39
“हे मानिसको छोरा, गोगको विरुद्धमा अगमवाणी गरेर भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: ‘हे गोग, रोश, मेशेक र तूबलका प्रमुख राजकुमार, म तेरो विरुद्धमा छु। म तँलाई फनक्‍क फर्काउनेछु र घिसार्नेछु। म तँलाई सुदूर उत्तरबाट ल्याउनेछु र इस्राएलका पहाडहरूका विरुद्धमा पठाउनेछु। तब म तेरो देब्रे हातमा भएको धनुमाथि प्रहार गर्नेछु, र तेरो दाहिने हातमा भएका काँडहरूलाई खसालिदिनेछु। इस्राएलका पहाडहरूमा तँ, तेरा सबै सेना दलहरू, र तँसँग भएका जातिहरू ढल्नेछन्। म तँलाई आहाराको रूपमा सिनो खाने सबै प्रकारका पक्षीहरू र जङ्गली पशुहरूलाई दिनेछु। तँ खुला मैदानमा ढल्नेछस्; किनकि मैले बोलेको छु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। म मागोग र समुद्रका किनारहरूमा सुरक्षित बस्‍नेहरूमाथि आगो पठाउनेछु; अनि तिनीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछन्।
“ ‘मेरो प्रजा इस्राएलको बीचमा मेरो पवित्र नामलाई चिनाउनेछु। अबदेखि उसो फेरि मेरो पवित्र नामलाई म अपवित्र हुन दिनेछैनँ; अनि जाति-जातिहरूले म याहवेह नै इस्राएलमा पवित्र परमेश्‍वर हुँ भनी जान्‍नेछन्। यो आइरहेको छ! यो निश्‍चय नै हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। मैले भनेको दिन यही हो।
“ ‘तब इस्राएलका सहरहरूमा बस्‍नेहरू बाहिर निस्केर जानेछन्; अनि हतियारहरू दाउराझैँ प्रयोग गर्नेछन् र ती जलाइदिनेछन्—साना र ठूला ढालहरू, धनु र काँडहरू, लडाइँका लाठाहरू र भालाहरू। सात वर्षसम्म तिनीहरूले ती हतियारहरूलाई दाउराको रूपमा प्रयोग गर्नेछन्। 10 तिनीहरूले मैदानबाट दाउरा बटुल्न आवश्यक पर्नेछैन, न त जङ्गलबाट काट्नु पर्नेछ; किनकि तिनीहरूले ती हतियारहरूलाई दाउराको निम्ति प्रयोग गर्नेछन्। तिनीहरूले आफूलाई लुट्नेहरूलाई लुट्नेछन् र तिनीहरूलाई खोस्‍नेहरूलाई तिनीहरूले खोस्‍नेछन्, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
11 “ ‘त्यस दिन म गोगलाई इस्राएलको सागरको पूर्वतिर यात्रा गर्नेहरूको बेँसीमा एउटा चिहान दिनेछु। गोग र त्यसका सबै सेना दलहरू त्यहाँ गाडिएको कारण यात्रीहरूको बाटो बन्द हुनेछ। यसकारण त्यसलाई हमोन गोगको बेँसी भनिनेछ।
12 “ ‘देशलाई शुद्ध पार्नका निम्ति इस्राएलका मानिसहरूले तिनीहरूलाई सात महिनासम्म गाडिरहनेछन्। 13 देशका सबै मानिसहरूले तिनीहरूलाई गाड्नेछन्; अनि मैले मेरो महिमा प्रकट गरेको दिन तिनीहरूका निम्ति एउटा स्मरणीय दिन हुनेछ, प्रभु याहवेह घोषणा गर्नुहुन्छ। 14 देशलाई शुद्ध पार्नका निम्ति मानिसहरू नियमित रूपमा नियुक्त गरिनेछन्। तिनीहरू देशभरि जानेछन्; अनि तिनीहरूले अरू मानिसहरूसँग मिलेर जमिनमा लडिरहेका मृत शरीरहरूलाई गाड्नेछन्।
“ ‘सात महिना बितेपछि तिनीहरूले आफ्नो विस्तृत खोजी सुरु गर्नेछन्। 15 जब तिनीहरू देशभरि जान्छन्, र मानव हड्डीलाई जो कोहीले देख्छन्, तब चिहान खन्‍नेहरूले त्यसलाई हमोन गोगको बेँसीमा नगाडेसम्म, त्यस हड्डीको छेउमा एउटा चिन्ह लगाइराख्नेछन्। 16 त्यहाँ सहरको नजिक हमोनाह* नाम भएको एउटा सहर पनि हुनेछ। यसरी तिनीहरूले देशलाई शुद्ध पार्नेछन्।’
17 “हे मानिसको छोरा, प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हरेक किसिमका चरा र सबै जङ्गली पशुहरूलाई बोलाएर भन्: ‘मैले तिमीहरूका निम्ति तयार पारिरहेको इस्राएलको पर्वतहरूमाथि हुने ठूलो बलिदानमा चारैतिरबाट एकसाथ भेला होओ। त्यहाँ तिमीहरूले मासु खानेछौ र रगत पिउनेछौ। 18 तिमीहरूले वीर योद्धाहरूका मासु खानेछौ, र तिमीहरूले पृथ्वीका शासकहरूको रगत, साँढभेडाहरू, थुमाहरू र बाख्राहरू र गोरुहरूका रगतझैँ पिउनेछौ; तिनीहरू सबै बासानका मोटा जनावरहरूजस्ता थिए। 19 मैले तिमीहरूका निम्ति तयार पारिरहेको बलिदानमा तिमीहरूले वाक्‍क भइन्जेल मोटो मासु खानेछौ, र मातिन्जेल रगत पिउनेछौ। 20 मेरो टेबुलमा तिमीहरूले अघाउन्जेल घोडाहरू र तिनका सवारहरू, वीर योद्धाहरू र हरेक किसिमका सैनिकहरूलाई खानेछौ,’ प्रभु याहवेह घोषणा गर्नुहुन्छ।
21 “म मेरो महिमा जातिहरूको बीचमा प्रदर्शन गर्नेछु; अनि मैले तिनीहरूमाथि ल्याएको दण्ड र मैले तिनीहरूमाथि मेरो हात राखेको सबै जातिहरूले देख्नेछन्। 22 त्यस दिनदेखि उसो इस्राएलका मानिसहरूले म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्। 23 इस्राएलका मानिसहरू मप्रति अविश्‍वासयोग्य भएकाले तिनीहरूका पापको कारण तिनीहरू निर्वासनमा गएका थिए भनी ती जातिहरूले जान्‍नेछन्। यसकारण मैले तिनीहरूबाट आफ्नो अनुहार लुकाएँ र तिनीहरूलाई तिनीहरूका शत्रुहरूकहाँ सुम्पिदिएँ; अनि तिनीहरू सबै तरवारद्वारा मारिए। 24 मैले तिनीहरूसँग तिनीहरूका अशुद्धपन र तिनीहरूका अपराधअनुसार व्यवहार गरेँ; अनि मैले मेरो अनुहार तिनीहरूबाट लुकाएँ।
25 “यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ: अब म याकोबका सुदिन पुनर्स्थापित गर्नेछु, र इस्राएलका सबै मानिसहरूप्रति दया देखाउनेछु; अनि म मेरो पवित्र नामका निम्ति जोशिलो हुनेछु। 26 जब तिनीहरू आफ्ना देशमा सुरक्षितसाथ बस्‍नेछन्, र कसैबाट भयभीत हुनेछैनन्, तब तिनीहरूले आफ्ना शर्म र तिनीहरूले मप्रति देखाएका अविश्‍वासनियता बिर्सनेछन्। 27 जब म तिनीहरूलाई जाति-जातिहरूबाट फर्काएर ल्याउनेछु, र तिनीहरूका शत्रुहरूका देशहरूबाट तिनीहरूलाई भेला गराउनेछु, तब म तिनीहरूद्वारा धेरै जातिहरूको दृष्‍टिमा आफूलाई पवित्र प्रमाणित गर्नेछु। 28 तब तिनीहरूले म याहवेह नै तिनीहरूका परमेश्‍वर हुँ भनी जान्‍नेछन्; किनकि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा निर्वासनमा पठाए तापनि म तिनीहरूमध्ये कसैलाई पनि नछोडी तिनीहरूका आफ्नै देशमा भेला गराउनेछु। 29 म तिनीहरूबाट अब उप्रान्त फेरि मेरो अनुहार लुकाउनेछैनँ; किनकि म मेरो आत्मा इस्राएलका मानिसहरूमाथि खन्याउनेछु, प्रभु याहवेह घोषणा गर्नुहुन्छ।”
* 39:16 हमोनाह यसको अर्थ सेनाको दल