17
यहूदाका राजा आहाजको बाह्रौं वर्षमा एलाहका छोरा होशियाले राज्‍य सुरु गरे । तिनले सामरियामा बसेर इस्राएलमाथि नौ वर्ष राज्य गरे । परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे, तापनि तिनीभन्दा अगिका इस्राएलका राजाहरूले जस्तै भने होइन । अश्शूरका राजा शलमनेशेरले होशियालाई आक्रमण गरे र उनी तिनका सेवक बने र तिनलाई कर तिरे । त्यसपछि आफ्‍नो विरुद्धमा होशियाले षड्यन्त्र गरेका कुराको जानकरी अश्शूरका राजाले थाहा पाए, किनकि होशियाले मिश्रका राजा सोकहाँ सन्देशवाहकहरू पठाएका थिए । साथै, तिनले अश्शूरका राजालाई वर्षैपिच्छे तिर्दै आएको कर पनि तिरेनन् । त्यसैले अश्शूरका राजाले तिनलाई बन्‍दी बनाए र झ्यालखानामा थुनेर राखे । तब अश्शूरका राजाले देशैभरि आक्रमण गरे, र सामरियामाथि आक्रमण गरे र यसलाई तिन वर्षसम्म घेराबन्दी गरे । होशियाको नवौँ वर्षमा अश्शूरका राजाले सामरियालाई कब्जा गरे र इस्राएलीहरूलाई अश्शूरमा लगे । तिनीहरूलाई गोजानको हाबोर नदीको किनारको हलहमा र मादीहरूका सहरहरूमा तिनले बसाले । इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए, र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए । इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्‍त रूपमा त्यही गरे । धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए । 10 हरेक उच्‍च डाँडा रहरेक हरियो रुखमुनि तिनीहरूले डुङ्गाका मूर्तिहरू र अशेराका खम्बाहरू बनाए । 11 तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे, 12 तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ ।” 13 तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।” 14 तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए । 15 तिनीहरूले उहाँका विधिहरू र तिनीहरूका पुर्खाहरूसित उहाँले बाँध्‍नुभएको करार र उहाँले तिनीहरूलाई दिनुभएका करारका आज्ञाहरूलाई इन्कार गरे । तिनीहरूले बेकम्मा अभ्यासहरूको अनुसरण गरे अनि तिनीहरू आफै पनि बेकम्मा भए । तिनीहरूले आफ्नो वरिपरि भएका अरू जातिहरूको अनुसरण गरे जसको नकल्ल नगर्नू भनेर परमप्रभुले तिनीहरूलाई आज्ञा दिनुभएको थियो । 16 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे । 17 तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए । 18 त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन । 19 यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्, र तिनीहरूले इस्राएलले गरेका अभ्‍यासहरूको अनुसरण गरे । 20 यसैले परमप्रभुले इस्राएलका सबै सन्तानलाई इन्कार गर्नुभयो । उहाँले तिनीहरूलाई कष्‍ट दिनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट नफल्‍नुभएसम्म उहाँले तिनीहरूलाई लुटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिनुभयो । 21 उहाँले इस्राएललाई दाऊदको राजकीय वंशबाट अलग गर्नुभयो, र तिनीहरूले नबातका छोरा यारोबामलाई राजा बनाए । यारोबामले इस्राएललाई परमप्रभुको अनुसरण गर्नबाट बहकाए र तिनीहरूलाई ठुलो पाप गर्न लगाए । 22 इस्राएलका मानिसहरूले यारोबामका सबै पापको अनुसरण गरे र तिनीहरू ती कुराबाट फर्केनन्, 23 त्यसैले परमप्रभुले आफ्ना सबै सेवक अगमवक्ताहरूद्वारा आफूले गर्छु भन्‍नुभएझैँ इस्राएललाई आफ्नो दृष्‍टिबाट हटाउनुभयो । यसरी तिनीहरूको आफ्नै देशबाट इस्राएललाई अश्शूरमा बन्दी बनाएर लगियो, र आजको दिनसम्म पनि त्‍यस्‍तै भएको छ । 24 अश्शूरका राजाले बेबिलोनबाट र कूताबाट र अव्वाबाट हमात र सपर्बेमबाट मानिसहरू ल्याए र इस्राएलका मनिसहरूको साटोमा तिनीहरूलाई सामरियाका सहरहरूमा बसाले । तिनीहरूले सामरिया कब्जा गरे र यसका सहरहरूमा बसे । 25 तिनीहरूले बसोबाससुरु गर्दा तिनीहरूले परमप्रभुलाई आदर गरेनन् । त्यसैले परमप्रभुले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभयो जसलेतिनीहरूमा कसैलाई मारे । 26 त्यसैले तिनीहरूले अश्शूरका राजालाई यसो भने, “तपाईंले बन्दी बनाएर लैजानुभएका जातिहरू र सामरियाका सहरहरूमा बसोबास गरेका मानिसहरूले यस देशका देवताले चाहेका अभ्यासहरूका जान्‍दैनन् । त्यसैले उहाँले तिनीहरूका बिचमा सिंहहरू पठाउनुभएको छ, र सिंहहरूले यहाँ मानिसहरूलाई मर्दैछन् किनकि तिनीहरूले यस देशका देवताले चाहेका अभ्यासहरू जान्‍दैनन् ।” 27 तब अश्शूरका राजाले यसो भनेर आज्ञा दिए, “तिमीहरूले त्यहाँबाट ल्याएका पुजारीहरूमध्ये एउटालाई लिएर जाओ । तिनी गएर त्यहीँ बसून्, र तिनले त्यस देशका देवताले चाहेका अभ्यासहरू मानिसहरूलाई सिकाऊन् ।” 28 त्यसैले तिनीहरूले सामरियाबाट बन्दी बनाएर लगेका पुजारीहरूमध्ये एक जना आए र बेथेलमा बसे । तिनीहरूले परमप्रभुलाई कसरी आदर गर्नुपर्छ भनी तिनले तिनीहरूलाई सिकाए । 29 हरेक जातिले आ-आफ्ना देवताहरू बनाए, अनि सामरीहरूले बनाएका उच्‍च थानहरूमा तिनलाई राखे । आफू बसोबास गर्ने ठाउँमा हरेक जातिले त्‍यसै गरे । 30 बेबिलोनका मानिसहरूले सुक्‍कोन-बनोत बनाए, कूताका मानिसहरूले नेर्गल बनाए, हमातका मानिसहरूले अशीमा बनाए, 31 अव्वीहरूले नेभज र तर्ताक बनाए । सपर्बेमीहरूले आफ्ना देवता अद्रम्मलेक र अनम्मलेकका निम्ति आफ्ना छोराछोरीलाई आगोमा जलाए । 32 तिनीहरूले परमप्रभुको पनि आदर गरे, र तिनीहरूका बिचबाट उच्‍च थानहरूमा पुजारीहरू नियुक्त गरे, जसले उच्‍च स्‍थानमा निर्मित मन्दिरहरूमा आफ्‍ना निम्ति बलि चढाए । 33 तिनीहरूले परमप्रभुलाई आदर गर्थे र जुन जातिहरूबाट आफू ल्याइएका थिए तिनीहरूकै प्रचलनअनुसार आ-आफ्नै देवताहरूको पनि पुज्थे । 34 आजको दिनसम्म तिनीहरू आफ्‍ना पुराना प्रचलनहरूमा लागेकै छन् । तिनीहरूले न परमप्रभुलाई आदर गर्छन्, न त परमप्रभुले इस्राएल नाउँ दिनुभएको याकूबका मानिसहरूलाई उहाँले दिनुभएका विधिहरू, उर्दीहरू, व्यवस्था वा आज्ञाहरू नै तिनीहरूले पालन गर्छन्— 35 अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ । 36 तर महान् शक्ति र उठेका हातहरूले तिमीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभुलाई मात्र तिमीहरूले आदर गर्नुपर्छ । तिमीहरूले उहाँलाई मात्र दण्डवत् गर्नुपर्छ, र उहाँलाई मात्र बलि चढाउनुपर्छ । 37 उहाँले तिमीहरूका निम्ति लेख्‍नुभएका विधिहरू र उर्दीहरू, व्यवस्था र आज्ञाहरूलाई तिमीहरूले सदासर्वदा पालन गर्नेछौ । त्यसैले तिमीहरू अन्य देवताहरूको डर मान्‍नुहुँदैन, 38 र मैले तिमीहरूसित बाँधेको करार तिमीहरूले बिर्सनेछेनौ, न त तिमीहरूले अन्य देवताहरूको आदर गर्नेछौ । 39 तर तिमीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरको आदर गर्नेछौ । उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ ।” 40 तिनीहरूले यो कुरा सुनेनन्, किनकि तिनीहरूले विगतमा गरेका कुरामा तिनीहरू लागिरहे । 41 यसरी यी जातिहरू परमप्रभुदेखि डराए र आफूले खोपेर बनाएका मूर्तिहरूको पनि तिनीहरूले पुजा गरे, अनि तिनीहरूका छोराछोरी र नातिनातिनाले पनि त्‍यसै गरे । आजको दिनसम्म आफ्ना पुर्खाहरूले गरेझैँ तिनीहरूले निरन्‍तर त्‍यसै गर्दैछन् ।