप्रभुले तिनीहरूका सम्झना पृथ्वीबाट मेटाइदेऊन् ।   16 परमप्रभुले यसै गर्नुभएको होस् किनभने यो मानिसले करारको विश्वस्तता देखाउने मन कहिल्यै गरेन, तर बरु थिचोमिचोमा परेकाहरू, दरिद्रहरू र निरुत्साहितहरूलाई मृत्युसम्मै सतायो ।   17 त्यसले सराप्न मन परायो । त्यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्लाई घृणा गर्यो । त्यसकहाँ कुनै आशिष् नआओस् ।   18 त्यसले सरापलाई आफ्नो लुगाको रूपमा लगायो र त्यसको सराप त्यसको अन्तस्करणमा पानीझैं र त्यसको हाडमा तेलझैं आयो ।   19 त्यसको सराप त्यसले आफैलाई ढाक्नलाई लगाउने लुगाझैं, त्यसले सँधैं लगाउने कम्मर पेटीझैं त्यसैमा परोस् ।   20 मलाई दोष लगाउने, अर्थात् मेरो बारेमा खरब कुराहरू भन्नेलाई परमप्रभुबाट यो इनाम होस् ।   21 हे परमप्रभु मेरो परमेश्वर, तपाईंको नाउँको खातिर मसँग कृपासाथ व्यवहार गर्नुहोस् । तपाईंको करारको विश्वस्तता असल भएको हुनाले मलाई बचाउनुहोस् ।   22 किनकि म थिचोमिचोमा परेको र दरिद्र भएको छु, र मेरो हृदय मभित्रै घायल छ ।   23 साँझको छायाझैं म लोप हुँदैछु । सहललाई झैं मलाई हल्लाइएको छ ।   24 उपवासले गर्दा मेरा घुँडाहरू कमजोर भएका छन् । म हाड-छाला मात्र भएको छु ।   25 मलाई दोष लगाउनेद्वारा मलाई घृणा गरिएको छ । तिनीहरूले मलाई देख्दा, तिनीहरूले आफ्ना शिर हल्लाउँछन् ।   26 हे परमप्रभु परमेश्वर, मलाई सहायता गर्नुहोस् । मलाई तपाईंको करारको विश्वस्तताद्वारा बचाउनुहोस् ।   27 हे परमप्रभु, यो तपाईंको काम हो, जुन तपाईंले नै गर्नुभएको छ भनी तिनीहरूले जानून् ।   28 तिनीहरूले मलाई सरापे तापनि मलाई आशिष् दिनुहोस् । तिनीहरूले मलाई आक्रमण गर्दा, तिनीहरू लाजमा परून्, तर तपाईंको सेवक आनन्दित होस् ।   29 मेरा वैरीहरू लाजले ढाकिऊन् । तिनीहरूले आफ्ना लाज लुगाझैं लगाऊन् ।   30 म आफ्नो मुखले परमप्रभुलाई धेरै धन्यवाद दिन्छु । म उहाँलाई भिडको माझमा प्रशंसा गर्नेछु ।   31 किनकि दरिद्रको न्याय गर्नेहरूबाट त्यसलाई बचाउन उहाँ त्यसको दाहिने हातपट्टि खडा हुनुहुनेछ ।