7
1,44,000 लाई छाप लगाइएको
1 यसपछि मैले चार जना स्वर्गदूतहरूलाई पृथ्वीको चार कुनामा उभिरहेका देखेँ, जसले जमिनमा, समुद्रमा अथवा कुनै रूखमा कतैबाट पनि बतास नचलोस् भनेर रोक्नलाई पृथ्वीका चारै वटा बतासलाई रोकिराखेका थिए।
2 तब मैले जीवित परमेश्वरको छाप लिएर अर्को स्वर्गदूतलाई पूर्वबाट उक्लिरहेको देखेँ। उनले जमिन र समुद्रलाई हानि गर्ने अख्तियार पाएका चार जना स्वर्गदूतहरूलाई जोडसित भने,
3 “जबसम्म हामीले परमेश्वरका सेवकहरूका निधारहरूमा छाप लगाइसक्दैनौँ, तबसम्म जमिन, समुद्र अथवा रूखहरूलाई हानि नगर्नू।”
4 तब मैले छाप पाएकाहरूको संख्या सुनेँ, अर्थात् तिनीहरू इस्राएलका सबै कुलहरूबाट 1,44,000 थिए।
5 यहूदाको कुलबाट 12,000 लाई छाप लगाइयो।
रूबेनको कुलबाट 12,000 लाई,
गादको कुलबाट 12,000 लाई,
6 आशेरको कुलबाट 12,000 लाई,
नप्तालीको कुलबाट 12,000 लाई,
मनश्शेको कुलबाट 12,000 लाई,
7 शिमियोनको कुलबाट 12,000 लाई,
लेवीको कुलबाट 12,000 लाई,
इस्साखारको कुलबाट 12,000 लाई,
8 जबूलूनको कुलबाट 12,000 लाई,
योसेफको कुलबाट 12,000 लाई,
बेन्यामीनको कुलबाट 12,000 लाई छाप लगाइयो।
सेतो वस्त्र लगाएका ठूलो भीड
9 त्यसपछि मैले प्रत्येक राष्ट्र, कुल, जाति र भाषाबाट कसैले गन्न नसक्ने एउटा ठूलो भीडलाई सिंहासनको र थुमाको सामु उभिरहेका देखेँ। तिनीहरूले पाउसम्मै लामो सेतो वस्त्र पहिरेका र हातमा खजूरका हाँगाहरू लिएका थिए।
10 तिनीहरू चर्को सोरमा कराए:
“सिंहासनमा विराजमान हुनुहुने,
हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।”
11 सबै स्वर्गदूतहरू सिंहासन, प्रधानहरू र चार वटा जीवित प्राणीहरूका वरिपरि उभिरहेका थिए। तिनीहरू सिंहासनको सामु घोप्टो परे, र यसो भन्दै परमेश्वरलाई आराधना गरे,
12 “आमेन!
हाम्रा परमेश्वरलाई प्रशंसा,
महिमा, बुद्धि, धन्यवाद,
आदर, शक्ति र बल
सदासर्वदा भइरहोस्!
आमेन!”
13 तब प्रधानहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्र पहिरनेहरू को हुन् र कहाँबाट आएका हुन्?”
14 तब मैले उत्तर दिएँ, “हजुर, तपाईं नै जान्नुहुन्छ।”
अनि तिनले भने, “यी तिनीहरू हुन्, जो महासङ्कष्टबाट निस्केर आएका छन्; तिनीहरूले आफ्ना वस्त्रहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।
15 यसकारण
“तिनीहरू परमेश्वरको सिंहासनको सामु छन्;
अनि तिनीहरू उहाँको मन्दिरमा दिनरात उहाँको सेवा गर्छन्;
अनि सिंहासनमा बस्नुहुनेले
आफ्नो उपस्थितिले तिनीहरूलाई शरण दिनुहुनेछ।
16 ‘तिनीहरू फेरि कहिल्यै भोकाउने छैनन्;
तिनीहरू फेरि कहिल्यै तिर्खाउनेछैनन्।
तिनीहरूलाई सूर्यको प्रचण्ड तापले पोल्नेछैन।’
17 किनकि सिंहासनको बीचमा हुनुहुने थुमा
तिनीहरूका गोठाला हुनुहुनेछ;
‘उहाँले तिनीहरूलाई जिउँदो पानीको स्रोतसम्म डोर्याउनुहुनेछ।’
‘अनि परमेश्वर आफैँले तिनीहरूका आँखाहरूबाट सबै आँसुहरू पुछिदिनुहुनेछ।’”