14
थुमा तथा 1,44,000 हजार
1 तब मैले हेरेँ, र मेरो सामु सियोन पर्वतमा थुमालाई उभिरहनुभएको देखेँ। उहाँसँग 1,44,000 लाई देखेँ, जसको निधारमा उहाँ र उहाँका पिताको नाम लेखिएको थियो।
2 तब मैले स्वर्गबाट जोडसित बग्दै गरेको पानी र ठूलो गर्जनजस्तो आवाज आइरहेको सुनेँ। मैले सुनेको आवाज वीणा वादकहरूले आफ्ना वीणाहरू बजाएको जस्तै थिए।
3 तिनीहरूले सिंहासनको सामु ती चार वटा जीवित प्राणीहरूको र प्रधानहरूको सामु एउटा नयाँ गीत गाए। पृथ्वीबाट छुटकारा पाएका ती 1,44,000 ले बाहेक कसैले पनि त्यो गीत सिक्न सक्दैनथे।
4 यी मानिसहरू ती हुन्, जो स्त्रीहरूसित बिटुलिएनन्; किनकि तिनीहरूले आफूलाई शुद्ध राखेका थिए। थुमा जहाँ जानुहुन्छ, तिनीहरूले उहाँलाई पछ्याउँछन्। तिनीहरू मानव जातिबाट किनिएका थिए; अनि परमेश्वर र थुमालाई पहिलो फलझैँ चढाइए।
5 तिनीहरूका मुखमा कुनै झूट पाइएन; तिनीहरू निर्दोष छन्।
तीन स्वर्गदूतहरू
6 तब मैले बीच आकाशमा उडिरहेका अर्को स्वर्गदूतलाई देखेँ, र तिनीसित पृथ्वीमा बस्नेहरू, प्रत्येक राष्ट्र, कुल, भाषा र जातिहरूलाई घोषणा गर्नुपर्ने अनन्तको सुसमाचार थियो।
7 तिनले चर्को सोरले भने, “परमेश्वरसित डराओ, र उहाँलाई महिमा देओ; किनकि उहाँको न्यायको बेला आएको छ। उहाँको आराधना गर, जसले स्वर्गहरू, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुभयो।”
8 दोस्रो स्वर्गदूतले पनि आएर भने सबै राष्ट्रहरूलाई आफ्नो व्यभिचारी कामवासनाको मद्यको कचौरा पिउन लगाउने, “महान् सहर बेबिलोनको पतन भयो! पतन भयो।”
9 ती दुई स्वर्गदूतका पछि तेस्रो स्वर्गदूतले चर्को सोरले भने: “यदि कसैले त्यस पशु र त्यसको मूर्तिलाई आराधना गर्छ र त्यसको छाप निधारमा अथवा हातमा लगाउँछ भने,
10 त्यसले पनि उहाँको क्रोधको कचौरामा केही नमिसाई तयार गरिएको परमेश्वरको क्रोधको कडा मद्य पिउनेछ। त्यसलाई पवित्र स्वर्गदूतहरू र थुमाको उपस्थितिमा बल्दैगरेको गन्धकमा यातना दिइनेछ।
11 अनि तिनीहरूका यातनाको धुवाँ सदासर्वदा उँभोतिर उठिरहनेछ। जसले त्यो पशु र त्यसको मूर्तिको आराधना गर्छन् र जसले त्यसको नामको छाप लगाउँछन्, तिनीहरूले दिनरात आराम पाउनेछैनन्।”
12 परमेश्वरका आज्ञाहरू पालन गर्ने, र येशूप्रति विश्वासयोग्य भइरहने परमेश्वरका जनहरूको धीरज र सहनशीलता यसैमा हुनुपर्छ।
13 तब मैले स्वर्गबाट आएको एउटा आवाजले यसो भनिरहेको सुनेँ, “यो लेख: अब उसो प्रभुमा मर्नेहरू धन्यका हुन्।”
आत्मा भन्नुहुन्छ, “हो, तिनीहरूले परिश्रमबाट विश्राम पाउनेछन्; किनकि तिनीहरूका काम तिनीहरूका साथ लाग्नेछन्।”
पृथ्वीको कटनी
14 तब मैले हेरेँ, र मेरो सामु एउटा सेतो बादल थियो; त्यस बादलमा एक जना “मानिसको पुत्रजस्तै” बसिरहेको थियो, जसको शिरमा सुनको मुकुट र हातमा एउटा धारिलो हँसिया थियो।
15 तब मन्दिरबाट अर्का स्वर्गदूत आए, र बादलमा बसिरहनुहुनेलाई चर्को सोरले भने, “तपाईंको हँसिया लिएर कटनी गर्नुहोस्; किनकि कटनीको समय आएको छ, र पृथ्वीको बाली पाकिसकेको छ।”
16 यसरी बादलमा बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो; अनि पृथ्वीमा कटनी भयो।
17 स्वर्गमा भएको मन्दिरबाट अर्का स्वर्गदूत आए, तिनीसित पनि एउटा धारिलो हँसिया थियो।
18 आगोको जिम्मेवारी पाएका अर्का स्वर्गदूत वेदीबाट आए, र धारिलो हँसिया हुनेलाई चर्को सोरमा भने, “तिम्रो हँसिया लिएर पृथ्वीको अङ्गुरका झुप्पाहरू बटुल; किनकि अङ्गुर पाकिसकेको छ।”
19 त्यस स्वर्गदूतले आफ्नो हँसिया पृथ्वीमा चलाए, र त्यसमा भएका अङ्गुर बटुले; अनि तिनीहरूलाई परमेश्वरको क्रोधको ठूलो दाखको कोलमा फालिदिए।
20 सहर बाहिरको दाखको कोलमा त्यो अङ्गुर कुल्चीमिल्ची गरियो, र दाखको कोलबाट रगत निस्केर आयो। त्यो रगत घोडाको लगामसम्म आयो, र त्यो 300 किलोमिटर सम्म फैलिएको थियो।