5
तब मानिसहरू र तिनीहरूका पत्‍नीहरूले आफ्ना यहूदी मित्रहरूका विरुद्धमा ठुलो आवाज उठाए । त्यहाँ केही मानिसहरू थिए जसले भने, “हाम्रा छोराछोरीहरूसमेत गर्दा हामी धेरै छौँ । हामीले खाएर बाँच्नलाई अन्‍न प्राप्‍त गरौँ ।” त्यहाँ अरू केही मानिसहरू पनि थिए जसले भने, “अनिकालको समयमा अन्‍न प्राप्‍त गर्न हामी हाम्रा खेतहरू, हाम्रा दाखबारीहरू र हाम्रा घरहरू बन्धकमा राख्दै छौँ ।” केहीले यसो पनि भने, “राजालाई हाम्रा खेतहरू र हाम्रा दाखबारीहरूको कर तिर्न हामीले पैसा सापट लिएका छौँ । तरै पनि हाम्रा शरीर हाम्रा दाजुभाइहरूका शरीर जस्तै हुन्, र हाम्रा छोराछोरीहरू तिनीहरूका छोराछोरीहरूजस्तै हुन् । हाम्रा छोराछोरीहरूलाई कमारा-कमारी बन्‍नको लागि बेच्न हामी बाध्य छौँ । हाम्रा केही छोरीहरू पहिले नै कमारी भइसकेका छन् । अरू मानिसहरूले हाम्रा खेतहरू र हाम्रा दाखबारीहरू अधिकार गरेकाले हामीसित मदत गर्ने खुबी छैन ।” जब मैले तिनीहरूको रोदन र यी वचनहरू सुने म सार्‍है रिसाएँ । तब मैले यस विषयमा सोचविचार गरेँ, अनि कुलीनहरू र अधिकारीहरूलाई दोष लगाएँ । मैले तिनीहरूलाई भनेँ, “तिमीहरू हरेकले आफ्नै भाइबाट ब्याज लिँदै छौ ।” मैले तिनीहरूको विरुद्धमा ठुलो भेला गराएँ, र तिनीहरूलाई भनेँ, “हामी कुलीनहरूले जाति-जातिहरूकहाँ दासत्वमा बेचिएका हाम्रा यहूदी दाजुभाइहरूलाई दाम तिरी फिर्ता गरेर ल्याएका छौँ, तर तिमीहरू आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरू फेरी हामीलाई बेच्छौ!” तिनीहरू स्तब्ध भए र बोल्नलाई कुनै शब्दै भएन । मैले यसो पनि भनेँ, “तिमीहरूले जे गरिरहेका छौ, त्यो ठिक होइन । जाति-जातिहरू अर्थात् हाम्रा शत्रुहरूका कटाक्षलाई रोक्‍न के तिमीहरू हाम्रा परमेश्‍वरोक डरमा चल्नुपर्दैन र ? 10 मैले, मेरा दाजुभाइहरूले र मेरा सेवकहरूले तिनीहरूलाई रुपियाँ-पैसा र अन्‍न सापट दिँदै छौँ । तर हामीले यी ऋणमा ब्याज लगाउन रोक्‍नुपर्छ । 11 आजकै दिन तिमीहरूले तिनीहरूबाट लिएका तिनीहरूका खेतहरू, दाखबारीहरू, भद्राक्ष बारीहरू, तिनीहरूका घरहरू, रुपियाँ-पैसाको ब्याज, अन्‍न, नयाँ दाखमद्य र तेल फर्काइदेओ ।” 12 तब तिनीहरूले भने, “हामीले तिनीहरूबाट लिएका चिजहरू फिर्ता गरिदिने छौँ, र हामी तिनीहरूबाट केही माग गर्दैनौँ । हामी तपाईंले भन्‍नुभएझैँ गर्ने छौँ ।” तब मैले पुजारीहरूलाई बोलाई तिनीहरूले भनेअनुसार गर्न तिनीहरूलाई शपथ खान लगाएँ । 13 मैले आफ्नो खास्टोको गाँठो फुकाएर भनेँ, “आफ्नो प्रतिज्ञा पुरा नगर्ने हरेक मानिसको घर र धन-सम्पत्ति परमेश्‍वरले यसरी नै फुकालिदेऊन् । त्यसलाई फुकाली रित्तो बनाइयोस् ।” सबै समुदायले भने, “आमेन,” अनि तिनीहरूले परमेश्‍वरको स्तुति गरे, र तिनीहरूले आ-आफूले प्रतिज्ञा गरेअनुसार गरे । 14 म यहूदा देशको राज्यपाल नियुक्त भएको समयदेखि अर्थात् अर्तासास्त राजाको बिसौँ वर्षदेखि बत्तिसौँ वर्षसम्म, जम्माजम्मी बार्‍ह वर्षसम्म मैले र मेरा दाजुभाइहरूले राज्यपालको लागि उपलब्ध गराइएको खाना खाएनौँ । 15 तर मभन्दा अगिका राज्यपालहरूले मानिसहरूमाथि गर्‍हौँ बोझ लादिदिए, र तिनीहरूको दैनिक भोजनसाथै दाखमद्यको लागि मानिसहरूबाट चाँदीका चालिस सिक्‍का कर लिएका थिए । तिनीहरूका सेवकहरूले पनि मानिसहरूमाथि थिचोमिचो गरे । तर परमेश्‍वरको भयको कारणले मैले त्यसो गरिनँ । 16 मैले पर्खालको कामलाई पनि जारी राखेँ, र कुनै जग्गा जमिन किनिनँ, अनि मेरा सबै सेवक कामको लागि त्यहाँ जम्मा हुन्थे । 17 हाम्रा वरिपरि भएका जाति-जातिहरूबाट आउने मानिसहरूबाहेक मेरो टेबुलमा यहूदीहरू र अधिकारीहरू गरी जम्मा १५० जना हुन्थे । 18 एउटा गोरु, छवटा मोटा-मोटा भेडा र कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो, र दस-दस दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्थ्यो । यति हुँदाहुँदै पनि मैले राज्यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठुलो बोझ परेको थियो । 19 हे मेरा परमेश्‍वर, मैले यी मानिसहरूलाई गरेका सबै कामको निम्ति मेरो भलाइ सोच्नुहोस् ।