8
नयाँ करारका प्रधान पुजारी
हामीले भन्‍न चाहेको मुख्य कुरा यही हो: हामीसँग यस्ता प्रधान पुजारी हुनुहुन्छ, जो स्वर्गमा महामहिमको सिंहासनको दाहिने हाततिर विराजमान हुनुहुन्छ ती प्रधान पुजारीले साँचो पवित्र वासस्थानमा सेवा गर्नुहुन्छ, जुन वासस्थान मानिसले होइन, तर प्रभुले नै निर्माण गर्नुभएको हो।
हरेक प्रधान पुजारी भेटी र बलिदानहरू चढाउनको लागि नियुक्त गरिएको हुन्छ; अनि यी प्रधान पुजारीसँग पनि चढाउनको लागि केही हुनुपर्थ्यो। यदि उहाँ संसारमा हुनुभएको भए उहाँ पुजारी हुनुहुनेथिएन; किनकि व्यवस्थाले तोकिदिएअनुसार भेटी चढाउनलाई त पुजारीहरू छँदैछन्। तिनीहरूले एउटा पवित्रस्थानमा सेवा गर्दछन्, जुनचाहिँ स्वर्गमा भएका कुराको नक्‍कल र छाया मात्र हुन्। यसैकारण मोशाले पवित्र वासस्थान बनाउन लाग्दा तिनलाई यसरी चेतावनी दिइएको थियो: “हेर, तँलाई पर्वतमा देखाइएको नमुनाअनुसार नै हरेक कुरा बनाउनू।”* वास्तवमा येशूले पाउनुभएको सेवा पुरानोभन्दा उच्‍च दर्जाको छ; किनकि नयाँ करार अझ उत्तम प्रतिज्ञामा स्थापित भएकोले उहाँले मध्यस्थ गरेको करार पनि त्यो पुरानो करारभन्दा उच्‍च दर्जाको छ।
किनकि यदि त्यो पहिलो करार दोषरहित भएको भए अर्को करारको खाँचो हुनेथिएन। तर परमेश्‍वरले मानिसहरूमा दोष भेटेर भन्‍नुभयो:
“यस्ता दिनहरू आउनेछन्, प्रभु घोषणा गर्नुहुन्छ,
जब म इस्राएलका मानिसहरू
र यहूदाका मानिसहरूसँग
नयाँ करार स्थापित गर्नेछु।
यो त्यस करारजस्तै हुनेछैन,
जुन करार मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेँ;
जब मैले तिनीहरूलाई हात समातेर
इजिप्टबाट डोर्‍याएर ल्याएको थिएँ;
किनकि तिनीहरू मेरा करारप्रति विश्‍वासयोग्य भएनन्,
अनि म तिनीहरूदेखि विमुख भएँ,
प्रभु घोषणा गर्नुहुन्छ।
10 त्यसपछि म इस्राएलका मानिसहरूसँग यो करार बाँध्नेछु,
प्रभु घोषणा गर्नुहुन्छ।
म आफ्नो व्यवस्था तिनीहरूका मनमा राखिदिनेछु
र ती तिनीहरूका हृदयमा लेखिदिनेछु।
म तिनीहरूका परमेश्‍वर हुनेछु,
र तिनीहरू मेरा मानिसहरू हुनेछन्।
11 अब उसो कुनै पनि मानिसले आफ्नो छिमेकीलाई
अथवा एक-अर्कालाई,
‘प्रभुलाई चिन’ भनी सिकाउनेछैन;
किनकि सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्‍नेछन्।
12 किनकि म तिनीहरूका दुष्‍टता क्षमा गरिदिनेछु,
र तिनीहरूका पापहरू फेरि सम्झनेछैनँ।”
13 यस करारलाई “नयाँ” भनेर उहाँले पहिलोलाई चाहिँ काम नलाग्ने तुल्याउनुभयो; अनि जुन काम नलाग्ने र थोत्रो हुन्छ, त्यो चाँडै हराएर जानेछ।
* 8:5 प्रस 25:40 8:12 यर्मिया 31:31‑34