5
1 त्यो दिन दबोरा र अबीनोअमका छोरा बाराकले यो गीत गाए:
2 “जब अगुवाहरूले इस्राएललाई नेतृत्व गर्छन्, जब मानिसहरू युद्धको निम्ति स्वइच्छाले राजी हुन्छन्, तब हामी परमप्रभुको प्रशंसा गर्छौं!
3 ए राजाहरू, सुन! ए अगुवाहरू ध्यान देओ! म परमप्रभुको निम्ति गाउनेछु । म इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गाउनेछु ।
4 हे परमप्रभु, जब तपाईं सेइरबाट बाहिर निस्कनुभयो, जब तपाईं एदोमबाट हिंड्नुभयो, तब पृथ्वी काँप्यो, र आकाश पनि थरथर डरायो । अनि बादलहरूले पानी झारे ।
5 परमप्रभुको मुहारको सामु पहाडहरू थरथर डराए । इस्राएलका परमप्रभु परमेश्वरको मुहारको सामु सिनै पर्वत पनि थरथर काँप्यो ।
6 शमगर (अनातका छोरा) को समयमा, याएलको समयमा, मुल बाटोहरू त्यागिएका थिए, अनि पदयात्रीहरूले घुमाउरा बाटोहरू मात्र प्रयोग गरे ।
7 म, दबोरा, इस्राएलकी आमाको रूपमा खडा नभएसम्म, इस्राएलका गाउँहरूमा थोरै मानिसहरू मात्र थिए!
8 जब तिनीहरूले नयाँ देवताहरू चुने, तब त्यहाँ सहरका मुल ढोकाहरूमा युद्ध हुन्थ्यो र पनि त्यहाँ इस्राएलमा भएका चालिस हजार जनासँग कुनै ढाल वा भालाहरू देखिएन ।
9 मेरो हृदय इस्राएलका कमाण्डरहरू र स्वइच्छाले सेवा गर्ने मानिसहरूप्रति छ । तिनीहरूका निम्ति हामी परमप्रभुको प्रशंसा गर्छौं!
10 ए सेता गधाहरूमा बसेर सवार हुनेहरू, पिठ्युँका राडीहरूमा बस्नेहरू र सडकमा हिंड्नेहरू हो, यसको बारेमा विचार गर ।
11 पँधेराहरूमा गीत गाउनेहरूका सोर सुन । त्यहाँ तिनीहरू फेरि पनि परमप्रभुका धार्मिक कामहरू, र इस्राएलमा उहाँका योद्धाहरूका धार्मिक कामहरूका बारेमा बताउँछन् । अनि परमप्रभुका मानिसहरू सहरका प्रवेशद्वारहरूतिर लागे ।
12 उठ, उठ दबोरा! उठ, उठ, एउटा गीत गाऊ! ए बाराक, ए अबीनोअमका छोरा, उठ, र आफ्ना कैदीहरूलाई समाऊ ।
13 तब बाँचेकाहरू कुलिनहरूकहाँ आए । परमप्रभुका मानिसहरू योद्धाहरूसँग मकहाँ तल आए ।
14 तिनीहरू एफ्राइमबाट आए, जसको जग अमालेकमा छ । बेन्यामीनका मानिसहरू तिमीहरूका पछि आए । माकीरबाट कमाण्डरहरू, र जबूलूनबाट अधिकारीका लौरो लिनेहरू तल आए ।
15 इस्साखारका मेरा राजकुमारहरू दबोरासित थिए । र इस्साखार बाराकसित थिए उनको पछि-पछि उनको कमाण्डमा तिनीहरू बेसीमा गए । रूबेनका कुलहरूका माझमा हृदय खोज्ने काम धेरै भयो ।
16 गोठालाहरूले आफ्ना बगालको निम्ति बाँसुरी बजाएको सुन्दै, तिमीहरू किन आगोका वरिपरि बस्यौ? रूबेनका कुलहरूका बारेमा हृदय खोज्ने काम धेरै भयो ।
17 गिलाद यर्दनको पारिपट्टि नै बस्यो । अनि दान, ऊ जहाजहरूमा किन घुमिरह्यो? आशेर समुद्र किनारमा नै रह्यो र आफ्ना बन्दरगाहहरूको नजिक बस्यो ।
18 जबूलून यस्तो कुल थियो जसले मृत्युको सामु आफ्नो प्राण जोखिममा पार्थ्यो, र नप्तालीले पनि युद्धको मैदानमा त्यसै गर्यो ।
19 राजाहरू आए, तिनीहरू युद्ध लडे । कनानका राजाहरू मगिद्दोका खोलाहारू नजिक तानाकमा युद्ध लडे । तर तिनीहरूले लुटको रूपमा कुनै चाँदी लगेनन् ।
20 आकाशबाट ताराहरू युद्ध लडे, आकाशमा तिनीहरूका मार्गहरूबाट तिनीहरू सीसराको विरुद्धमा युद्ध लडे ।
21 कीशोन खोलाले तिनीहरूलाई बगायो, त्यो पुरानो खोला, कीशोन खोला । ए मेरो प्राण, निरन्तर हिंड, शाहसी हो!
22 तब घोडाहरूका टापहरूका आवाज, त्यसका शक्तिशालीहरू कुदेको आवाज आयो ।
23 परमप्रभुका दूतले भन्छन्, ‘मेरोजलाई सराप!’ ‘त्यसमा बसोबास गर्नेहरूलाई निश्चय नै सराप! किनभने शक्तिशाली योद्धाहरूसँगको युद्धमा, तिनीहरू परमप्रभुलाई सहायता गर्न आएनन् ।’
24 सबै स्त्रीहरूमा याएल धेरै आशिषित छिन्, याएल (केनी हेबेरकी पत्नी), पालहरूमा बस्ने सबै स्त्रीहरूमा तिनी धेरै आशिषित छिन् ।
25 त्यो मानिसले तिनीसँग पानी माग्यो, र तिनले उसलाई दूध दिईन् । तिनले त्यसको निम्ति राजकुमारहरूलाई सुहाउँदो मक्खन राखिएको भोजन ल्याइन् ।
26 तिनले आफ्नो हात पालको कीलामा राखिन्, र आफ्नो दाहिने हात मुङ्ग्रोमा राखिन् । त्यही मुङ्ग्रोले तिनले सीसरालाई हिर्काइन्, तिनले त्यसको शिर कुच्याइन् । त्यसको कन्चटलाई छेडेर तिनले त्यसको खप्परलाई टुक्रा-टुक्रा पारिन् ।
27 तिनका पाउनेर त्यो मर्यो, त्यो त्यहीं ढल्यो, र त्यहीं ढलिरह्यो । तिनका पाउका बिचमा त्यो ढल्यो । जहाँ त्यो ढल्यो, त्यहीं क्रुरतासित मारियो ।
28 सीसराकी आमाले झ्यालबाट हेरिन् र पीडामा चिच्याएर तिनले भनिन्, ‘उसको रथ आउनलाई किन यति ढिलो भयो? उसका रथहरू तान्ने घोडाहरूका खुट्टा बजेको आवाज किन आएन?’
29 तिनका राजकुमारीमध्ये सबैभन्दा बुद्धिमान्ले जवाफ दिइन्, र तिनले आफैंलाई उही जवाफ दिइन् ।
30 ‘के तिनीहरूले लुटका सामान पाएर आपसमा बाँडेका छैनन् र? हरेक मानिसको निम्ति एउटा कोख, वा दुईवटा कोख । सीसराको निम्ति रङ्गाइएका कपडाहरू, र बुट्टा भएका रङ्गाइएका कपडाहरूका लुटहरू, लुटेराहरूका निम्ति दुईवटा बुट्टा भएका रङ्गाइएका कपडाहरू?’
31 यसैले, हे परमप्रभु, तपाईंका सबै शत्रुहरू नाश होऊन्! तर तपाईंका मित्रहरू आफ्नो शक्तिमा उदाएको सुर्यझैं होऊन् ।” त्यसपछि देशमा चालिस वर्षसम्म शान्ति भयो ।