10
मन्दिरबाट परमेश्वरको महिमा हटेको
1 तब मैले हेर्दा करूबहरूका शिरमाथिका अन्तरको माथि नीलमणिको सिंहासनजस्तै देखेँ।
2 याहवेहले सुती कपडा लगाएको त्यस मानिसलाई भन्नुभयो, “करूबहरूका मुन्तिर रहेका चक्काहरूको बीचमा जा। करूबहरूका बीचमा भएको जल्दैगरेका भुङ्ग्राहरूले आफ्ना हातहरू भर्, र तिनलाई सहरमाथि छरिदे!” तब मैले हेर्दाहेर्दै तिनी सहरभित्र गइहाले।
3 त्यो मानिस भित्र पसेको बेला ती करूबहरू मन्दिरको दक्षिण भागमा उभिरहेका थिए; अनि भित्री चोकलाई चाहिँ बादलले ढाकेको थियो।
4 तब याहवेहको महिमा करूबहरूको माथिबाट उठेर मन्दिरको सँघारमा गयो। बादलले मन्दिरलाई ढाकिदियो, र चोकचाहिँ याहवेहको महिमाको चमकले भरियो।
5 करूबहरूका पखेटाहरूको आवाज बाहिरको टाढा चोकसम्मै सुनिन्थ्यो। त्यो आवाज सर्वशक्तिमान् परमेश्वर बोल्नुहुँदा निस्कने आवाजजस्तै थियो।
6 जब याहवेहले सुती कपडा लगाउने त्यो मानिसलाई आज्ञा दिनुभयो, “करूबहरूका बीचमा चक्काहरूबाट आगो ले,” त्यो मानिस भित्र गयो, र एउटा चक्काको छेउमा उभियो।
7 तब ती करूबहरूमध्ये एक जनाले तिनीहरूको बीचमा भएको आगोमा आफ्नो हात पसारे। तिनले बीचबाट केही आगोको भुङ्ग्रो लिएर सुती कपडा लगाउने मानिसको हातमा राखिदिए, र त्यसले त्यो कोइला लियो र बाहिर गइहाल्यो।
8 (करूबहरूका पखेटामुनि मानवका हातहरूजस्ता देखिन्थे।)
9 तब मैले हेरेँ, हरेक करूबको छेउमा एउटा-एउटा चक्का गरी चार वटा चक्काहरू देखेँ; ती चक्काहरू चहकिलो गोमेद मणिझैँ चम्कन्थे।
10 तिनीहरूका रूपको विषयमा ती चारै वटा एकै किसिमका देखिन्थे—प्रत्येक चक्काभित्र अर्को चक्का छिरेको जस्तै।
11 ती चक्काहरू अगि बढ्दा चारै वटा दिशातिर जान सक्थे; किनभने ती करूबहरूका शिर जतातिर फर्किएको हुन्थ्यो, ती चक्काहरू पनि यताउता नफर्की त्यतैतिर अगि बढ्थे।
12 जीवित प्राणीहरूका सम्पूर्ण शरीर, तिनीहरूका पीठ, तिनीहरूका हातहरू, पखेटाहरू र तिनीहरूका चार वटा चक्काहरू सम्पूर्ण आँखै-आँखाहरूले भरिएका थिए।
13 मैले ती चक्काहरूलाई यसो भनिएको सुनेँ, “हुरुरुरु घुम्ने चक्काहरू।”
14 ती करूबहरू प्रत्येकका चार वटा अनुहारहरू थिए: पहिलो अनुहार करूबको थियो, दोस्रो अनुहार मानिसको, तेस्रो अनुहार सिंहको र चौथो अनुहार चीलको थियो।
15 तब ती करूबहरू मास्तिर उठे। ती करूबहरू मैले कबार नदीको किनारमा देखेकै जीवित प्राणीहरू थिए।
16 जब करूबहरू हिँड्थे, तिनीहरूका छेउका चक्काहरू पनि हिँड्थे; अनि जब करूबहरूले भुइँबाट उँभो उचालिनलाई आफ्ना पखेटा फैलाउँथे, तब ती चक्काहरू पनि तिनीहरूका छेउबाट हट्दैनथे।
17 जब ती करूबहरू खडा हुन्थे, तब तिनीहरू पनि खडा हुन्थे; अनि करूबहरू उठ्थे, तब ती चक्काहरू पनि तिनीहरूसित नै माथि उठ्थे; किनकि ती जीवित प्राणीहरूका आत्मा ती चक्काहरूमा थिए।
18 तब याहवेहको महिमा मन्दिरको सँघारको मास्तिरबाट हट्यो र करूबहरूमाथि गएर अडियो।
19 मैले हेर्दाहेर्दै ती करूबहरूले आफ्ना पखेटा फैलाए र जमिनबाट माथि उठाए; अनि तिनीहरू जाँदा चक्काहरू पनि तिनीहरूसितै माथि गए। तिनीहरू याहवेहको भवनको पूर्वतिरको मूलढोकाको प्रवेशद्वारमा अडिए, र इस्राएलका परमेश्वरको महिमा तिनीहरूमाथि थियो।
20 मैले कबार नदीको किनारमा इस्राएलका परमेश्वरको मुन्तिर देखेका जीवित प्राणीहरू यिनै थिए, र तिनीहरू करूबहरू रहेछन् भनी मैले थाहा पाएँ।
21 हरेकका चार वटा अनुहार र चार वटा पखेटा थिए; अनि तिनीहरूका पखेटामुनि मानिसका हातहरूजस्ता देखिन्थे।
22 मैले कबार नदीको किनारमा देखेका प्राणीहरूको जस्तै तिनीहरूका अनुहारहरू थिए। तिनीहरू प्रत्येक सीधा अगिल्तिर बढ्थे।