12
सुत्केरीको शुद्धीकरण
1 याहवेहले मोशालाई भन्नुभयो,
2 “इस्राएलीहरूलाई भन्: ‘जुन स्त्रीले गर्भवती भएर छोरा जन्माउँछे, त्यो आफ्नो रजस्वलाको समयमा अशुद्ध रहेझैँ सात दिनसम्म विधिपूर्वक अशुद्ध रहनेछे।
3 आठौँ दिनमा त्यस बालकको खलडीको खतना गरिनुपर्छ।
4 त्यसपछि आफ्नो रक्तस्राव शुद्ध हुनको लागि त्यस स्त्रीले तेत्तीस दिनसम्म पर्खनुपर्छ। त्यसले कुनै पवित्र कुरा नछोओस्, अथवा आफ्नो शुद्धीकरणको समय पूरा नहोउन्जेल पवित्रस्थानमा नजाओस्।
5 त्यसले छोरी जन्माई भने आफ्नो रजस्वलाको समयमा झैँ त्यो दुई हप्तासम्म अशुद्ध हुनेछे। त्यसपछि आफ्नो रक्तस्रावबाट शुद्ध हुनको लागि त्यसले छयसट्ठी दिनसम्म पर्खनुपर्छ।
6 “ ‘आफ्नो छोरा अथवा छोरीका लागि त्यसका शुद्धीकरणका दिनहरू पूरा भएपछि त्यसले भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ होमबलिका निम्ति एकवर्षे थुमा र पाप शुद्धीकरण बलिका निम्ति एउटा कलिलो परेवा अथवा ढुकुर ल्याओस्।
7 त्यसले ती बलिलाई याहवेहको सामु आफ्नो प्रायश्चितको निम्ति चढाउनुपर्छ। त्यसपछि त्यो आफ्नो रक्तस्रावबाट शुद्ध हुनेछे।
“ ‘कुनै स्त्रीले छोरा वा छोरी जन्माएको विषयमा नियमहरू यिनै हुन्।
8 यदि त्यस स्त्रीसँग थुमा किनेर ल्याउने रकम छैन भने त्यसले एक जोर ढुकुर अथवा परेवाका दुई वटा बचेरा, एउटा होमबलिका निम्ति र अर्को पाप शुद्धीकरण बलिका निम्ति ल्याओस्। यस किसिमले पुजारीले त्यसका निम्ति प्रायश्चित गर्नेछ, र त्यो शुद्ध हुनेछे।’ ”