24
यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तिन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे । परमप्रभुले यहोयाकीमको विरुद्धमा कल्दी, अरामी, मोआबी र अम्मोनीहरूका दलहरू पठाउनुभयो । यहूदालाई नष्‍ट गर्न त्यसको विरुद्धमा उहाँले तिनीहरूलाई पठाउनुभयो । परमप्रभुले आफ्ना दास अगमवक्ताहरूद्वारा बोल्नुभएको वचन पुरा हुनलाई यसो भएको थियो । मनश्शेले गरेका सबै पापको कारणले परमप्रभुले यहूदालाई आफ्नो दृष्‍टिबाट हटाउन उहाँले बोल्‍नुभएको कुरा निश्‍चत रूपमा पुरा हुन आयो, तिनले निर्दोष रगत बगाए, किनकि तिनले यरूशलेमलाई निर्दोष रगतले भरेका थिए । त्‍यो कुरा क्षमा गर्न परमप्रभु इच्छुक हुनुभएन । यहोयाकीमका सम्‍बन्‍धमा भएका अरू कुराहरू, र तिनका सबै कामका बारेमा के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र ? यहोयाकीम आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए । मिश्रदेशका राजाले आफ्नो देशभन्‍दा बाहिर फेरि आक्रमण गरेनन्, किनकि मिश्रदेशको खोलादेखि यूफ्रेटिस नदीसम्म मिश्रदेशका राजाको अधीनमा भएका सबै देशलाई बेबिलोनका राजाले कब्जा गरेका थिए । यहोयाकीनले राज्‍य गर्न सुरु गर्दा तिनी अठार वर्षका थिए । तिनले यरूशलेममा तिन महिना राज्य गरे । तिनकी आमाको नाउँ नहूश्ता थियो । उनी यरूशलेमकी एल्नातानकी छोरी थिइन् । परमप्रभुले दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । आफ्ना पिताले गरेका सबै खराब काम तिनले गरे । 10 त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो । 11 बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए, 12 र यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, राजकुमारहरू र तिनका अधिकारीहरू बेबिलोनका राजाकहाँ गए । बेबिलोनका राजाले आफ्नो शासनकालको आठौँ वर्षमा तिनलाई समाते । 13 नबूकदनेसरले परमप्रभुको मन्दिर र राजदरबारबाट सबै मूल्यवान थोकहरू लगे । परमप्रभुले भन्‍नुभएझैँ इस्राएलका राजा सोलोमनले परमप्रभुको मन्दिरमा बनाएका सबै सुनका सामानहरू तिनले काटेर निकाले । 14 तिनले जम्मै इस्राएल, सबै अगुवा, सबै योद्धा, सबै कारीगार र सुनारहरू गरी दस हजारलाई कैद गरेर लगे । देशमा सबैभन्दा गरिबहरूबाहेक कोही छाडिएन । 15 नबूकदनेसरले यहोयाकीन, राजाकी आमा, राजाका पत्‍नीहरू, अधिकारीहरू र देशका मुख्य-मुख्य मानिसहरूलाई बेबिलोनमा कैद गरेर लगे । तिनले यरूशलेमदेखि बेबिलोनमा तिनीहरूलाई कैद गरेर लगे । 16 लडाइँको निम्ति सुयोग्य सबै सात हजार योद्धा र एक हजार कारीगार र सुनार, युद्धको निम्‍ति सुयोग्‍य सबै मानिसहरू— बेबिलोनका राजाले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगे । 17 बेबिलोनका राजाले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा बनाए, र तिनकको नाउँ बद्लेर सिदकियाह राखे । 18 सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । तिनी लिब्नाकी यर्मियाकी छोरी थिइन् । 19 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका सबै खराब काम तिनले गरे । 20 परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।