2
अनि मैले माथितिर हेरें र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखें । मैले भनें, “तपाईं कहाँ जाँदैहुनुहुन्छ?” उहाँले मलाई भन्‍नुभयो, यरूशलेमलाई नाप्न, त्यसको लमाइ र चौडाइ थाहा गर्न” ।” त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत त्यहाँबाट गए र अर्को एउटा स्वर्गदूत उनलाई भेट्न निस्के । दोस्रो स्वर्गदूतले उनलाई भने, “दौडेर जाऊ र त्यस जवान मानिसलाई यस्तो भन, ‘यरूशलेमभित्रका मानिसहरू र पशुहरूको ठुलो संख्याको कारण त्यो पर्खालविनाको देश हुनेछ । किनभने म त्यसको वरिपरि आगोको पर्खाल हुनेछु, र त्यसभित्रको महिमा म नै हुनेछु, परमप्रभु घोषणा गर्नुहुन्छ । जाओ, जाओ, उत्तरको देशबाट भाग - परमप्रभु घोषणा गर्नुहुन्छ, किनभने मैले तिमीहरूलाई आकाशका चार बतासझैँ तितर-बितर पारेको छु - परमप्रभु घोषणा गर्नुहुन्छ । ए बेबिलोनकी छोरीसँग बस्‍ने हो, जाओ, भागेर सियोनमा जाओ!’ ” किनकि सेनाहरूका परमप्रभुले मलाई सम्मानित गर्नुभएर तिमीहरूलाई लुट्ने जातिहरूको विरुद्ध मलाई पठाउनुभएपछि (किनकि जसले तिमीहरूलाई छुन्छ, त्यसले परमेश्‍वरका आँखाको नानीलाई छुन्छ!) उहाँले भन्‍नुभयो, “तिनीहरूमाथि म आफैँ आफ्ना हात टक्‍टक्याउनेछु, र तिनीहरूका आफ्नै दासहरूले तिनीहरूलाई लुट्नेछन्।” त्यसपछि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ । 10 “सियोनकी छोरी, रमाहटको गीत गाऊ, किनकि म आफैँ नै आएर तिमीहरूका बिचमा वास गर्नेछु!- परमप्रभु घोषणा गर्नुहुन्छ ।” 11 त्यसपछि त्यस दिन महान् जातिहरू परमप्रभुकहाँ मिल्न आउनेछन् । उहाँ भन्‍नुहुन्छ, “अनि तिमीहरू मेरा मानिस हुनेछौ, किनकि म तिमीहरूका बिचमा वास गर्नेछु,” र सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ । 12 किनकि पवित्र भूमिमा परमप्रभुले यहूदालाई आफ्नो उत्तराधिकारझैँ प्राप्‍त गर्नुहुनेछ र उहाँले फेरि पनि यरूशलेमलाई आफ्नो निम्ति चुन्‍नुहुनेछ । 13 सारा मानिस हो, परमप्रभुको अगि शान्त होओ, किनकि उहाँ आफ्नो पवित्र सहरबाट जागिउठ्नुभएको छ ।