62
सियोनको नयाँ नाम
यरूशलेमको धार्मिकता प्रभातझैँ नचम्केसम्म,
त्यसको मुक्ति राँकोझैँ चहकिलो नबलेसम्म,
म सियोनको खातिर चुप रहनेछैनँ;
म यरूशलेमको खातिर मौन रहनेछैनँ।
जाति-जातिहरूले तेरो धार्मिकता,
सबै राजाहरूले तेरो गौरव देख्नेछन्;
याहवेहले आफ्नै मुखले दिनुहुने
नयाँ नामद्वारा तँ बोलाइनेछस्।
तँ याहवेहको हातमा गौरवको एउटा मुकुट,
र आफ्नो परमेश्‍वरको हातमा राजकीय शिरपेच हुनेछस्।
अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्‍नेछैनन्,
न त तेरो देशलाई उजाड भन्‍नेछन्।
तर तँलाई हेप्सीबा,*
र तेरो देशलाई ब्युलाह भनिनेछ;
किनकि याहवेह तँसित प्रसन्‍न हुनुहुनेछ,
र तेरो देशलाई विवाह गरिनेछ।
जसरी एउटा जवान मानिसले एउटी कन्ये-केटीलाई विवाह गर्छ,
त्यसरी नै तेरा निर्माणकर्ताले तँलाई विवाह गर्नुहुनेछ;
जसरी दुलहा आफ्नी दुलहीमा रमाउँछ,
त्यसरी नै तेरा परमेश्‍वर तँसित रमाउनुहुनेछ।
 
हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु;
तिनीहरू दिनरात कहिल्यै चुपचाप बस्‍न पाउनेछैनन्।
हे याहवेहलाई पुकार्नेहरू हो,
आफूलाई विश्राम नदेओ;
उहाँले यरूशलेमलाई स्थापित नगर्नुभएसम्म
र त्यसलाई पृथ्वीको प्रशंसा नबनाउनुभएसम्म उहाँलाई विश्राम नदेओ।
 
याहवेहले आफ्नो दाहिने हात
र आफ्ना शक्तिशाली बाहुलीको शपथ लिनुभएको छ:
“म फेरि कहिल्यै तेरो अन्‍न तेरा शत्रुहरूलाई
भोजनको निम्ति दिनेछैनँ;
अनि नयाँ दाखमद्य, जसको निम्ति तैँले परिश्रम गरेको थिइस्,
त्यो विदेशीहरूले कहिल्यै पिउन पाउनेछैनन्।
तर त्यसको कटनी गर्नेहरूले नै त्यो खानेछन्,
र याहवेहको प्रशंसा गर्नेछन्;
अनि जसले अङ्‌गुर बटुल्नेछन्,
तिनीहरूले नै मेरो पवित्रस्थानका चोकहरूमा ती पिउनेछन्।”
 
10 जाओ, मूलढोकाहरूबाट भएर जाओ!
मानिसहरूका निम्ति बाटो तयार पार।
बनाओ, राजमार्ग बनाओ!
ढुङ्गाहरू हटाओ।
जाति-जातिहरूका निम्ति झण्डा खडा गर।
 
11 याहवेहले पृथ्वीको पल्‍लो छेउसम्म
घोषणा गर्नुभएको छ:
“सियोनकी छोरीलाई भन,
‘हेर्, तेरा मुक्तिदाता आउनुहुन्छ!
हेर्, उहाँको पुरस्कार उहाँसित छ,
र उहाँको प्रतिफल उहाँको साथमा नै छ।’ ”
12 तिनीहरू पवित्र जाति,
याहवेहबाट छुटकारा पाएकाहरू भनिनेछन्;
तिमीहरूलाई अब उसो परमेश्‍वरले खोज्नुभएको सहर,
नत्यागिएको सहर भनिनेछ।
* 62:4 हेप्सीबा जसको अर्थ उसमा मेरो खुशी छ। 62:4 ब्युलाह जसको अर्थ विवाहित 62:5 अथवा छोराहरू