5
आदमदेखि नोआसम्मको वंशावली
1 आदमको वंशको विवरण यही हो:
जब परमेश्वरले मानिस जातिलाई सृष्टि गर्नुभयो, तब उहाँले तिनलाई परमेश्वरको स्वरूपमा बनाउनुभयो।
2 उहाँले तिनीहरूलाई पुरुष र स्त्री बनाउनुभयो, र तिनीहरूलाई आशिष् दिनुभयो। तिनीहरूको सृष्टि हुँदा उहाँले तिनीहरूलाई “मानिस जाति” नाम दिनुभयो।
3 आदम 130 वर्षको हुँदा, तिनीजस्तै तिनको आफ्नै स्वरूपमा एउटा छोरा भयो, र तिनले त्यसको नाम शेत राखे।
4 शेतको जन्मपछि आदम 800 वर्षसम्म बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
5 आदम जम्मा 930 वर्षसम्म बाँचे; अनि तिनी मरे।
6 शेतको उमेर 105 वर्षको हुँदा, तिनी एनोशका पिता भए।
7 तिनी एनोशका पिता भएपछि शेत 807 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी पनि जन्मिए।
8 शेत जम्मा 912 वर्षसम्म बाँचे; अनि तिनी मरे।
9 एनोशको उमेर 90 वर्षको हुँदा, तिनी केनानका पिता भए।
10 अनि तिनी केनानका पिता भएपछि, एनोश 815 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी भए।
11 एनोश जम्मा 905 वर्षसम्म बाँचे; अनि तिनी मरे।
12 केनानको उमेर 70 वर्षको हुँदा, तिनी महलालेलका पिता भए।
13 अनि तिनी महलालेलका पिता भएपछि, केनान 840 वर्ष बाँचे; र तिनका अरू छोराछोरी जन्मिए।
14 केनान जम्मा 910 वर्षसम्म बाँचे; अनि तिनी मरे।
15 महलालेलको उमेर 65 वर्षको हुँदा, तिनी येरेदका पिता भए।
16 अनि तिनी येरेदका पिता भएपछि, महलालेल 830 बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
17 महलालेल जम्मा 895 वर्षसम्म बाँचे; अनि तिनी मरे।
18 येरेदको उमेर 162 वर्षको हुँदा, तिनी हनोकका पिता भए।
19 अनि तिनी हनोकका पिता भएपछि येरेद 800 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
20 येरेद जम्मा 962 वर्षसम्म बाँचे, र तिनी मरे।
21 हनोकको उमेर 65 वर्षको हुँदा, तिनी मतूशेलहका पिता भए।
22 अनि तिनी मतूशेलहका पिता भएपछि हनोक परमेश्वरसित 300 वर्ष विश्वासयोग्य भएर बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
23 हनोक जम्मा 365 वर्षसम्म बाँचे।
24 हनोक परमेश्वरसित विश्वासयोग्य भएर बाँचे। अनि तिनी अलप भए; किनकि परमेश्वरले तिनलाई उठाइलैजानुभयो।
25 मतूशेलहको उमेर 187 वर्षको हुँदा, तिनी लेमेकका पिता भए।
26 अनि तिनी लेमेकका पिता भएपछि मतूशेलह 782 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
27 मतूशेलह जम्मा 969 वर्षसम्म बाँचे; अनि तिनी मरे।
28 लेमेकको उमेर 182 वर्षको हुँदा, तिनको एउटा छोरा जन्मियो।
29 अनि तिनले यसो भनेर त्यसको नाम नोआ राखे, “याहवेहले श्राप दिनुभएको भूमिमा हाम्रा हातले गरेको काम र कष्टदायक परिश्रममा यसले हामीलाई सान्त्वना दिनेछ।”
30 नोआ जन्मेपछि लेमेक 595 वर्ष बाँचे; अनि तिनका अरू छोराछोरी जन्मिए।
31 लेमेक जम्मा 777 वर्षसम्म बाँचे; अनि तिनी मरे।
32 नोआ 500 वर्ष पुगेपछि तिनी शेम, हाम र येपेतका पिता भए।