115
 1 हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्वस्तता र तपाईंको सत्यताको खातिर तपाईंको नाउँको महिमा होस् ।   2 जातिहरूले किन यसो भन्ने, “तिनीहरूका परमेश्वर कहाँ छ?”   3 हाम्रा परमेश्वर स्वर्गमा हुनुहुन्छ । उहाँले जे इच्छा गर्नुहुन्छ त्यही उहाँले गर्नुहुन्छ ।   4 जातिहरूको मूर्तीहरू सुन र चाँदी अर्थात् मानिसहरूका हातका काम हुन् ।   5 ती मूर्तीहरूका मुखहरू छन्, तर ती बोल्दैनन् । तिनीहरूका आँखाहरू छन्, तर तिनले देख्दैनन् ।   6 तिनीहरूका कानहरू छन्, तर तिनले सुन्दैनन् । तिनीहरूका नाकहरू छन्, तर तिनले सुँघ्दैनन् ।   7 ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्ना मुखबाट बोल्न सक्छन् ।   8 तिनीहरूलाई बनाउनेहरू तिनीहरूजस्तै छन्, तिनीहरूमा भरोसा गर्ने हरेक व्यक्ति त्यस्तै हुन्छ ।   9 ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।   10 ए हारूनका घराना, परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।   11 तिमीहरू जसले परमप्रभुलाई आदर गर्छौ उहाँमा भरोसा गर । उहाँ तिमीहरूका सहायता र ढाल हुनुहुन्छ ।   12 परमप्रभुले हामीलाई ध्यान दिनुहुन्छ र हामीलाई आशिष् दिनुहुन्छ । उहाँले इस्राएलका घरानालाई आशिष् दिनुहुनेछ । उहाँले हारूनका घरानालाई आशिष् दिनुहुनेछ ।   13 उहाँलाई आदर गर्नेहरू, जवान र वृद्ध दुवैलाई उहाँले आशिष् दिनुहुनेछ ।   14 परमप्रभुले, तिमीहरूलाई, अर्थात् तिमीहरू र तिमीहरूका सन्तानहरूका सङ्ख्या धेरै वृद्धि गरून् ।   15 परमप्रभुले तिमीहरूलाई आशिष् देऊन्, जसले स्वर्ग र पृथ्वी बनाउनुभयो ।   16 स्वर्ग परमप्रभुकै हो । तर पृथ्वीचाहिं उहाँले मानवजातिलाई दिनुभएको छ ।   17 मृतहरूले परमप्रभुको प्रशंसा गर्दैनन्, न त तल शान्तमा जाने कसैले गर्नेछ ।   18 तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।