7
प्रेमी प्रेमिकासित बोल्दैः हे राजकुमारकी छोरी, जुत्ता लगाएका तिम्रा खुट्टा कति राम्रा छन्! गुरु कारीगरका हातले बनाएका जस्तै तिम्रा तिघ्राका गोलाइहरू रत्‍नझैँ छन् । तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ, जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस् । तिम्रो पेट लिली फुलहरूले घेरिएको गहुँको थुप्रोजस्तै छ । तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता छन् । तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ । तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरूजस्ता छन् । तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तो छ । कर्मेल डाँडाजस्तै तिम्रो शिरले तिमीमाथि छ । तिम्रो शिरमा भएको कपाल कालो बैजनी रङको छ । कपालका राशिद्वारा राजा मोहित पारिन्छन् । हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ! तिम्रो उचाइ खजूरको रुखजस्तै छ, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन् । मैले भनेँ, “म त्यस खजूरको रुखमा चढ्न चाहन्छु । म त्यसका हाँगाहरू समात्‍ने छु ।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै होऊन्; तिम्रो नाकको सुगन्ध स्याउको बोटझैँ होस् । तिम्रो मुखको तालु मेरा प्रेमीकहाँ बिस्तारै बगेर जाने, सुत्‍नेहरूका ओठमा बग्‍ने सर्वोत्तम दाखमद्यजस्तै होस् । प्रेमिका प्रेमीसित बोल्दैः 10 म मेरा प्रेमीकी हुँ, र उहाँले मेरो मेरो तृष्णा गर्नुहुन्छ । 11 हे मेरा प्रेमी, आउनुहोस् । हामी खेतबारीमा डुल्न जाऔँ; गाउँहरूतिरै रात बिताऔँ । 12 हामी बिहान सबेरै उठेर दाखबारीहरूमा जाऔँ । दाखहरूमा कोपिला लागेर फक्रेका छन् कि छैनन्, र दारिमहरूमा फुल लागेका छन् कि छैनन् भनेर हेर्न जाऔँ । त्यहाँ म तपाईंलाई मेरो प्रेम दिने छु । 13 दूधे-फुलहरूले आफ्नो बास्‍ना फैलाउँछन् । हामी उभिरहेको ढोकामा हर किसिमका उत्तम, नयाँ र पुराना फलहरू छन्, जुन मैले मेरा प्रेमीका लागि साँचिराखेकी छु ।