सपन्याहको पुस्तक
1
अमोनका छोरा, यहूदाका राजा योशियाहको समयमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको परमप्रभुको वचन यही हो । “म निश्‍चय नै यस पृथ्वीबाट सबै कुरा नाश गर्नेछु,परमप्रभु घोषणा गर्नुहुन्छ । म मानिस र पशु दुवैलाई सर्वनाश गर्नेछु । आकाशका चराहरू, र समुद्रका माछा, दुष्‍टहरू लगायत ढुङ्गाको रास सबैलाई म नष्‍ट गर्नेछु । किनभने म मानिस जातिलाई पृथ्वीबाट सखाप पार्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ । यहूदा र यरूशलेमका सबै वासिन्दाहरूमाथि म मेरो हात पसार्नेछु । यस ठाउँबाट बालका बाँकी रहेका सबैलाई र पूजाहारीहरुमध्ये मूर्तिपुजकहरूका नामलाई सखाप पार्नेछु, र घरका माथिल्लो भागमा बसेर नक्षत्रहरूको पूजा गर्नेहरू, र ती मानिसहरू जसले परमप्रभुको आराधना गर्छन् र उहाँको शपथ खान्छन् तर आफ्ना राजाको शपथ पनि खान्छन्, तिनीहरूलाई पनि म नाश गर्नेछु । परमप्रभुलाई पछ्याउन छोडेर उहाँबाट टाढा हुनेहरू, र उहाँको खोजी नगर्ने र उहाँको निर्देशन नखोज्नेहरूलाई पनि म सखाप पार्नेछु ।” परमप्रभु परमेश्‍वरको सामु शान्त रहो, किनभने परमप्रभुको दिन नजिकै छ । परमप्रभुले बलिदान तयार पार्नुभएको छ र आफ्ना पाहुनाहरूलाई अलग्गै राख्‍नुभएको छ । “परमप्रभुको बलिदानको दिनमा, म राजकुमारहरू र राजाका छोराहरू, र विदेशी पहिरन लगाएका सबैलाई दण्ड दिनेछु । त्यस दिन सँघारमा खुट्टा नटेक्‍नेहरू सबैलाई, र आफ्ना मालिकका घरलाई हिंसा र छलले भर्ने सबैलाई म दण्ड दिनेछु । 10 अनि त्यो दिन यस्तो हुनेछ भनेर परमप्रभु घोषणा गर्नुहुन्छ । माछा ढोकाबाट कष्‍टको रुवाबासी, नयाँ टोलबाट विलाप, र पहाडहरूबाट ठुलो धमाकाको आवाज आउनेछ । 11 ए बजारहरूमा बस्‍नेहरू, रोओ, किनभने सबै व्यापारीहरू तहस-नहस हुनेछन्, र चाँदीका व्यापारीहरू सखाप पारिनेछन् । 12 त्यस बेला म बत्तीहरू बालेर यरूशलेमको खोजी गर्नेछु र त्यसको मद्यमा प्रसन्‍न भएका र आफ्नो हृदयमा ‘परमप्रभुले असल वा खराब केही पनि गर्नुहुनेछैन’ भनेर भन्‍ने मानिसहरूलाई सजाय दिनेछु । 13 तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् । 14 परमप्रभुको त्यो महान् दिन नजिकै छ, नजिक र चाँडै आउँदै छ । परमप्रभुको दिनको आवाज चिच्याई-चिच्याई रोइरहेको योद्धाको झैँ हुनेछ । 15 त्यो दिन क्रोधको दिन, संकट र पीडाको दिन, आँधी र विनाशको दिन, अन्धकार र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन हुनेछ । 16 त्यो दिन किल्ला भएका शहरहरु र उच्‍च धरहराहरूको विरुद्ध तुरही र चेतावनीको सोरको दिन हुनेछ । 17 किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् । 18 परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”